Suvadin, Home

जादुमय खेलबाट नेपाललाई विश्वमा चिनाउँदै सन्दीप

मैदानभित्र जादुमयी प्रदर्शनले आम क्रिकेट प्रेमीहरूलाई मन्त्रमुग्ध पार्दै चर्चा बटुलेका नेपाली लेगस्पिनर सन्दीपको यसपटक भने मैदान बाहिरको खबरले उत्साहित बनाएको छ। बेलायतको प्रसिद्ध क्रिकेट म्यागेजिन ‘अलआउट क्रिकेट’ले शुक्रबार सार्वजनिक गरेको विश्वका उत्कृष्ट युवा खेलाडीहरूको सूचीमा नाम आएपछि सन्दीपको चर्चा बढेको हो। म्यागेजिनले विश्वभरका २२ वर्षभन्दा कम उमेरमा विश्व क्रिकेटमा प्रभाव बनाएका र बनाउन सक्ने ३० जना खेलाडीहरूको सूची सार्वजनिक गरेको हो। विश्वभरका उदयीमान प्रतिभाशाली खेलाडीहरू समेटिएको उक्त सूचीकोे ३० औं स्थानमा सन्दीप अँटाएका छन्।
यु १९ विश्वकपमा ह्यट्रिक लिएपछि सन्दीप।

काठमाडाैं, फागुन १ -नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने फेरि एकपटक चर्चामा छन्। राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमै उनको चर्चा अहिले चुलिएको छ। 
 
मैदानभित्र जादुमयी प्रदर्शनले आम क्रिकेट प्रेमीहरूलाई मन्त्रमुग्ध पार्दै चर्चा बटुलेका नेपाली लेगस्पिनर सन्दीपको यसपटक भने मैदान बाहिरको खबरले उत्साहित बनाएको छ। बेलायतको प्रसिद्ध क्रिकेट म्यागेजिन ‘अलआउट क्रिकेट’ले शुक्रबार सार्वजनिक गरेको विश्वका उत्कृष्ट युवा खेलाडीहरूको सूचीमा नाम आएपछि सन्दीपको चर्चा बढेको हो। 
 
म्यागेजिनले विश्वभरका २२ वर्षभन्दा कम उमेरमा विश्व क्रिकेटमा प्रभाव बनाएका र बनाउन सक्ने ३० जना खेलाडीहरूको सूची सार्वजनिक गरेको हो। विश्वभरका उदयीमान प्रतिभाशाली खेलाडीहरू समेटिएको उक्त सूचीकोे ३० औं स्थानमा सन्दीप अँटाएका छन्। म्यागेजिनको अनलाइन संस्करणले सन्दीपलाई पाकिस्तानी यासिर साहसँग तुलना गरेको छ। यासिर साह पाकिस्तानका उत्कृष्ट लेगस्पिनर हुन्। उनी टेष्ट क्रिकेटका त्यस्ता खेलाडी हुन, जसको नाम सर्वाधिक छिटो एक सय विकेट लिने खेलाडीको दोस्रो स्थानमा छ। 
 
यासिरझैं सन्दीपसँग पनि लेगस्पिन बलिङ गर्ने अनेक ट्रिक्सहरू रहेको म्यागेजिनले उल्लेख गरेको छ। अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कसँग सन्दीपको सम्बन्ध उल्लेख गर्दै म्यागेजिनले लेखेको छ, ‘सन्दीपको प्रतिभाले पूर्वअष्ट्रेलियन कप्तान माइकल क्लार्कलाई आकर्षित गर्यो, फलस्वरुप उनलाई क्लार्कले अष्ट्रेलिया आमन्त्रण गरे। जहाँ क्लार्कले सन्दीपलाई प्रिमियर ग्रेड क्लब वेस्टर्न सर्बस्बाट खेल्ने तथा माइकल क्लार्क क्रिकेट एकेडेमीबाट प्रशिक्षणको मौका पाए।’ 
 
सन्दीपका विषयमा क्लार्कलाई उद्धृत गर्दै म्यागेजिनले लेखेको छ, ‘सन्दीपमा निकै राम्रो प्रतिभा छ, त्यसलाई अझै निखार्न मैले सिड्नी ल्याएँ।’ सन् २०१६ को यु १९ विश्वकपमा सन्दीपले आयरल्याण्डविरुद्ध लिएको ह्याट्रिकलाई स्मरण गराउँदै म्यागेजिनले सो विश्वकपमा दोस्रो सर्वाधिक विकेट लिने बलर रहेको उल्लेख गरेको छ। 
 
को–को छन् सन्दीपसँगै ?
 
