Suvadin, Home

बुटवलका कपिलले बनाए क्यामरा जडान गरेर ड्रोनजस्तै उडाउन सकिने ‘क्याटकप्टर’

कक्षा ७ पढ्दै गर्दा विभिन्न यन्त्रउपकरण बनाएका कपिलले कक्षा ८ मा पढ्दा भने क्याटकप्टर बनाएर सबैलाई चकित पारे। कवाडमा फालिएका विभिन्न सामग्रीहरू ल्याएर उनले क्याटकप्टर बनाएर विद्यालयमा पनि उडाए। २५ हजारभन्दा बढी खर्च गरी निर्माण गरेको क्याटकप्टर पाँच सय मिटर उचाइसम्म जान सक्छ भने ७ मिनेटसम्म आकाशमा उड्न सक्छ।
कक्षा ८ मा पढ्दै गर्दा कपिलले बनाएको क्याटकप्टर। यो पाँच सय मिटर उचाइसम्म जान सक्छ र सात मिनेट आकाशमा उड्न सक्छ। तस्बिर : विकास/शुभदिन

विकास पराजुली बुटवल, माघ २४


बिहानै ५ बजे उठेर उनी घरको छतमा रहेको सानो कोठामा जान्छन्। तार, मोटर, प्लाष्टिकका डिब्बालगायतका सामानहरू यत्रतत्र छरिएका छन्। स्कुलबाट आएर विद्यालयको गृहकार्य सकेर उनी त्यही सानो कोठामा आफ्नै बसिबियालो गर्न तल्लीन हुन्छन्।

बुवाले समाचार सुन्न ल्याएको रेडियो दुई टुक्रा बनाएर फुटाले। बजारबाट ल्याएको स्टेपलाइजर पनि टुक्रा–टुक्रा पारे। बच्चाका खेलौना त झनै कति टुक्रा पारे पारे। सामानहरू टुक्रा पारेको देखेर कपिलले कतिपटक बुवाको गाली खाएका छन्।

यतिबेला कपिल ईन्जिनियर बन्ने ध्यानमा छन्। गुल्मी जिल्लाको बम्घा गाविस वडा नम्बर ५ स्थायी घर भएका कपिल ज्ञवाली अहिले बुटवल–१३ देवीनगरमा बस्दै आएका छन्।

बुवा इन्द्रमणि ज्ञवाली र आमा गंगा ज्ञवालीको कोखबाट २०५७ सालमा जन्मिएका कपिल सानैदेखि विज्ञान प्रविधिसँग नजिक रहेर अध्ययन गर्ने गर्दथे। बुटवलको तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ९ मा पढ्ने कपिलले अहिले विभिन्न उपकरण निर्माण गरी सफल परीक्षण समेत गरिसकेका छन्।

कक्षा ७ मा पढ्दै गर्दा हिन्दी चलचित्र थ्री इडिएटबाट प्रभावित बनेका कपिलले सुरूमा नमूनाको रुपमा लावरको डब्बा प्रयोग गरी हेलिकप्टरको नमूना बनाए। हेलिकप्टरको नमूना बनाएपछि उत्साहित उनले एकपछि अर्को गरी नयाँ–नयाँ यन्त्र जडान गरी अन्य सामग्री तयार पारे।

रोजगारीको सिलासिलामा भारतमा रहेका बुवासँग उनले कुनै सामग्री फोनबाट ल्याउन भने। कतिपय उनी भारत पुगेरै सामग्री ल्याए। बुवाको पूर्ण सहयोग पाएका कपिलले विज्ञानका धेरै सामानहरू बनाएर आफूले अध्ययान गर्ने विद्यालयमा प्रदर्शन समेत गरेका छन्।

उनी भन्छन्, ‘पाउडरको डिब्बाबाट हवाईजहाजको नमूना गराएपछि म उत्साहित भएँ, पछि स्कुलकै आयोजनामा भएको विज्ञान प्रदर्शनीमा बुफर बनाएर दोस्रो हुँदा थप उत्साहित भएपछि थप प्रेरणा मिल्यो।’

तर, कपिल विद्यालयबाट जति पाउनुपर्ने सहयोग हो त्यो भने नपाएकोमा दुःखी छन्। ‘विद्यालयले मेरो प्रतिभालाई त्यति चासो दिएन, तर मेरो मेहनत र लगानी भने धेरै भएको छ,’ उनले भने।
कक्षा ७ पढ्दै गर्दा विभिन्न यन्त्रउपकरण बनाएका कपिलले कक्षा ८ मा पढ्दा भने क्याटकप्टर बनाएर सबैलाई चकित पारे।

कवाडमा फालिएका विभिन्न सामग्रीहरू ल्याएर उनले क्याटकप्टर बनाएर विद्यालयमा पनि उडाए। २५ हजारभन्दा बढी खर्च गरी निर्माण गरेको क्याटकप्टर पाँच सय मिटर उचाइसम्म जान सक्छ भने ७ मिनेटसम्म आकाशमा उड्न सक्छ।

इन्टरनेटबाट कसरी बनाउन सकिन्छ भन्ने हेरेर आफूले विभिन्न उपकरण निर्माण गरेको कपिल बताउँछन्। ‘क्याटकप्टर बनाउँदा पूरै ६ दिन २४ सै घण्टा समय लगाएर बनाएँ, नसुती नसुती बनाएको फल अहिले भने हात पर्यो,’ उनले भने।

उनले १४ बर्षको उमेरमा क्याटकप्टर बनाएका हुन्। यस क्याटकप्टरमा क्यामरा जडान गरी ड्रोन क्यामरा जसरी माथिबाट दृश्य खिच्न सकिन्छ ।

‘सुरू–सुरूमा क्याटकप्टर तलतल मात्र उड्थ्यो तर पछि इन्टरनेटमा हेरी माथि उडान बनाउन सिकेँ,’ उनले भने। उनले पानी तान्ने पम्प, रोलर, सुटिङ लिग, बुफर, डिल मेसिन बनाइसकेका छन्।

अहिले कक्षा ९ मा पढ्ने कपिलले सबैको सहयोग र साथ मिलेमा कक्षा १० पछि उड्ने बाइक बनाउने योजना रहेको सुनाए।

 

 


 

More form the Internet

loading...