Suvadin, Home

३३ किलो सुन तस्करीपछि विमानस्थल सुरक्षा प्रमुख डिआईजी निरौला ‘आन्तरिक छानविन’मा

नेपाल प्रहरीकै अधिकारीहरूका अनुसार ३३ किलो सुन तस्करी प्रकरणमा विमानस्थल सुरक्षा निकायको लापरबाही उजागर भएको छ। तर, प्रहरी प्रधान कार्यालयले विमानस्थल प्रहरी प्रमुख डिआईजी निरौलालाई ‘जोगाउन’ खोजेको प्रहरी अधिकारीहरू नै बताउँछन्। सुरक्षा अधिकारीका अनुसार विमानस्थल प्रहरीमाथि पनि ‘आन्तरिक छानविन’ भइरहेको छ। सुरक्षा अधिकारीहरूका अनुसार विमानस्थल सुरक्षामा कमजोरी देखिएको सुन प्रकरणमा मात्र हैन। ‘हामीले पटक-पटक विमानस्थलमा अपरेसन गर्ने गरेका छौं, ठूला कमजोरी देखिने गरेको अहिले मात्र हैन,’ एक एआईजीले शुभदिनसँग भने। 
निराैला।

काठमाडौं, पुस २८


  • पुस २१ गते, बिहीबार – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीद्वारा ३४ किलो सुन बरामद। युएईबाट एयर अरेबियाको जहाजमा आएका गोपालबहादुर शाहीसहित तीन व्यक्ति पक्राउ।
  • पुस २७ गते, बुधबार – काभ्रेको पनौतीबाट रामहरि कार्की पक्राउ। सुन तस्करीमा संलग्न भएको अभियोग।
  • पुस २७ गते, बुधबार – व्यवस्थापिका संसदको अर्थ समितिद्वारा सुन तस्करीमा संलग्नलाई पहिचान गरी संगठित अपराध अन्तरगत मुद्दा चलाउन सरकारलाई निर्देशन, अर्थमन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री विमलेन्द्र निधिद्वारा कारबाही थाल्ने आश्वासन।
  • पुस २८ गते, बिहीबार – विमानस्थलबाट श्रीनारायण यादव र राजकुमार ढकाल पक्राउ। सुन तस्करीको गिरोहलाई सहयोग गरेको आरोप।

 

पछिल्लो सातामा सुन तस्करीमा संलग्न गिरोहका गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गरेको प्रयासको एउटा नमूना मात्रै हो। सुन तस्करीले विमानस्थलको सुरक्षा संयन्त्र ज्यादै कमजाेर बन्दै गएको विश्लेषण छ।

केन्द्रीय कारागारमा रहेका फ्रान्सेली अपराधी चार्ल्स शोभराजले केही दसकअघि ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती नै छिराउन सक्ने’ चुनौतीपूर्ण अभिव्यक्ति दिएका थिए।

डेढ दसकअघि पाकिस्तानद्वारा संरक्षित भनिएका भारतीय तस्कर दाउद इब्राहिमले पनि नेपाल सबैभन्दा सजिलो ट्राञ्जिट भएको अभिव्यक्ति दिएका थिए।

चाहे अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनमा भनिएको ‘नेपाल आतकंवादीका लागि सुरक्षित स्थान हो’ भन्ने टिप्पणी, यी सबै नेपाली सुरक्षा संयन्त्रमाथिको कसिलो व्यंग्य र चेतावनी हो।  

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक सुरक्षाको जिम्मा नेपाल प्रहरीले गरिरहेको छ। नेपाल प्रहरीका डिआइजी गोविन्दप्रसाद निरौलाको कमाण्डमा ३ सय ४० जना प्रहरी परिचालन गरिएको छ। तर, दरबन्दी ३ सय ६ जनाको रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

बाहिरी तहको सुरक्षा नेपाली सेनाले गरिरहेको छ। साथै, सशस्त्र प्रहरीको एउटा टोलीसँगै नेपाल प्रहरीकै विशेष ब्युरो, महानगरीय प्रहरी अपराध महाशाखा लगायतको टोली परिचालित हुन्छन्। नेपाली प्रहरीको उच्च स्रोतका अनुसार राष्ट्रिय अनुसन्धान विभागको टोली पनि विमानस्थलको सुरक्षा स्थितिको अध्ययन गरिरहेको हुन्छ।

कसरी हुन्छ तस्करी, कसरी भित्रिन्छ सुन?

