Suvadin, Home

उत्सवहरुको सिलसिला र रिडर्स् झापा

रिडर्स् झापाको ‘कला साहित्य उत्सव’ यही तेस्रो उत्सव हो। यसको दज्र्यानी स्थान तेस्रो होइन। मेचीनगरभित्र आयोजित उत्सवहरुको सिलसिलामा मात्र यो तेस्रोमा परेको हो। मुलुकभरबाट गरिमा र महत्ता बटुलेको यो कला साहित्य उत्सव तेस्रो संस्करण हो। मुलुकलाई नै तरङ्गित पार्ने यो कला साहित्य उत्सवले यस जिल्लामै उच्चकोटीको स्थान प्राप्त गरिसकेको छ। तर, संस्करण क्रमाङ्कका हिसाबले यो तेस्रो नै हो। र, छैठौँ वर्षको तेस्रो संस्करणका रुपमा यो उत्सव आयोजनाको मिति यही फागुन १२, १३ र १४ गते रहेको छ। उत्सव आयोजनाको हकमा रिडर्स् झापाको निजी पात्रो छ। पात्रो अनुसार नै द्वीवार्षिकी रुपमा उत्सवका मितिहरु पूर्व निर्धारित हुन्छन्। र, उत्सव कुनै देखासिकीको तालमा भन्दा रचनात्मक तथा सिर्जनात्मक गुणमा गतिमान हुन्छ।

एसपी लुइँटेल


नेपालको सुदूरपूर्व, सिमान्त क्षेत्रहुँदो यो बेला उत्सव र महोत्सवका अनेक श्रृंखलाहरु चलिरहेछन्। अझ, झापाको सुदूर मेचीनगरी त हाल उत्सवको रौनकताले भरपुर छ। धार्मिक, साहित्यिक, राजनीतिक आदि उत्सवहरुले मेचीनगरीको सनातनी तस्विर नै बदल्न सफल भएका छन्।

वारीपारी र तस्करीका अचेत शैलीले यहाँको प्रचलित दुर्नाम यो नगरीकै एक अपमान हो। यस्ता अपमानकारी तत्वलाई जितेर बौद्धिक वर्गको स्थान अग्रपंक्तिमा स्थापित गर्न महोत्सवहरु महत्वपूर्ण हुन्छन्। जो यहाँ भइरहेछन्। र, यो बेला यहाँका श्रृंखलावद्ध महोत्सवी माहौलले पनि सिमान्त नगरीको छाप बदलिरहेछन्।

उत्सवी श्रृंखलाहरुमा अस्ति भर्खरै प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव सकिएको छ। यसको धङधङी नसेलाउँदै बाल महोत्सवको अर्को तयारी भइरहेछ। पहिलो उत्सव, मुलुकको ठूलो र पुरानो भनिएको राजनीतिक शक्ति नेपाली कांग्रेसको कर–कमलबाट आयोजित थियो।

यो उत्सव जनगनको स्वास्थ्यमा लक्षित थियो। र, यसले हजारौं रोगीको स्वास्थ्यको जाँच–पडताल गरेको थियो। क्षणिकै सही, यसले स्वास्थ्योपचारको माध्यमबाट जनमानसमा प्रसिद्धि प्राप्त गर्न जोड गरेको भान हुन्थ्यो। र, यो यस महोत्सवको रुपात्मकता हो।

लाग्थ्यो, यो उत्सव राजनीतिक रेखिमा सलल अघि बढ्ने एक जोडबल हो। कारण, वर्तमान राजनीतिक धरातलमा उदाएका तिक्तता र वितृष्णाले जनमानसको कोमल हृदयमा कांग्रेस बेहोस् प्रायः छ। जनमानसका तिक्तता र वितृष्णा मेटेर येनकेन प्रकारेण अबको नेपालमा कांग्रेसलाई व्युँतिनु नै छ।

नेपाली जनमानसमा यसैगरी अब भव्यता एवम् सभ्यताका सेवाबाट कांग्रेसलाई बौरिनु पनि छ। तब नै, बौरिने र ब्युँतिने पथको छाँटमा उद्यत कांग्रेसको यो उत्सव घनघोर थियो। र, यो यस महोत्सवको सारसंक्षेप हो।

दोस्रो उत्सव, बाल महोत्सव हो। मुलुकको ठुलो भनिएको अर्को पूरानो शक्ति एमालेको करकमलबाट यो आगत फागुनको दोस्रो साता आयोजित हुँदैछ। कांग्रेसको स्वास्थ्यपछि एमालेले यो बाल महोत्सव गर्दैछ।

