Suvadin, Home

नेपाली क्रिकेटका नयाँ अाधार स्तम्भ

सन्दिप जस्तै प्रतिभावान एउटा नयाँ पुस्ता पुनः राष्ट्रिय टोलीमा डेब्यु गर्न संघर्षरत छ। संघर्ष मात्रै हैन, तम्तयार भएर बसेको छ। दीपेन्द्रसिंह ऐरी, अमित श्रेष्ठ, दिलीप नाथ, आशिफ सेख, दीपेश श्रेष्ठ र कुशल भुर्तेल यस्ता नेपाली युवा क्रिकेटर हुन्, जाे राष्ट्रिय टिममा डेब्यु गर्न मात्र एक कदम दुर छन्। विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आगामी फागुन २८ र ३० गते हुने केन्या विरुद्धको खेलमा डेब्यु गर्ने लक्ष्यबाट एक कदम दुर यी युवाहरूले लामाे क्रिकेट यात्रा तय गर्दै याे स्थानमा पुगेका हुन्। उनीहरू अब नेपाली क्रिकेटका नयाँ अाधार स्तम्भकै रूपमा अघि बढ्दै छन्।
नेपाली युवा खेलाडीहरू क्रमशः दीपेन्द्र, दीपेश, अमित, कुशल, दिलीप र अाशिफ। तस्बिर साैजन्य: रमन सिवाकाेटी।

काठमाडाैं, फागुन ६


हरेक खेलाडीको लक्ष्य राष्ट्रिय टिममा प्रवेश गर्नु हुन्छ। जसका लागि उसले दिनरात मेहनत गरेको हुन्छ। कोही छिट्टै राष्ट्रिय टिममा पर्छन्, त कोहीलाई निकै समय लागेको हुन्छ। जुन खेलाडीकाे मेहनत, लगनशीलता र निरन्तरतामा निर्भर गर्छ।

नेपालको सन्दर्भमा राष्ट्रिय टिममा कम उमेरमै डेब्यु गर्ने खेलाडीहरु मध्ये सन्दिप लामिछाने एक हुन्। उनले १६ वर्षकाे कलिलाे उमेरमा सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका हुन्।

तत्कालिन नेपाली राष्ट्रिय टिमका प्रशिक्षक पुबुदु दासानायके उनको गृहजिल्ला चितवनमा जाँदा सन्दिपले प्रशिक्षकअघि ट्रायल दिएका थिए। सोही ट्रायलमा उनको क्षमताबाट प्रभावित हुँदै प्रशिक्षक दासानायकेले उनलाई राष्ट्रिय टिमको बाटो देखाएका हुन्।

सन्दिप जस्तै प्रतिभावान एउटा नयाँ पुस्ता पुनः राष्ट्रिय टोलीमा डेब्यु गर्न संघर्षरत छ। संघर्ष मात्रै हैन, तम्तयार भएर बसेको छ। दीपेन्द्रसिंह ऐरी, अमित श्रेष्ठ, दिलीप नाथ, आशिफ सेख, दीपेश श्रेष्ठ र कुशल भुर्तेल यस्ता नेपाली युवा क्रिकेटर हुन्, जाे राष्ट्रिय टिममा डेब्यु गर्न मात्र एक कदम दुर छन्।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आगामी फागुन २८ र ३० गते हुने केन्या विरुद्धको खेलमा डेब्यु गर्ने लक्ष्यबाट एक कदम दुर यी युवाहरूले लामाे क्रिकेट यात्रा तय गर्दै याे स्थानमा पुगेका हुन्। 

राष्ट्रिय टिमको छनौट गर्न आयोजना गरिएको ५२ जनाको सुपरलिग, त्यसबाट छनौट गरिएको डेभ वाटमोरसँगको हाइप्रर्फमेन्स क्याम्पका ३२ जना हुँदै भर्खंरै बन्द प्रशिक्षणका लागि छनौट गरिएका २४ जनाको लिस्टमा उनीहरूले स्थान बनाएका छन्।

यही २४ जना खेलाडीबाट अन्तिम १४ जनाको टुंग्यो लगाईने छ। जुन नेपालको राष्ट्रिय टिम बन्नेछ। अन्तिम १४ जनाको सुचीमा उनीहरु अटाउँछन् कि अटाउँदैनन्, त्यो उनीहरुको बन्द प्रशिक्षणमा गरेको प्रदर्शनमा भर पर्छ।

आ-आफ्नै विशेषता बोकेका यी खेलाडीहरुकाे प्रदर्शन र टिमलार्इ खाँचाे परेका बेला प्रशिक्षक, कप्तान र अाइसीसी प्रतिनिधि सम्मिलित खेलाडी छनाैट समितिले उनीहरूकाे लक्ष्य पूरा गरिदिने छन्। 