तस्करी र अपराधको अन्तरराष्ट्रिय गिरोहले विभिन्न तरिका अपनाएर लागुपदार्थ, सुनदेखि प्रतिबन्धित सामग्रीको ओसारपसार गरेको दृष्टान्त हामीकहाँ धेरै छन्। त्यसमा पनि सरकारी संयन्त्रसँगै साँठगाँठ गरेर हुने तस्करी त अझै खतरनाक हुन्छ। पैसामा बिक्ने ‘राष्ट्र सेवक’हरूले तस्करको गिरोहको कामलाई सहज बनाइदिने गरेका छन्। 

वि.सं. २०६९ असोज १९ गते दुबई लाने तयारीमा रहेको १ करोड २४ लाख विदेशी मुद्रा बरामद भएको घटनाले नै घुस्याहा ‘राष्ट्रसेवक’ असली रुप प्रष्ट पारेको छ। त्यति बेलाका अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख एसएसपी रबिराज श्रेष्ठकै संरक्षणमा सुन, विदेशी मुद्रा, प्रतिबन्धित सामानदेखि लागुपदार्थसम्मको ओसारपसार हुने गरेको रहस्य उद्घाटन भइसकेको थियो। 

नेपाल प्रहरीकै अधिकारीहरूका अनुसार ३३ किलो सुन तस्करी प्रकरणमा विमानस्थल सुरक्षा निकायको लापरबाही उजागर भएको छ। तर, प्रहरी प्रधान कार्यालयले विमानस्थल प्रहरी प्रमुख डिआईजी निरौलालाई ‘जोगाउन’ खोजेको प्रहरी अधिकारीहरू नै बताउँछन्। 

‘३३ किलो सुन तस्करीले विमानस्थल सुरक्षा क्षमतामै प्रश्न उठेको छ,’ अर्ध समितिको मंगलबारको छलफलमा सिआईबी प्रमुख डिआईजी नवराज सिलवालले भनेका थिए।  छलफलमा प्रहरी नायब महानिरिक्षक नवराज सिलवालले तस्करीको घटनाको छानविन गरेर सत्य-तथ्य पत्ता लगाउने प्रतिवद्धता व्यक्त गरेका थिए। 

सुरक्षा अधिकारीका अनुसार विमानस्थल प्रहरीमाथि पनि ‘आन्तरिक छानविन’ भइरहेको छ। सुरक्षा अधिकारीहरूका अनुसार विमानस्थल सुरक्षामा कमजोरी देखिएको सुन प्रकरणमा मात्र हैन। ‘हामीले पटक-पटक विमानस्थलमा अपरेसन गर्ने गरेका छौं, ठूला कमजोरी देखिने गरेको अहिले मात्र हैन,’ एक एआईजीले शुभदिनसँग भने। 

‘सुरक्षा इकाइको पनि दोष देखिन्छ, विमानस्थलका कर्मचारीको मुख्य भूमिका देखिएकाले नै हामीले उनीहरूलाई पक्राउ गरेका हौँ,’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी प्रमुख सिलवालले भने, ‘अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अघि बढिरहेको छ।’ 

 

ती एआईजीका अनुसार विमानस्थल सुुरक्षा प्रमुख कि ‘सोर्स’ कि ‘पैसा बुझाएर’ जाने प्रवृत्ति नेपाल प्रहरीमा अहिले पनि छ। ‘शक्तिकेन्द्र रिझाएर कमाउन गएको प्रहरीले के काम गर्नसक्छ र?,’ उनले भने, ‘सुन प्रकरणमा विमानस्थल भन्सार कर्मचारीको मिलेमतो र प्रहरीले चाल नपाएजस्तो देखिन्छ, यो गम्भीर विषय हो।’

स्रोतका अनुसार प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालनिकट भएका कारण निरौला ‘जोगिएका’ हुन्। डलर प्रकरण सार्वजनिक हुँदा एसएसपी श्रेष्ठ तुरून्त प्रहरी प्रधान कार्यालय तानिएका थिए। तथापि, ब्युरोले निरौलालगायत सुरक्षा संयन्त्रमाथि छानविन भने गरिरहेको छ।

तर, प्रहरी प्रधान कार्यालयले सुन बरामद भएको दिन प्रहरी नेतृत्व आफैं गएर विमानस्थलमा अनुगमन गर्दा प्रहरीको संलग्नता नदेखिएको बताएको छ। ‘प्रहरी प्रमुख आफैं गएर अनुगमन गर्दा प्रहरीको दोष देखिएको छैन,’ प्रहरी प्रवक्ता ठाकुर ज्ञवालीले शुभदिनलाई भने, ‘हामी आन्तरिक रुपमा अनुसन्धान गरिरहेका छौं।’ 