म्यागेजिनले पहिलो चरणमा सार्वजनिक गरेको ३० मध्ये २० जनाको सूची सार्वजनिक गरेको छ। उत्कृष्ट १० खेलाडीको नाम भने पछि सार्वजनिक गरिने छ। सन्दीपसँगै ३० देखि ११ सम्मको सूचीमा अँटाएका खेलाडीहरू निम्न छन्।

सन्दीपको क्रिकेट यात्रा
 
सन्दीप नेपाली राष्ट्रिय टिमका तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायके भम्रणका क्रममा चितवन पुगेका थिए। त्यहाँ उनले स्थानीय खेलाडीहरूको एक दिन प्रतिभा नियाल्ने कार्यक्रम तय गरे। 
२०७२ साल भदौतिरको कुरो थियो यो। नारायणगढको क्याम्पा चौरमा खेलाडीहरूको प्रतिभा नियाल्ने क्यापमा उमेरले पन्ध्र वर्ष पनि नपुगेका सन्दीप पनि आए। आफ्नो पालो आएपछि प्रशिक्षक दासानायके सामु उनले लेगब्रेक, गुगली, टप स्पिनसहितका भेराइटी फाले। 
 
अनुहारमा जुंगाका रेखी पनि नदेखिएका युवाले अनेक भेराइटी फालेपछि पहिलो नजरमै दासानायके प्रभावित भए। सन्दीपको प्रतिभालाई अझै निखार्दै उत्कृष्ट क्रिकेटर बनाउन सकिने सोचका साथ उनले सन्दीपलाई क्याम्पमा बोलाउने बाचासहित राजधानी फर्किए। 
 
दासानायकेको त्यही बाचा उनका लागि अमृतसमान बन्यो। त्यसपछि नेपाली क्रिकेटमा उनको अपत्यारिलो यात्रा सुरू भयो। दासानायकेको सो कदमबारे सन्दीप भन्छन्, ‘सरमा प्रतिभा चिन्ने गजबको खुबी थियो, उहाँले एकनजरमै मलाई क्याम्पमा बोलाउनेसम्मको लक्ष्य बुनिसक्नु भएको रहेछ।’ 
 
सन्दीपलाई सोही वर्ष दासानायकेले सुपर लिगमा खेल्ने व्यवस्था मिलाए। शरद भेषावकरको टिममा रहेका उनले पहिलो खेलमै शक्ति गौचनको टिमविरुद्व ४ विकेट लिई म्यान अफ द म्याच प्रदर्शन गरे। जसले उनलार्ई युएईमा विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न जान लागेको नेपाली टोलीको वैकल्पिक सूचीसम्म पुर्यायो। राष्ट्रिय टोलीको वैकल्पिक सूचीमा पर्न सफल भइसकेका सन्दीपको चर्चा चल्न थालेको त्यसैबेलादेखि हो। 
 
त्यसपछि आईसीसी यू–१९ विश्वकप खेल्न जाने खेलाडीहरूको बन्द प्रशिक्षणमा डाकियो। पुराना खेलाडीहरुलाई निरन्तरता दिँदै सो टिममा तीन नयाँ अनुहार थपिए। तीमध्येका एक थिए, लेगस्पिनर सन्दीप। त्यसपछि उनले नेपाली टिममा सनसनी नै मच्चाए। 
 
२०१६ मा भएको उक्त यू–१९ विश्वकपमा आयरल्यान्डविरुद्ध ५ विकेट लिनेक्रममा उनले लगातार तीन बलमा विकेट लिँदै ह्याट्रिक गरे। यू–१९ विश्वकपमा बनेको यो पाँचौं ह्याट्रिक थियो। प्रतियोगिता सकिँदासम्म सन्दीप सर्वाधिक विकेट लिने सूचीमा दोस्रो स्थानमा थिए। प्रतियोगितामा १४ विकेट लिएका सन्दीप यू–१९ विश्वकपलाई सम्झँदै भन्छन्, ‘यो विश्वकप मेरो जीवनको टर्निङ प्वाइन्ट बन्यो, त्यसपछि क्रिकेटसँगको मेरो नाता अझै बलियोसँग गाँसिएको हो।’
 
