Suvadin, Home

पारस शाक्य, जसले वाटमोरलाई नेपाल ल्याए

फाउण्डेशनले श्रीलंकालाई सन् १९९६ को विश्वकपको उपाधि दिलाएका प्रशिक्षक डेभ वाटमोरलाई नेपाल ल्याई नेपाली खेलाडीहरूको विशेष प्रशिक्षणमा सहयोग पुर्याएको छ। केन्यासँगको खेलको तयारीमा रहेका नेपाली खेलाडीले बिहीबारबाट वाटमेरबाट विशेष प्रशिक्षण लिनेछन्। श्रीलंकासहित पाकिस्तान, बंगलादेश, जिम्बावे, इण्डियन प्रिमियर लिगको कोलकत्ता नाइट राइडर्सजस्ता विश्वस्तरका उच्च टिमको प्रशिक्षण सम्हालिसकेका वाटमोर अतिथिका रुपमा भए पनि नेपाली क्रिकेट खेलाडीलाई प्रशिक्षण दिने आजसम्मकै सबैभन्दा उच्चकोटीका प्रशिक्षक हुन्। 
बल एण्ड ब्याट फाउण्डेसनका अध्यक्ष पारस शाक्य। फाेटाे साभार : फेसबुक।

काठमाडाैं, माघ १३ - सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप क्रिकेटमा नेपालले मच्चाएको सनसनी अझै पनि हाम्रो मनसपटलमा ताजै छ। जसले नेपाली क्रिकेटलाई एकैपटक ह्वात्तै देशभित्र र बाहिरबाट ठूलो समर्थन प्राप्त भयो। देशमा क्रिकेट एकाएक लोकप्रिय खेल बन्यो, खेलाडीहरू सेलिब्रेटी बने। जताततै नेपाली क्रिकेटको चर्चा सनिन्थ्याे। धेरै नेपाली मनहरू क्रिकेटसँग जोडिए। नेपाली क्रिकेटका फ्यानहरू दिन दुई गुणा रात चारगुणा गर्दै बढ्न थाले। विश्वमा नेपाली चन्द्र सूर्य अंकित झण्डा फराउने कुनै खेल छ भने त्यो क्रिकेट मात्र  हाे भन्नेसम्मका नारा लागे। 

समय फेरिएसँगै नेपाली क्रिकेट पनि फेरियो। पछिल्लो समय विश्वकपको त्यो सान ओझेलमा छ, नेपाली क्रिकेट सफलताको सिँढीमा उल्टो दिशा तय गरिरहेको छ।

विश्वकपपछि नेपाली क्रिकेटमा उथलपुथल भयो। नेपाली क्रिकेटको आधिकारिक निकाय नेपाल क्रिकेट संघ (क्यान) निलम्बित भयो। घरेलु क्रिकेटका गतिविधिमा शून्यता छायो। निर्वाचित भनिएको र सरकारले गठन गरिएको क्यान तदर्थ समितिबीचको मुद्दा एक वर्ष वितिसक्दा पनि अदालतबाट किनारा पाएको छैन। क्रिकेट विकासमा सरकारी पक्ष पटक्कै जिम्मेवार र गम्भीर देखिँदैन। राष्ट्रिय खेलाडीहरू आ-आफ्नो तरिकाबाट छरपष्ट हिसाबले अभ्यासरत् बने, केही निजी क्षेत्रको पहलमा फाट्टफुट्ट प्रतियोगिताहरू सञ्चालन हुनुबाहेक सबै समाचार निराशाजनक बने। 

गत, पुस अन्तिम सातासम्म पनि नेपाली क्रिकेटमा यस्तै अवस्था थियाे। त्यसअघि युथ एसियाकपमा नेपाली युवाहरूकाे प्रदर्शनले केही भए पनि नेपाली क्रिकेटको साख जाेगायाे। गत डिसेम्बरमा श्रीलंकामा सम्पन्न उक्त प्रतियाेगितामा आफूभन्दा निकै बलियो श्रीलंकासँग एक रनको झिनो हार, मलेसियासँगको जित, अनि भारतसँग बहादुरीपूर्ण खेल प्रदर्शनले नेपाली क्रिकेट समर्थकहरूलाई नेपाली क्रिकेट प्रति केही आश जगाइदियो।

