Suvadin, Home

निलम्बन फुकुवाको बाटोमा नेपाली क्रिकेट

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट निलम्बित नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा हुने संकेत देखिएको छ। गत साता बसेको आईसीसीका प्रतिनिधिसहितको सल्लाहकार समितिको बैठकपछि क्यानको निलम्बन फुकुवातर्फ अघि बढेको बताइएको छ।
नेपाली क्रिकेट टाेलीका कप्तान पारस खड्का बलिङ गर्दै (माथि), अाइसिसी र क्यानकाे लाेगाे (तल)।

काठमाडौं, चैत्र ६ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट निलम्बित नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा हुने संकेत देखिएको छ। गत साता बसेको आईसीसीका प्रतिनिधिसहितको सल्लाहकार समितिको बैठकपछि क्यानको निलम्बन फुकुवातर्फ अघि बढेको बताइएको छ।

‘बैठकमा नयाँ बन्न लागेको विधानमा प्रारम्भिक छलफल सुरु भएको छ,’ आईसीसीले नेपाली क्रिकेटको विवाद समाधानका लागि बनाएको सल्लाहकार समितिका सदस्य तथा प्रवक्ता रोहित दाहालले भने, ‘उक्त बैठकपछि क्यानको विधान प्रक्रियालाई अगाडि बढाएको छ।

नयाँ विधानबारे छलफल अघि बढेको देखेपछि आईसीसीका प्रतिनिधीहरु सकारात्मक सन्देश बोकेर फर्केका छन्र, हामीले जति विधानमा सहमति गर्दै चुनाव गर्यौ त्यति नै चाँडो क्यान निलम्बन फुकुवा हुनेछ।’

त्यस्तै, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले पनि सोही कुरा दोहोर्याएका छन्। विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्याविरुद्धको खेलपछि खेलाडीहरुलाई भत्ता वितरण गर्दै विष्टले नेपाली क्रिकेट फुकुवाको बाटोमा रहेको बताएका हुन्। ‘नयाँ विधान बनाउने प्रक्रिया अघि बढिसकेको अवस्थामा आईसीसीका पदाधिकारीहरूसँग मेरो पनि छलफल भएको थियो,’ विष्टले भने, ‘उनीहरुले नेपालमाथिको प्रतिबन्ध चाँडै खुल्न सक्ने जनाएका छन्।’

काठमाडौंमा गत साता भएको बैठकमा आईसीसीका हेड अफ ग्लोबल डेभलपमेन्ट विलियम ग्लेनराइटसहित आईसीसीका कार्यकारी सदस्य इमरान ख्वाजा, आईसीसीका एकाउन्ट शाखाका प्रमुख अमर शेख, सल्लाहकार समितिका संयोजकद्वय विनयराज पाण्डे र वसन्त चौधरी तथा सदस्यहरू चूडामणि पौडेल, पवन अग्रवाल, रोहित दाहाल, चतुरबहादुर चन्द र अशोकनाथ प्यार्कुयाल सहभागी थिए।

के छ नयाँ विधानमा ?

विश्व क्रिकेट परिषद आईसीसीले वैशाख दोस्रो साता क्यानमा सरकारी हस्तक्षेप भएको, स्वतन्त्र र निष्पक्ष चुनाव नगरेर धारा २.९ मिचेको आरोपमा क्यानलाई निलम्बित गरेको थियो। त्यसअघि २०७२ मंसिरमा चतुरबहादुर चन्दलाई अध्यक्षमा चुनेर एउटा समूहले निर्वाचित क्यानको दाबी गर्दै आएकाे छ। 

उक्त निर्वाचन वहिष्कार गरेका क्यानका तत्कालीन अध्यक्ष टंक आङ्बुहाङको टोलीले राखेपमा उजुरी गरेपछि आफ्नो स्वीकृतिबिना भएको चुनावलाई नमानेका कारण सरकारले त्यसलाई मान्यता दिएन।

अर्काे महिना राष्ट्रिय खेलकुद परिषदले क्यानका पूर्वउपाध्यक्ष रमेश सिलवालको अध्यक्षतामा नयाँ क्यान तदर्थ समिति गठन गर्यो। त्यसविरुद्व चतुरबहादुर चन्द नेतृत्वको क्यानले सर्वोच्च अदालतमा मुद्दा हाल्यो। थियो, जसको अझै फैसला भएको छैन। त्यसपछि विवादित घेरामा जकडिएको क्यानलाई आईसीसीले निलम्बन गरेको हो।

क्यानमा छाएको अन्यौलतालाई निकास दिन आईसीसीको पहलमा असोज २० गते सल्लाहकार समिति बनाइयो। उक्त सल्लाहकार समितिलाई क्यानको नयाँ विधान बनाई निर्वाचन गराउने जिम्मा दिइएको थियो। सल्लाहकार समितिले सहमतिमा विधान बनाई निर्वाचन गराउन सफल भएमा नेपालमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा हुने आईसीसीले आश्वासन दिएको छ।

सोही प्रक्रियामा सल्लाहकार समितिले क्यानको नयाँ बिधान बनाउने कार्य अगाडि बढाएको हो। हाल छलफलमा रहेको उक्त विधानमा देशैभरि तीन तह बनाइने प्रस्ताव गरिएको सल्लाहकार समितिका एक सदस्यले बताए। ‘जिल्ला, प्रदेश अनि केन्द्रको संरचना विधानमा प्रस्ताव गरिएको छ,’ ती सदस्यले भने, ‘देशैभरि कति जिल्लामा हुने लगायतका पक्षहरुमा अझै छलफल भइसकेको छैन।’

जिल्लाको चुनाव, संरचना तथा सदस्यतामा मतभेद देखिन्छ। ‘हाल रहेको संरचनामै जिल्लाको क्रिकेट उँभो नलाग्ने निष्कर्षमा सबै छन्,’ उनले भने, ‘तर, चुनाव तथा सदस्यताका मामलामा भने सबैका छुट्टाछुट्टै मत छन्।’ छलफलपछि प्रस्तावित उक्त विधानलाई परिमार्जित गर्दै अन्तिम रूप दिने प्रक्रिया अघि बढ्ने र क्यान निलम्बन पनि चाँडै फुकुवा हुने उनले विश्वास व्यक्त गरेका छन्।


 

More form the Internet

loading...