बाल उत्सवी एमालेले पनि बालबालिकाको अधिकार एवम् सुरक्षाका सन्देशलाई प्रमुखतामा राख्दो हो। र, उत्सवको रौनकता एवम् मनोरञ्जनमा बालहितका बहस पनि अघि सार्दो हो। छाँटकाँटले यसको पनि उत्सवको यो नजारा र विविधता एक किसिमको रुपात्मकता नै हुनेछ।

कांग्रेसझैँ एमालेलाई पनि राजनीतिक तवरमा नेपाली जनमानसका पीडा र व्यथा, तिक्तता र वितृष्णा सख्त गोचर हुँदो हो। अथिर राजनीति, भ्रष्टाचारले गँगटोझैँ कक्रिएको समाज र महँगीका मारबाट पीडित जनताबारे एमालेले पनि त केही सोच्नु छ।

एमाले, विक्षिप्त र विक्षुब्ध जनताको ढाढस पनि बन्नु छ। र, आर्थिक, सामाजिक तथा राजनीतिक पीडाले विचलित जनतालाई क्षणिक नै सही, उत्सवका रंगभरे सेवाले निश्चित गति दिलाउनु पनि त छ। लाग्छ, यो महोत्सवको पनि सारसंक्षेप राजनीतिक जोडबल नै हो।

तब त, एमालेको उत्सवी अभियानको तीब्रता प्रखर रुपेण अघि बढिरहेको छ। कामरेडजनको यस सुविचार एवम् सुकर्म रीतको उल्लासमय उत्सवले सफलता प्राप्त गरोस्, शुभकामना छ।
तेस्रो उत्सव, माथिका दुई उत्सवमध्ये भिन्न प्रवृत्तिको भैआएको छ।

भिन्न यस मानेमा छ, उत्सवीपथ तथा उत्सवी अभियानबाट दलीय कित्तामा भोट प्राप्तिका निमित्त जनसमर्थनको सिला खोज्ने प्रयास यसमा शुन्य हुन्छ। भिन्न यस अर्थमा छ, उत्सव सम्पन्नताको श्रेय कसले लिने भनेर गुट, उपगुट तथा मोर्चाबीच किलीकरणको होड यसमा छैन। र, भिन्न यस हिसाबमा छ, उत्सव आयोजनाबारे यो प्रकल्पित छ, पूर्वनिर्धारित छ।

रिडर्स् झापाको ‘कला साहित्य उत्सव’ यही तेस्रो उत्सव हो। यसको दज्र्यानी स्थान तेस्रो होइन। मेचीनगरभित्र आयोजित उत्सवहरुको सिलसिलामा मात्र यो तेस्रोमा परेको हो। मुलुकभरबाट गरिमा र महत्ता बटुलेको यो कला साहित्य उत्सव तेस्रो संस्करण हो।

मुलुकलाई नै तरङ्गित पार्ने यो कला साहित्य उत्सवले यस जिल्लामै उच्चकोटीको स्थान प्राप्त गरिसकेको छ। तर, संस्करण क्रमाङ्कका हिसाबले यो तेस्रो नै हो। र, छैठौँ वर्षको तेस्रो संस्करणका रुपमा यो उत्सव आयोजनाको मिति यही फागुन १२, १३ र १४ गते रहेको छ।

उत्सव आयोजनाको हकमा रिडर्स् झापाको निजी पात्रो छ। पात्रो अनुसार नै द्वीवार्षिकी रुपमा उत्सवका मितिहरु पूर्व निर्धारित हुन्छन्। र, उत्सव कुनै देखासिकीको तालमा भन्दा रचनात्मक तथा सिर्जनात्मक गुणमा गतिमान हुन्छ।

उत्सव आयोजनाको हकमा रिडसर्् झापाको निजी एउटा ढाँचा पनि छ। त्यस ढाँचामा निमन्त्रित अतिथिजनको आदर सत्कार त हुन्छ नै। तर, माथि मञ्चमा अतिथि आसनको लम्बेतान होड हुँदैन।

न त अतिथिबीच आसन प्राप्त गर्न गाँड कोराकोर नै हुन्छ। र, ती खादामा सजिएर गजक्क पनि पर्दैनन्। अतिथिजनको आगमन त, बौद्धिक विचारको विचरण तथा वितरणका निम्ति हुन्छ। रिडर्स् झापाको एउटा निजी नारा पनि छ।