युथ एसिया कप सम्पन्नपछिको अवस्था फेरि उस्तै। घरेलु क्रिकेटका नाममा पुसमा सातौं राष्ट्रिय प्रतियोगिता त भए तर त्यो औपचारिकतामा सीमित थियाे। मोरङस्थित वैजनाथपुर क्रिकेट मैदानको ३० यार्डका मात्र घास रोपिएको र बाँकी धुलाम्मे क्षेत्रमा राष्ट्रिय खेलाडीहरूले लडिबुडी गरेको दृश्यले नेपाली क्रिकेटको टिठ लाग्दो अवस्था चित्रित गर्दथ्याे। 

अँध्यारोपछि उज्यालो आउँछ भनेझैं घरेलु क्रिकेटले शून्यता छाएका बेला पुस तेस्रो साता काठमाडाैंको याक एण्ड यति होटलमा घरेलु क्रिकेटमा ‘ब्रेक थ्रु’ भयो। धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीको आयोजनामा आउँदो चैत्र ५ गतेदेखि क्रिकेटको सहर धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग(डिपिएल) का टिमहरूमा खेलाडीहरू अनुबन्ध गर्न देशैभरिका क्रिकेट खेलाडीहरूको अक्सन गरियो। जुन नेपाली क्रिकेट इतिहासमै पहिलोपटक भएको थियो। यसले नेपाली घरेलु क्रिकेटको मुहार फेरिदियो। नेपाली क्रिकेटमा फेरि आशा अनि उत्साह जगायो। नेपाली क्रिकेटमा व्यवसायिकताको सुरुवात गर्यो।

घरेलु क्रिकेटका लागि ‘ब्रेक थ्रु’ प्रतियोगिता भए पनि राष्ट्रिय टिमका लागि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा ध्यान केन्द्रित गर्नु आवश्यक थियो। जसको पाचौं राउण्डका खेलहरुरू नेपाल र केन्याबीच आगामी अप्रिल ११ र १३ तारिखमा कीर्तिपुरमा हुँदैछन्। प्रतियोगितामा सहभागी आठ टोलीमध्ये शीर्ष चार टोलीहरूले सन् २०१८ मा हुने विश्वकप छनौट खेल्ने पाउनेछन्। सो सम्भावना जीवितै राख्न नेपालका लागि केन्यासँगका दुई खेल घरेलु मैदानमा जित्नैपर्ने दबाब छ।

हाल अंक तालिकाकोे छैठौं स्थानमा रहेको नेपाललाई शीर्ष चारमा पुर्याउन केन्यासँगको जित सञ्जिविनी बन्नसक्छ। यसपछिका खेलहरू नेपालले विदेशी भूमिमा खेल्नुपर्नेछ। घरेलु मैदान र घरेलु समर्थकका बीच यसअघि वैशाखमा भएको नामिबियाविरुद्धको खेलमा नेपालले दुबै खेलमा जित हात पारेको थियो।

नेपालभन्दा एक स्थानमाथि रहेको केन्याविरूद्ध पनि घरेलु दर्शकका माझ जितको खोजीमा रहनु स्वभाविक हो। तर, जित त्यतिकै कहाँ सम्भव हुन्छ र त्यसका लागि आवश्यक तयारीको खाँचो हुन्छ, विशेष प्रशिक्षणको आवश्यकता पर्छ। जसको अवसर जुराइदिएको छ, भर्खरै अस्तित्वमा आएको ब्याट एण्ड बल फाउण्डेशनले। 

फाउण्डेशनले श्रीलंकालाई सन् १९९६ को विश्वकपको उपाधि दिलाएका प्रशिक्षक डेभ वाटमोरलाई नेपाल ल्याई नेपाली खेलाडीहरूको विशेष प्रशिक्षणमा सहयोग पुर्याएको छ। केन्यासँगको खेलको तयारीमा रहेका नेपाली खेलाडीले बिहीबारबाट वाटमेरबाट विशेष प्रशिक्षण लिनेछन्। 

