Suvadin, Home

क्याप्टेन वेद उप्रेतीको सपना
एयर बसभित्र विश्वमै पहिलो संग्रहालय नेपालमा

आठ महिना मात्रै उडेर काम नलाग्नेगरी ग्राउन्डेड भएको ४४० यात्रु क्षमताको टर्किस एयरलाइन्सको विमान अब संग्रहालयको रुपमा विकसित हुँदैछ। ६३.६९ मिटर लामो बडी, पखेटासहित ६०.३० मिटर चौडाइ र १६.८३ मिटर अग्लो विमानले ४५.९ टनसम्मको भार थेग्न सक्छ। यसको यही फराकिलो क्षेत्रभित्र संसारभरका सुरूआतदेखि अहिलेसम्मका सबै जहाजका नमूना राखेर संग्रहालय बनाउने क्याप्टेन वेद उप्रेतीको सपना केही समयभित्रै साकार बन्दैछ।
क्या. वेद उप्रेती र उनले बनाइरहेको संग्रहालय।

काठमाडौं, फागुन २९ - अन्तर्राष्ट्रियस्तरको ठूलो जहाज, वरिपरि चिटिक्क बगैंचा र भित्र ठूलो हल त्यसमा विमानबाट खिचिएका मनमोहक फोटोहरूको ग्यालरी। विभिन्न देशका बनेका करिब तीन सयभन्दा बढी जहाजका मोडल पनि हेर्न पाइने।

यो कुनै अन्तर्राष्ट्रिय जहाजमा उडान भर्दा यात्रुले देख्न र अनुभव गर्न सक्ने कुरा होइन। यस्ता दृश्यहरू हवाई यात्रुका लागि पाउनु दुर्लभ हुन्छ। त्यस्तै दुलर्भ कुराहरू एउटै जहाजभित्र हेर्न पाउँदा रोमाञ्चित नहुने कुरै भएन। अलि भिन्न तरिकाको र आकर्षक उड्डयन संग्रहालयको परिकल्पना क्याप्टेन वेद उप्रेतीले अलि पहिले नै गरेका थिए। उनको त्यो सपना अहिले साकार हुँदैछ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाने स्वदेशी र विदेशीहरूले अब यस्तो म्युजियम देख्नसक्ने छन्। यो एयर क्राफ्ट म्युजियम २०७४ साउन महिनाबाट सञ्चालनमा आउन लागेको छ। त्यसको तयारी पनि तीब्र गतिमा भइरहेको छ।

अन्तर्राष्ट्रिय जहाज उडाएका अनुभवी र कुशल क्याप्टेन उप्रेतीले अखिर कसको लागि यस्तो काम गरेका हुन् त?

आफैंले कमाएको चार करोड र बाँकी बैंकसँग ऋण लिएर यस्तो खर्चिलो काम गर्न म तम्सिएको हुँ,’ शुभदिनसँग कुरा गर्दै क्या. उप्रेतीले भने। विद्यार्थीलगायत युवा पुस्तालाई नागरिक उड्डयनजस्तो चुनौतीपूर्ण काममा प्रेरणा दिलाइ आकर्षित गर्न, सबै उमेर समूहका आगन्तुकलाई नागरिक उड्डयन सम्बन्धि चाखलाग्दा इतिहास, वर्तमान, भविष्यका विकासबारे जानकारी दिन र विश्वमै नभएको नौलो काम गरेर नाम कमाउन यस्तो खर्चिलो योजना सम्पन्न गर्न लागेको उप्रेतीले बताएका छन्।

काठमाडौंमा संसारकै महंगो र आधुनिक प्रविधिबाट बनेको जहाजभित्र म्युजियम स्थापना गरेर आकर्षक र मनोरञ्जनात्मक स्थलको निर्माण गरी पर्यटकहरू आकर्षित गर्न यस्तो काम थालिएको उप्रेतीको भनाइ छ।

फ्रान्सको एयरबस कम्पनीले उत्पादन गरेको टर्किस एयरको यो विमान दुई वर्ष अगाडि वि.सं. ०७१ साल फागुन २० मा काठमाडौंमा अवतरण गर्ने क्रममा धावनमार्ग छेऊमा दुर्घटनामा पर्यो।

ठूलो मानवीय क्षति टरेको थियो। दुर्घटना टरे पनि विमानमा क्षति अत्यधिक भयो। बिमाबापतको रकम पाएसँगै विमानका काम लाग्ने उपकरण फिर्ता लगेको एयरलाइन्सले डिजेबल वाइड बडीकवाडीमा बिक्री गर्यो। त्यो जहाज दुर्घटनामा परेकाले त नेपालमै मेरो सपना पूरा हुन लागेको हो,’ उनले मुसुक्क हाँस्दै भने। २७ अर्ब पर्ने यति महंगो जहाज त्यही कारण सस्तोमा पनि मिल्यो। धेरैलाई आश्चर्य लाग्ला, त्यही कवाडीमा खरिद गरिएको वाइड बडी नयाँ पर्यटकीय गन्तव्य बन्दैछ।

