Suvadin, Home

सुरु भयो सातौं राष्ट्रिय खेलकुद, यस्ता छन् महत्वपूर्ण तथ्यांक

सातौं खेलकुद प्रतियोगितामा विभिन्न ३० वटा खेल समावेश गरिएको छ। जसमा ३ हजार ९ सय ७२ खेलाडी सहभागी हुनेछन्।

यज्ञराज जोशी, काठमाडौं, पुस ८


मोरङको विराटनगरमा शुक्रबारबाट सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहका बिच प्रतियोगिताको उद्घाटन गरेकी हुन्। 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले खेलकुदले राष्ट्रिय एकताको भावनामा विकास गर्न मद्दत पुर्याउने धारणा व्यक्त गरेकी छिन्। प्रतियोगिता सफलताको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले राज्यले खेलकुद तथा खेलाडीको विकासमा विशेष ध्यान पुर्याउने धारणा व्यक्त गरेकी छिन्। 

पुरूष क्रिकेटमा एपीएफ विजयी

सातौं राष्ट्रिय खेलकुदको उद्घाटनमा पुरूष क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा पारस खड्का नेतृत्वको टीम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी सुरूवात गरेको छ। 

पहिलो जीत निकाल्ने क्रममा एपीएफले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई २६ रनले पराजित गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको एपीएफका सुरुवाती ब्याट्सम्यान सन्दिप सुनुवारले ५१ रनको अर्धशतकीय पारी खेलेपछि निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ४५ रन बनाएको थियो। उनीसँगै प्रदीप ऐरीले नटआउट २९ तथा पारस खड्काले नटआउट २६ रनको पारी खेले।

मध्यपश्चिमाञ्चलले निर्धारित २० ओभरमा १ सय १९ रन मात्रै बनाउन सक्यो। एपीएफको कसिलो बलिङ अगाडि मध्यपश्चिमाञ्चलका व्याट्सम्यान चल्न सकेनन्। मध्यपश्चिमाञ्चलका प्रनित थापाले ४० तथा अनुपम सिंहले २१ रनको योगदान दिए। एपीएफका पारस खड्काले २ तथा भुवन कार्कीले १ विकेट लिए। 

३० खेल ४ हजार खेलाडी, १ करोड खर्च

शुक्रबारबाट सुरू भएको सातौं खेलकुदमा विभिन्न ३० वटा खेल समावेश गरिएको छ। जसमा ३ हजार ९ सय ७२ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। एक साता चल्ने प्रतियोगितामा उनीहरूले २ हजार १ सय ४३ पदकका लागि प्रतिस्पर्धा गर्ने छन्। त्यस्तै प्रतियोगिताका लागि यसपटक राष्ट्रिय खेलकुद परिषदले झण्डै १ करोड रूपैयाँ खर्च गर्दैछ। प्रतियोगिताको मुख्य खर्च साविकका पूर्वाधार मर्मत र रङ्रोगनमा करिब २० लाख, मोरङको बैजनाथपुरमा करिब ६० लाख रुपैयाँ खर्चेर तीन वटा टर्फ विकेट क्रिकेट पिच निर्माण गरिएको परिषदले जनाएको छ।

कुन खेल कहाँ ?

सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलका सुनसरी, मोरङ, झापा र काठमाडौंमा हुनेछ। विभिन्न खेलहरू निम्न जिल्लामा हुनेछन्। 

सुनसरी : महिला, पुरुष फुटबल, एथ्लेटिक्स, तेक्वान्दो, कराँते, महिला र पुरुष भलिबल, महिला र पुरुष बास्केटबल, फुलकन्ट्याक्ट कराँते, महिला क्रिकेट, सेपाक ताक्रो, साइक्लिङ। 

मोरङ : टेबलटेनिस, महिला र पुरुष कपर्दी, उसु, महिला र पुरुष ह्यान्डबल, हकी, सुटिङ, सफ्टटेनिस, पुरुष क्रिकेट, आर्चरी र खो–खो।

झापा : जिम्न्यास्टिक, आईटीएफ तेक्वान्दो, जुडो, ब्याडमिन्टन र महिला तथा पुरुष बक्सिङ, ललितपुरमा महिला र पुरुष स्क्वास। 

काठमाडौं : फेन्सिङ।
 


 

More form the Internet

loading...