श्रीलंकासहित पाकिस्तान, बंगलादेश, जिम्बावे, इण्डियन प्रिमियर लिगको कोलकत्ता नाइट राइडर्सजस्ता विश्वस्तरका उच्च टिमको प्रशिक्षण सम्हालिसकेका वाटमोर अतिथिका रुपमा भए पनि नेपाली क्रिकेट खेलाडीलाई प्रशिक्षण दिने आजसम्मकै सबैभन्दा उच्चकोटीका प्रशिक्षक हुन्। 

पुबुदु दासानायकेले नेपाल छाडेपछि क्यान विवादले उच्चस्तरका प्रशिक्षक नेपाली टिमले पाएको थिएन। नेपाली टिममा त्यसको उच्च अभाव खड्किदै आएको थियो। पटक-पटक खेलाडीहरूले पनि त्यो कुरा उठाउँदै आएका थिए। तर, कसैबाट पनि कुनै सुनुवाई भएको थिएन। कसैले नसुनेपछि नियमित घरेलु प्रशिक्षक जगत टमटाको प्रशिक्षकत्वमा नेपाली टिम तयारीमा जुटेको थियो। अरुले नसुने पनि ब्याट एण्ड बल फाउण्डेशन (बिटुएफ) र यसका अध्यक्ष पारस शाक्यले भने खेलाडीको कुरा सुनेका थिए। दुई हप्ते प्रशिक्षणको लागि भए पनि उच्चकोटीका प्रशिक्षक वाटमोरलाई नेपाली खेलाडीका अगाडि पस्किएका शाक्य यतिबेला सबैको चासोका विषय बनेका छन्।

क्रिकेटको क्षेत्रमा यसअघि तपाईंको नाम सुनिएको थिएन नि भन्ने प्रश्नको जवाफ दिँदै शाक्य भन्छन्, ‘म आफूलाई सिकारु भन्न रुचाउँछन्, म एउटा साधारण मान्छे हुँ, जो अझै लर्निङ फेजमै छ। त्यही भएर ब्याट एण्ड बल फाउण्डेशनको उद्घाटन अघि मेरो नाम धरै कमले सुनेका थिए। चाहे विजनेशमा होस या अन्य क्षेत्रमा। क्रिकेटिङ क्षेत्रमा भने औपचारिक रुपमा भर्खरै प्रवेश गरेको हुँ। तर, मभित्र समाज देशका लागि केही योगदान गर्नुपर्छ भन्ने भावना सुरूदेखि नै थियो। बिटुएफ फाउण्डेशनलाई पनि मैले त्यसैको एक हिस्साको रुपमा लिएको छु।’ 

दस, एघार वर्षको उमेरदेखि उनी नियमित क्रिकेट हेर्न थालेका थिए। अहिले ३२ वर्ष पुग्दै गरेका उनी सम्झिन्छन्, त्यसबेला नेपाली क्रिकेट त्यति थिएन, म इन्टरनेशनल क्रिकेट हेर्थे। उसबेला इण्डिया, पाकिस्तान, श्रीलंका, अष्ट्रेलिया मैले नियमित पन्छाउने टिमहरूमा पर्थे। 

उनी आफैं पनि बल, ब्याट समात्दै मैदानमा कुदेका छन्। ‘स्कुल, कलेज लेभलमा निकै क्रिकेट खेलिन्थ्यो,’ उनी भन्छन्, ‘त्यो क्रम अहिले कर्पोरेट लेभलमा पनि जारी छ। कही कसैले कर्पोरेट लेभलको क्रिकेट प्रतियोगिता आयोजना गर्यो भने म सहभागिताको लागि आतुर हुन्छु।’

सन् २०१५ को अप्रिल दोस्रो साता बाउन्सर बल लागि निधन भएका अष्ट्रेलियाका युवा ब्याट्सम्यान फिलिप ह्युज सम्झनामा कीर्तिपुरमा नेपाल र अष्ट्रेलियाका केही खेलाडीहरू सम्मेलित ट्रिब्युट खेल हुने भयो। तत्कालीन नेपाल क्रिकेट संघकी सिइओ भावना घिमिरेले त्यसको अग्रसरता लिइन्। उनैले प्रतियोगिता सफलताका लागि वसन्त चौधरी फाउण्डेशन (संरक्षक, बिटुएफ) सहकार्यका लागि प्रस्ताव गरिन्। 