दीपेन्द्रसिंह ऐरी

केन्याविरुद्ध डेब्यु गर्ने सर्वाधिक चर्चामा रहेका खेलाडी हुन्, दीपेन्द्रसिंह ऐरी। दीपेन्द्र नेपाली युवा खेलाडीमध्ये सबैभन्दा अनुभवी अलराउण्डर हुन्। मैदानमा उनको ब्याटिङ, बलिङ अनि फिल्डिङ तीन वटै पक्ष बलियो मानिन्छ।

गत डिसेम्बरमा भएको युथ एसियामा उपकप्तानको जिम्मेवारी सम्हालेका दीपेन्द्रले प्रतियोगितामा नेपालली टिमबाट सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका थिए।

श्रीलंकाविरुद्ध उनले ९० रनको इनिङ खेलेको थिए। नेपाली टोलीबाट सबैभन्दा अब्बल प्रदर्शन गरेका उनले ३ खेलमा १ सय ४६ रन बनाए भने २२ ओभर बलिङ गर्दै ३ विकेट लिएका थिए।

त्यसपछि पूर्वाञ्चलमा पुस ८ देखि १५ सम्म सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटतर्फ उनले नेपाल पुलिसको प्रतिनिधित्व गरेका थिए। समग्रमा पुलिस तेस्रो भयो। टी २० फर्म्याटमा खेलाइएको खेलमा दीपेन्द्र दुई खेलमा नटआउट रहँदै जम्मा ५ खेलमा ८३ रन जोडे। १७ ओभर बलिङ गरेका उनले ४ विकेट पनि लिएका थिए।

गत महिना सम्पन्न दोस्रो रुस्लान कपमा दीपेन्द्रको अलराउण्ड प्रदर्शनले पुलिस च्याम्पियन बन्यो। युथ एसिया कप, सातौं राष्ट्रिय खेलकुद हुँदै रुस्लान कपमा उत्कृष्ट लयमा रहेका दीपेन्द्र सुपरलिगका लागि पूर्वानुमानित नाम थियो।

सोही अनुसार एक महिना अघि सुरु भएको सुपर लिगको ५२ जनामा अटाएका दीपेन्द्र डेभ वाटमोरको हाई पर्फमेन्स क्याम्प हुँदै अहिले २४ जनाको अन्तिम बन्द प्रशिक्षणमा छन्। यस बन्द प्रशिक्षणपछि घोषणा गरिने राष्ट्रिय टोलीमा दिपेन्द्र अटाउने धेरैले विश्वास गरेका छन्।

अमित श्रेष्ठ

अन्तिम बन्द प्रशिक्षणमा परेका २४ जना खेलाडीमध्ये राष्ट्रिय टिममा डेब्यु गर्न सक्ने अर्का युवा खेलाडी हुन्, अमित श्रेष्ठ। डेब्यु गर्नसक्ने युवा खेलाडीमध्ये अमित अनुभवी खेलाडीमा पर्दछन्। नेपाल पुलिस क्लबमा आवद्ध हुनुअघि अमित राष्ट्रिय प्रतियोगिताहरुमा क्षेत्र नम्बर-२ बाट प्रतिनिधित्व गर्दथे।

त्योसँगै उनले उमेर समुहमा यु-१५, यु-१७, यु-१९ तथा यु-२१ अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपालको जर्सी लगाइसकेका छन्। त्यस्तै २०६७ सालमा भएको राष्ट्रिय प्रतियोगितामा क्षेत्रनम्बर २ बाट अमितले लगातार दुई शतक प्रहार गरेका थिए।

जनकपुर र काठमाडौं विरुद्धका खेलमा उनले लगातार दुई दिनमा एक पछि अर्को शतक प्रहार गर्दै घरेलु क्रिकेटमा चर्चा कमाएका थिए। गत भदौमा पुलिस क्लबसँग आवद्ध भएपछि उनले दोस्रो रुस्लान कपको उपाधि पुलिसलाई जिताइसकेका छन्।

सुपरलिगमा उनले खेलेका ३ वटा खेलहरुमा क्रमश ४८, ८ र ७३ रन प्रहार गरेपछि उनी अन्तिम बन्द प्रशिक्षणमा परेका हुन्। आफ्नो डेब्युको सम्भावनाबारे अमित भन्छन्, ‘राम्रो मेहनत गरेको छु, पर्छु कि पर्दिन त्यो भन्न सक्दिन।’

दिलीप नाथ

दीपेन्द्रसिंह ऐरीका सहयात्री हुन्, दिलिप नाथ। दुवै जनाले महेन्द्रनगरबाट आफ्नो क्रिकेटिङ करिअर सुरु गरेका हुन्। युवा अनुभवी खेलाडीहरु मध्येका एक उनी पनि हुन्।