‘गतिशीलताका लागि निरन्तर अध्ययन।’ गतिशीलताको शाब्दिक अर्थ ‘परिवर्तन’को सूचक शब्द पनि हो। र, अध्ययन शब्दले अनेकन विषयमा अनेकन कोणबाट गरिने गहन विचारको पनि अर्थ राख्छ। परिष्कार अध्ययनले परिष्कृत ज्ञान प्रदान गर्छ।

त्यसले व्यक्ति हुँदै समाज तथा मुलुकको चारित्रिक विकास एवम् गतिका निमित्त परिष्कृत पथ निर्माण गर्छ। त्यस परिष्कृत पथमा विभेदी अवयवका अनेक कुव्यवस्था र नकारात्मक गतिहरु क्रमशः समाप्त हुँदै जान्छन्। र, सिर्जना हुन्छन् सहअस्तित्वका सर्वस्वीकार्य गतिहरु। तब त, गतिशीलताका लागि निरन्तर अध्ययन।

‘शनिवारे रिडर्स् झापा’ अध्येता युवाहरुको एक खुल्ला फोरम हो। हरेक शनिबार सुदूरपूर्व झापाको काँकरभिट्टा खानेपानी कार्यालय परिसरमा पुस्तक, अध्ययन र अध्ययनको महत्वबारे साप्ताहिक रुपमा छलफल गरिबस्ने एउटा समूह हो रिडर्स झापा।

अब यो समूह ‘शनिबारे’ तथा ‘झापा’मा मात्र सीमित छैन। यो एक संयन्त्रमा रुपान्तरित भएको छ। र, यसले द्विवार्षिकी रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय बौद्धिक अभियन्तालाई एकैठाउँमा राखेर वर्तमान परिप्रेक्षका अनेकन घटना र समस्याको सोधखोज गर्ने गरेको छ।

आर्थिक, सामाजिक, राजनीतिक र कला–साहित्यका ज्ञाता एवम् प्रखर वक्ताहरुलाई सम–सामयिकी तथा ऐतिहासिक विषयवस्तुमा विभिन्न कोणबाट बहसका साथ बौद्धिक मन्थन गराउने गरेको छ।

र, सो मन्थनबाट प्राप्त रसलाई सूचनारुपी बतासबाट मुलुकभरि नै सेचन गरेको छ। तर, शक्तिको केन्द्रबिन्दु ठानिएको काठमाडौंले मोफसलका बौद्धिक बहसको बजन, निचोड र निष्कर्षलाई कुन रुपमा ग्रहण गरिआएको छ, यो पनि एउटा प्रमुख प्रश्न हो।

राजनीतिमा मात्र होइन, साहित्य जगतको पनि शासन, सत्ता र शक्तिको केन्द्र काठमाडौं नै हो भन्ने ठानिँदै आएको कुरा हो। यो एकप्रकारको स्थापित ठनाई हो । यो ठनाई र मोफसलप्रति काठमाडौंको दृष्टिलाई गम्भीर रुपले ध्यानाकर्षित गराउन रिडर्स् झापा भने प्रयासरत छ।

उता, साहित्यमा सिर्जना, साहित्यमा पुरस्कार र साहित्यमा महोत्सवको एकल बर्चस्वता एवम् दम्भ पालेर बसेको काठमाडौं अटेर नै गरिरहेछ। यता त्यसको दम्भ र दामन तोड्न तथा बर्चस्वताको क्षयीकरण र विकेन्द्रीकरण गर्न कला साहित्य महोत्सवद्वारा मोफसल हरदम कसरत गरिरहेछ।

रिडर्स् झापाको निजी पात्रोमा आसन्न द्वीबार्षिकी कला साहित्य उत्सवले विद्यार्थीदेखि प्रौढसम्म सबैलाई चाहिने खुराक दिनेछ। साहित्यकार र साहित्यप्रेमीको साक्षात्कारसँगै हरेक दलका हरेक राजनीतिकर्मी प्रत्यक्ष रुपले लाभान्वित हुनेछन्।

विचार, बहस र प्रश्नोत्तरीका छलफलले नेतृत्वगणमा उर्जा र गति, ज्ञान र विवेक तथा नैतिकता र पथ प्राप्त हुनेछ। आशा गरौँ, विगतका श्रृंखलाभन्दा यो श्रृंखला, तथा भावी श्रृंखलाहरु समेत दमदार र फलदायी हुनेछन्।


 

More form the Internet

loading...