शाक्य सम्झन्छन्, ‘फिलिप ह्युज निकै राम्रो युवा ब्याट्सम्यान थियो, उसको सम्मान र सम्झनामा हुन थालिएको खेलमा हामीले किन हातेमालो नगर्ने भन्दै हामीले सहकार्यताको हात अगाडि बढायाैं।’ 

टियु मैदानमा खेल भव्यताका साथ सम्पन्न भयो। खेलका लागि क्रिकेट अष्ट्रेलियाका पूर्वप्रमुखवाली इडवार्डस, उनकी श्रीमती केरी इडवार्डस, कासिम सुलिमान, क्रिस नुन तथा बन्दुला वार्नापुराजस्ता आईसीसीका प्रतिनिधिहरू काठमाडौं आए। खेलमा नेपाली घरेलु समर्थकहरूको उत्साहजनक सहभागिताले उनीहरू त्यतिबेलै प्रभावित बनेका थिए। ‘जसको परिणाम बिटुएफ फाउण्डेशनको सल्लाहकारका लागि प्रस्ताव राख्दा देखियो। उनीहरूले सहर्ष स्वीकार गरे,’ शाक्यले भने।

खेलमा सबैभन्दा उत्साहित हुनेहरूमा शाक्य पनि थिए। आफूहरूको सहकार्यमा भएको खेलमा नेपाली क्रिकेट समर्थकहरूको उत्साहजनक सहभागिता देखेपछि उनलाई पनि नेपाली क्रिकेटमा हामीले पनि केही गर्नुपर्छ भन्ने भावना  जागृत भएको थियो।   

‘फिलिप ह्युजको सम्झनामा भएको उक्त खेलमा जोडिनु बिटुएफ फाउण्डेशन स्थापनाको आधार हो,’ शाक्य भन्छन्, ‘त्यसपछि मैले खेलपछि बसन्त चौधरी फाउण्डेशनका अध्यक्षलाई नेपाली क्रिकेटका लागि अझै केही किन नगर्ने त भनि झक्झक्याइरहेको थिएँ, विभिन्न गैरनाफामुलक सामाजिक कार्य गर्दै आएको फाउण्डेसनका अध्यक्षले सहयोगको बाचा गरेपछि ब्याट एण्ड बल फाउण्डेशनको डिजाइन तयार भयो।’ 

बिटुएफ फाउण्डेशनले आफ्नो मुख्य उद्देश्यका रुपमा नेपाली क्रिकेटरलाई उच्चस्तरको अभ्यासमा सहयोग पुर्याउँदै अन्तर्राष्ट्रिय प्रतियोगिताको नतिजा अझै सुदृढ पार्दै लैजाने बताएको छ। त्यसका लागि अन्तर्राष्ट्रिय प्रशिक्षक ल्याउने, अन्तर्राष्ट्रिय म्याच एक्सोजर दिने, दुई देशबीच एक्सचेञ्ज कार्यक्रम गर्ने, आफ्नै एकेडेमी र मैदान बनाई नियमित प्रशिक्षण दिने लगायतका कार्यक्रम संग्रहित छन्। 

यो उद्देश्य राख्नु पछाडिको कारण खोतल्दै उनी भन्छन्, ‘नेपालमा थुप्रै प्रतिभावान् युवा क्रिकेटरहरू छन्, प्रतिभा भएर पनि उच्चस्तरको अभ्यास, प्रशिक्षण तथा ‘टेक्निक्स’ को अभावमा उनीहरू मैदानमा त्यति जम्न सकेका छैनन्। उनीहरूको प्रतिभालाई अझै निखार्दै, तिखार्दै लैजान फाउण्डेशनले भूमिका खेल्नेछ।’ 

यही सन्दर्भमा आफ्नो अनुभव सुनाउँदै शाक्यले भने, ‘मैले चिनेका केही साथीहरू निकै राम्रो क्रिकेट खेल्थे, उनीहरूले क्षेत्रिय स्तरको क्रिकेटमा पनि सहभागिता जनाएका थिए, टेक्निकल्ली नभएनी उनीहरु राष्ट्रिय टिममा रहेका खेलाडीभन्दा कमजोर थिएनन् तर उनीहरूले खेल्न छोडिदिए। उनीहरूमा रहेको प्रतिभालाई कसैले सशक्त बनाउने प्रयास गरेन। उनीहरूलाई कसैले टेक्निकल्ली साउण्ड बनाएन्, उनीहरूलाई कसैले उच्चस्तरको प्रशिक्षण दिएन् जसको परिणाम राष्ट्रले राम्रा प्रतिभा भएका खेलाडीहरु गुमाउनु पर्यो। उनीहरू क्रिकेटबाट पलायन हुने स्थिति आयो।’ 

कसरी आए, वाटमोर?