सानो उमेरदेखि नै महेन्द्रनगरको खुलामञ्चमा उनका गुरु दीपक मल्लले उनलाई क्रिकेटर बनाउने सपनासहित डाेहाेर्याएर लैजान्थे। उनै गुरुको प्रेरणामा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेको दिलीप बताउँछन्।

महेन्द्रनगरका भएपनि उनले घरेलु प्रतियोगितामा त्यहाँबाट खेल्न पाएनन्। क्रिकेटमा हुने राजनीतिले राम्रो खेल्दा खेल्दैपनि टिममा नपरेपछि उनले बैतडीबाट घरेलु राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका हुन्। सोही प्रतियोगिता उनको टिमले जित्यो।

पछिल्लोपटक नेपाल पुलिसक्लबको प्रतिनिधित्व गर्ने दिलीप विकेटकिपर ब्याट्सम्यान हुन्। ५२ जनाको सुपरलिगमा उनले खेलेका ३ खेलमा क्रमशः ८०, ३५ र २८ रन बनाएका थिए। जसले उनलाई अन्तिम बन्द प्रशिक्षणको ढोका खोलिदियो।

आफ्नो उत्कृष्ट पर्फमेन्स दिँदैछु, दिलिपले भने, 'राष्ट्रिय टिममा पर्ने रहर त कसलाई हुँदैन र !'

दीपेश श्रेष्ठ

नेपाली राष्ट्रिय टोलीमा तीव्र गतिका बलरको खाँचो महसुस हुँदै गएको छ। सोमपाल कामीको ब्याकअपमा करण केसी र विक्रम सोबले नेपाली पेश बलिङ सम्हाल्दै आएका छन्।

नेपाली योर्कर किङ जितेन्द्र मुखिया पछिल्लो दुई वर्षमा राष्ट्रिय टोलीमा छैनन्। चोटका कारण उनी टोलीमा नियमित नभएका हुन्। सोही कुरालाई मध्यनजर राख्दै दीपेश श्रेष्ठलाई नेपाली पेश बलिङको अभाव पूर्ति गर्न राष्ट्रिय टिमको अन्तिम बन्द प्रशिक्षणमा दीपेश अटाएका छन्।

दीपेश नेपाली यु-१९ रास्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य पनि हुन्। उनको डेब्यु खेल २०६९ मा एपीएफ विरुद्ध थियो। सुपरलिगमा उनले ७ विकेट लिँदै राष्ट्रिय टिममा डेब्यु गर्न सक्ने सम्भावना दिएका छन्।

कुशल भुर्तेल

युवा खेलाडीहरुमा सम्भावना बोकेका अर्का खेलाडी हुन्, कुशल भुर्तेल। कुशलले नेपालका लागि यु-१९ विश्वकपमा सहभागिता जनाइसकेका छन्। साे विश्वकपमा उनी राष्ट्रिय टाेलीका पहिलाे राेजार्इका पेश बलर थिए।

घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबमा आबद्ध कुशल तीब्र गतिका बलर हुन्। उनी बलिङमा मात्र सीमित छैन्। पछिल्लोपटक दोस्रो रुस्लान कपमा आर्मीविरुद्ध उनले २० बलमा आक्रमक ३४ रनको इनिङ खेल्दै अलराउण्डर छवि बनाएका थिए।

साेही छवीका कारण सुपरलिग हुँदै हार्इ प्रर्फमेन्स क्याम्प अनि अहिले अन्तिम बन्द प्रशिक्षणमा उनी छन्। नेपाली क्रिकेटकाे भविश्य मानिएका कुशलले यसपटक राष्ट्रिय टिममा डेब्यु गर्लान् या नगर्लान् थाहा पाउन अझै केही दिन कुर्नु पर्नेछ।


आशिफ शेख

नेपाली टिममा डेब्यु गर्न पर्खेका अर्का युवा खेलाडी हुन्, आशिफ सेख। उनी ब्याटिङ र विकेट किपिङमा पोख्त छन्। काठमाडौंमा गत असोजमा सम्पन्न एभरेष्ट प्रिमियर लिगमा पञ्चकन्या तेजलाई च्याम्पियन बनाउन आशिफले  फाइनलमा उत्कृष्ट शतक प्रहार गरेका थिए। त्यसपछि घरेलु क्रिकेटमा उनको नाम चम्केको हो।

प्रतियोगितामा एकमात्र शतक प्रहार गर्ने खेलाडी उनी थिए। त्यसअघि विशाल वारियर्शका कप्तान पारस खड्काले ९८ रनको इनिङ खेलेका थिए। ओपनर ब्याट्सम्यान आशिफले यु-१९ युथ एसिया कपमा नेपालका तर्फबाट प्रतिनिधित्व गरिसकेका छन्। यु-१६ राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका आशिफ राष्ट्रिय टोलीमा दाबेदार मध्येका एक युवा खेलाडी हुन्।


 

More form the Internet

loading...