त्यसको पुष्टि गर्ने थप आधार सुरुमा प्रस्तुत गरिएको विवरण पनि हो। ‘सुरक्षा इकाइको पनि दोष देखिन्छ, विमानस्थलका कर्मचारीको मुख्य भूमिका देखिएकाले नै हामीले उनीहरूलाई पक्राउ गरेका हौँ,’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी प्रमुख सिलवालले भने, ‘अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अघि बढिरहेको छ।’ 

नेपाल ल्याएर भारतमा तस्करी

नेपाल प्रहरीका अनुसार विभिन्न मुलुकबाट ल्याइएको सुन भारत पनि लगिने गरिएको छ। नेपालबाट डलर लिएर जाने र सुन किन्ने अनि अवैध तरिकाले भित्र्याउने गरिएको सिलवालले जनाएका छन्। केही महिनाअघि नेपालबाट भारत लाँदै गरेको सुनसहित झापाका दुर्इसहित तीनजनालाई दार्जीलिङ प्रहरीले सिलिगढीबाट पक्राउ गरेको थियो।

यो घटनाले नेपाली भित्र्याइएको सुन भारत हुँदै अर्को मुलुकसम्म पुग्ने गरेको निष्कर्षमा प्रहरी पुगेको छ। ‘भन्सार छलेको सुन नेपालबाट भारत लाने गरेको भेटिएको छ,’ सिलवालले भने, ‘संगठित रुपमै यो धन्दा चलिरहेको छ, तर सकेसम्म यस्ता गतिविधि रोक्न हामी प्रतिबद्ध छौँ।’

सिलवालले पक्राउ परेका गोपालबहादुर शाही, रामहरि कार्की, श्रीनारायण यादव, राजकुमार ढकालसहित अन्य अभियुक्तलाई संगठित अपराध अन्तर्गत मुद्दा दायर गरिएको जानकारी दिएका छन्।

व्यवसायीलाई बद्नाम गर्ने नियत

नेपालीमा अहिले दैनिक ५० किलोग्राम सुनको खपत भइरहेको छ। तर, सरकार तथा सम्बन्धित निकायलाई दैनिक ३० किलो सुन दिन माग गर्दा पनि उपलब्ध नगराएको गुनासो सुनचाँदी व्यवसायीको छ।

‘सुनचाँदी तस्करी नौलो कुरा होइन, धेरै पहिलेदेखि चल्दै आएको छ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वतमान अध्यक्ष मणिरत्न शाक्य भन्छन्, ‘सरकारी कर्मचारी, सुरक्षा निकाय र तस्करको मिलेमतोमा सुनको अवैध ओसारपसार हुने गरेको छ।’

आर्थिक प्रलोभनमा परेर सरकारी निकायले व्यवसायीलाई आवश्यक मात्रामा सुन नदिएको उनको धारणा छ। ‘वैध सुनको राजश्व प्रतिकिलो ५ लाखसम्म हुन्छ, तर कर्मचारीलाई केही फाइदा हुँदैन, कर्मचारीलाई पैसाको आशक्ति हुन्छ,’ उनले थपे, ‘त्यसैले सरकारी संयन्त्र र तस्करको मिलेमतोमा तस्करी हुने गरेको हो।’

मुलुकभरिमा २३ हजार सुनचाँदी पसलका लागि १५ किलोग्राम सुन अपुग हुने शाक्यले बताए। उनका अनुसार विवाह र ब्रतवन्धको मुख्य सिजन भएकाले अहिले दैनिक ५० किलोग्रामसम्म सुनको माग रहेको अनुमान छ। तर, सरकारले दैनिक १५ किलो सुन उपलब्ध गराउने गरेको छ। 

‘हामी दिनको २–४ तोला सुनका गहना बनाएर तोकिएको मूल्यमा बेच्ने व्यवसायी हौँ, हामीलाई ठूलो लालच छैन, वैध ढंगले आएको सुन किन्ने हो, व्यवसाय गर्ने हो,’ शाक्यले थपे, ‘तर, सरकारी निकायबाट भइरहेका यस्ता गलत कार्य तत्काल रोकिनुपर्छ, व्यवसायीलाई बद्नाम गराउने खेल राज्यले नियन्त्रण गर्नुपर्छ।’


 

More form the Internet

loading...