क्यानकी पूर्वसिइओ भावना घिमिरेसँग शाक्यको पहिलेदेखि नै चिनजान थियो। फिलिप ह्युज मेमोरियल खेलपछि क्रिकेटमा केही गर्न खोजिरहेका शाक्यको विभिन्न पटक घिमिरेसँग छलफल भइरहन्थ्यो। ‘बिटुएफ फाउण्डेसनका विषयमा पनि भावनाजीसँग कुरा भइरहेको थियो,’ शाक्यले भने, ‘क्यानको सिइओ हुँदा बखतमै वाटमोरसँग उहाको सम्बन्धले वाटमोरलाई नेपाल ल्याउन मदत गर्यो।’

‘भावनाजीले संस्थाकोे उद्देश्य, नेपाली क्रिकेटको सम्भावना, यहाँको अवस्था लगायतबारे उल्लेख गर्दै पठाएको पहिलो पत्रले नै वाटमोरलाई छोएछ,’ शाक्यले भने, ‘वाटमोरले नेपाली खेलाडीहरू खेलेको प्रत्यक्ष देखेका थिएनन् तर श्रीलंकाको पूर्वप्रशिक्षकको नाताले युथ एसिया कपमा एक रनको झिनो अन्तरले नेपाल पराजित भएको सुनेका भने रहेछन्।’ 

टेष्ट नेशन श्रीलंकाको टोली नेपालभन्दा कैयौं गुणा राम्रो मानिन्छ तर नेपाली युवाहरूको जोसका अगाडि उनीहरू अनुभव, प्रशिक्षण फिक्का देखिएको सुनेपछि वाटमोरलाई नेपाली क्रिकेटका प्रति चासो बढेको हुनसक्ने शाक्यको अनुमान छ। ‘त्योसँगै टेष्ट नेशनसँग प्रतिस्पर्धात्मक खेल खेल्न सक्ने नेपालमा थुप्रै ट्यालेण्टहरू रहेको बारेमा उहाँलाई हेक्का हुनु स्वभाविक हो,’ शाक्यले भने ‘हामीले पहिलो अप्रोच गर्दा नै उहाँबाट सकरात्मक जवाफ पायाैं, जसको परिणाम विश्व क्रिकेटका एक उत्कृष्ट प्रशिक्षक वाटमोर अहिले सगरमाथा र बुद्धको देशमा हुनुहुन्छ।’ 

क्रिकेट मैदान र एकेडेमी

बिटूएफको उद्घाटन समारोहमा खुलाइएको अर्को महत्वपूर्ण कुरा हुन, क्रिकेट मैदान र एकेडेमी निर्माण। ‘हामीले एउटा क्रिकेट मैदान र त्योसँगै नियमित प्रशिक्षणका लागि क्रिकेट एकेडेमी बनाउँने सोच बनाएका छौं,’ शाक्यले भने, ‘त्यसको विस्तृत योजना बनि नसकेपछि मैदान र एकेडेमी भएपछि देशभरिका प्रतिभावान क्रिकेट खेलाडीहरूलाई एकेडेमीमा ल्याएर अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण दिने छौं।’ 

अहिले एकेडेमी र मैदान राजधानीमै बनाउँने सोच रहेको शाक्यले बताए। तर, देशभरिका अन्य सरोकारवाला निकायसँगको सहकार्यमा त्यस क्षेत्रमा पनि एकेडेमीहरू चलाउने सोच रहेको उनले बताए। ‘हामीले अहिले स्टेडियमको सोच बनाएका हैनौं, तर मैदानमा अन्तर्राष्ट्रिय स्तरका पीच, अभ्यासका लागि प्रर्याप्त स्थान, उच्च दक्षता युक्त प्रशिक्षकहरुमा भने कमी हुन दिने छैनौं,’ शाक्यले भने। 


 

More form the Internet

loading...