खेलपछि आईसीसीले बनाएको उत्कृष्ट ११ खेलाडीको सूची अटाउँदै सन्दीपले विश्वमा आफ्नो र नेपालको नाम उच्च बनाए। त्यसबेला एसोसिएट नेशनबाट दुई खेलाडी सूचीमा रहँदा एक सन्दीप थिए। वेस्ट इन्डिजका चार खेलाडीपछि भारत, बंगलादेश, श्रीलंका, इङ्ल्यान्ड र आयरल्यान्डका १–१ खेलाडी समावेश ‘फ्युचर स्टार ११’ मा सन्दीपले पनि आफूलाई उभ्याएका थिए। 
 
नाम सन्दीपको थियो, त्यसको सान नेपाल र नेपालीले महसुस गर्न पाए। बंगलादेशमा भएको उक्त विश्वकपमा सन्दीपको चर्चा त्यतिमा मात्रै सेलाएन। प्रतियोगितामा उनले फालेको भेराइटीको भिडियो विश्वभर यति भाइरल भयो कि अन्तर्राष्ट्रिय मिडियामा उनी ‘नेपाली शेन वार्न’ का नामले प्रख्यात भए। अष्ट्रेलियाका शेनवार्न आफ्नो जमानाका विश्वका उत्कृष्ट लेगस्पिनरमध्ये एक थिए।
 
गत वैशाखमा विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियासँग कीर्तिपुरमा भएको अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्दीपले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्। त्यसपछि उनी निरन्तर राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य रहँदै आएका छन्।

क्लार्क कनेक्सन

सन् २०१६ को मे महिनाको अन्त्यमा हङकङमा सम्पन्न हङकङ ब्लिज टी–२० मा सन्दीपले क्लार्कसँगै खेलेका थिए। त्यहाँ सन्दीपको प्रदर्शनबाट प्रभावित विश्व क्रिकेटका एक सफल खेलाडी क्लार्कले भदौ तेस्रो साता सन्दीपको अष्ट्रेलिया भम्रण निश्चित गरे। झण्डै दुर्इ महिना अष्ट्रेलिया बिताएका सन्दीपले माइकल क्लार्क क्रिकेट एकेडेमीमा विशेष प्रशिक्षण लिनुका साथै प्रिमियर ग्रेड क्लब वेस्टर्न सबर्बसबाट प्रतियोगिताहरू पनि खेल्ने मौका पाए।

क्लार्क आफैं सन्दीपलाई विमानस्थलमा स्वागत गर्न पुग्नु, सामाजिक सञ्जालमा सन्दीपलाई सँगै राखेर आफ्नो अटोवायोग्राफी सार्वजनिक गर्नु तथा मिडियामा क्लार्कले सन्दीपका बारेमा खुलेर कुरा गर्नु अाफैंमा सुखद थियो। साथै त्यसले विश्व क्रिकेटका समर्थकहरुमाझ सन्दीपसँगै जोडिएको नेपालको परिचयलाई अझै फराकिलो बनाउन मद्दत पुर्यायो।

यु १९ कप्तान र केन्याविरुद्धको क्लोज क्याम्प

श्रीलंकामा गत डिसेम्बर १३ देखि २४ तारिखसम्म भएको यू-१९ युथ एसिया कपमा सन्दीपले नेपाली नेशनल टिमको कप्तानी सम्हाले। युवा टोलीको नेतृत्व गरेका सन्दीपको उक्त प्रतियोगितामा भने औसत प्रदर्शन रह्यो। उनले नेतृत्व गरेको टिममा प्रायः अधिकांश खेलाडीहरुमा निकै कम अनुभव थियो तर श्रीलंकाविरुद्ध १ रनको झिनो अन्तरले पराजित नेपाली युवा खेलाडीहरुले विश्व क्रिकेटको ध्यान खिचेका थिए।

यतिबेला सन्दीप आउदो अप्रिलमा कीर्तिपुरमा हुने केन्याविरुद्धको खेलको बन्द प्रशिक्षणमा छन्। राष्ट्रिय तथा यू-१९ टिमबाट अन्तर्राष्ट्रिय अनुभव बटुलिसकेका सन्दीपले आफ्नो उच्च प्रदर्शन जारी राखे नेपालले केन्याविरुद्धको तगारो सहजै पार लगाउनेछ। 


 

More form the Internet

loading...