आठ महिना मात्रै उडेको ४४० यात्रु क्षमताको टर्किस एयरलाइन्सको विमानको बडी ६३.६९ मिटर लामो, पखेटासहित ६०.३० मिटर चौडाइ र १६.८३ मिटर अग्लो छ। विमानले ४५.९ टनसम्मको भार थेग्न सक्छ। यसको यही फराकिलो क्षेत्रभित्र संसारभरका सुरूआतदेखि अहिलेसम्मका सबै जहाजका नमूना राखिने उप्रेतीको योजना केही समयभित्रै साकार बन्दैछ।

त्यो जहाजभित्र अहिले म्युजियमको काम धमाधम भइरहेको छ। उनले यो काम गर्न खर्चको लागि कसैलाई गुहारेका पनि छैनन्। आफैंले कमाएको चार करोड र बाँकी दुई करोड रुपैयाँ बैंकबाट ऋण लिएर खर्चिलो काम साकार पार्न लागेका छन्। यो म्युजिमबाट प्राप्त हुने आम्दानी पनि परोपकारी कार्यमा खर्च गर्ने उनले योजना बनाएका रहेछन्। म्युजिमबाट हुने आम्दानी सबै सुदूरपश्चिमका क्यान्सर पीडितलाई सहयोग गरिने छ,’ उनले भने।

चार सय ४४ यात्रु सिट क्षमताको यो विमानभित्र ककपिट स्रोत व्यवस्थापन, एयरहोस्टेस तालिम, हवाई उडान सुरक्षाबारे गोष्ठी पनि हुनेछन्। यसका लागि नागरिक उड्डयन प्राधिकरणले पनि सहयोग गरेको रहेछ। उसकै कारण यस्तो भीमकाय जहाज राख्ने जग्गा पनि उपलब्ध भएको रहेछ।

विमानस्थलको रिमोट पार्किङ क्षेत्रमा राखिएको टर्किस विमानलाई प्राविधिकले डिस्मेन्टल (खोलखाल) गरी सिनामङ्गलकै जग्गामा संग्रहालय स्थापना गरिरहेका छन्। २०७४ साउनभित्र यो जहाजभित्र संग्रहालय हेर्न सकिने छ। 

उप्रेतीले दुई वर्षअघि कैलालीको धनगढीमा डेढ करोड निजीे लगानीमा एयरक्राफ्ट म्युजियमबनाएका थिए। कस्मिक एयरको ग्राउन्डेड एक सय सिट भएको विमानभित्र राखेको म्युजियममा करिब तीन सय साना विमानका नमूना राखिएका छन्। दैनिक एक सय जना यो संग्रहालय हेर्न जाने गरेका छन्। संग्रहालयबाट प्राप्त आम्दानी पनि त्यहीँका क्यान्सर पीडितका लागि खर्च गरिएको उनले बताए।

वि.सं. २०२० सालमा कैलालीमा जन्मेका उप्रेती बाल्यकालमा इन्जिनियर बन्न चाहन्थे। सुरूका १२ वर्ष नेपाली सेनामा पाइलटका रुपमा काम गरेका उप्रेती २०५२ मा नेकोन एयरमा जागिरे थिए।

नेकोन एयर आठ वर्ष उडेपछि बन्द भयो। उनीसँगै उक्त एयरका सबै बेरोजगार पाइलट भारतको एयर डेकन एयरलाइन्समा काम गर्न पुगे। त्यसपछि उनले भारतकै पाँचतारे किंगफिसर एयरलाइन्समा आठ वर्ष इन्स्ट्रक्टर पाइलटका रुपमा काम गरे।

सन् २०१२ मा उक्त एयरलाइन्स पनि बन्द भएपछि सोही समयदेखि नै उप्रेतीले इन्डोनेसियाको लायन एअरमा एटिआर ७२६०० सिरिजका जहाज उडाउँदै आएका प्रशिक्षक पाइलट उनले अहिलेसम्म ११ हजार घन्टा अन्तर्राष्ट्रिय उडान भरिसकेका छन्।

जहाज उडाएर विभिन्न देश पुग्ने उप्रेतीलाई विदेशमै रहँदा यस्तो संग्रहाालय बनाउने सोच आएको रहेछ। ८० देश घुमिसकेका उनी भन्छन्, ‘टर्कीमा यस्ता ठूला एयर बसभित्र  रेस्टुरेन्ट चलेका छन्। मैले त संग्रहालय बनाएर विश्वमै नौलो काम गर्न लागिरहेको छु।विमान चालकबाहेक उनी  लेखक, फोटोग्राफर र त्योभन्दा बढी एक स्वप्नदर्शी पनि हुन्। उनको यो फराकिलो परिचय चाहिँ हवाई क्षेत्रमा काम गर्न चाहने लामो पुस्तालाई प्रेरणादायी बन्ने छ।


 

More form the Internet

loading...