Suvadin, Home

मातृका र विपीकाे काठमाडाैंमा घरै थिएन, अहिलेका नेता सम्पत्तिमै लिप्त

'प्रजातन्त्र स्थापनाका लागि नेतृत्व गर्ने मातृकाप्रसाद कोइराला र बिपी कोइरालाको काठमाडौंमा घर थिएन, २०४६ चैत २६ गते प्रजातन्त्रको पुनर्स्थापना भएपछिको संसदीयकालमा मन्त्री बनेकाले समेत काठमाडौंमा बङ्गला, गाडी र धन सम्पत्ति जोडेका छन्, यसमा कांग्रेसका नेतामात्र होइन नेकपा एमाले र माओवादीका नेता पनि फरक देखिएनन्,' २०४६ सालमा प्रजातन्त्र र विसं २०६२/६३ को परिवर्तनपछिको विश्लेषण गर्दै थापाले भने।
वि.सं. २००७ को क्रान्तिमा सक्रिय राजनीतिज्ञ विश्वबन्धु थापा । तस्विरः प्रदीपराज वन्त/रासस

पूर्णप्रसाद मिश्र, काठमाडौं, फागुन ६


एक सय चार वर्षीय राणाशासनले राजालाई समेत नारायणहिटी दरबारमा अघोषितबन्दी बनाएपछि प्रजातन्त्र चाहनेले राजा त्रिभुवन शाहलाई दरबारबाट विराटनगर वा पाल्पा लैजान खोजेका थिए। 

तर, राजा त्रिभुवन दरबारबाट निस्केर भारतीय राजदूतावासमा शरण लिई हवाईजहाजबाट भारत गएपछि नेपालको राजनीतिले अचानक अर्कै तर जटिल मोड लिन पुगेको स्मरण गर्छन्, विसं २००७ को क्रान्तिमा सक्रिय पूराना राजनीतिज्ञ विश्वबन्धु थापा।

पाल्पामा राणा नै बडाहाकिम भएकाले राजा त्रिभुवन विराटनगर जानु उपयुक्त हुने सल्लाह समेत दिइएको थियो। विराटनगरमा प्रजातन्त्र पक्षधरकै बाहुल्यता थियो। 

'राजा दिल्ली गएपछि २००७ सालको क्रान्ति दिल्ली सम्झौतामा टुङ्गियो, यही बीजले क्रान्तिमा नेतृत्व गरेका दाजुभाइ मातृकाप्रसाद कोइराला र बिपी कोइरालामा झगडा भयो, अन्ततः यसले नेपालको प्रजातन्त्रलाई नराम्रो प्रभाव पार्यो,' प्रजातन्त्र स्थापना पछिको घटनालाई गहिरोसँग नियाल्दै आएका थापाले भने।

वनारसमा अध्ययन गरिरहेका बेला भारतमा अङ्ग्रेज शासन हटाएर प्रजातन्त्र पुनःस्थापना भएपछिको खुला वातावरण भोगेर विराटनगर फर्किएपछि थापालाई नेपालमा प्रजातन्त्र नभएको अनुभूति भयो।

यही अनुभूतिले उनलाई राजनीतितर्फ डोर्यायो । गोरखा पुख्र्यौली थलो भएका थापालाई विराटनगरबाट आवतजावत गर्ने खुला वातावरण नभएकाले प्रजातन्त्र स्थापना हुनुपर्नेमा दृढ बनाएको थियो। 

वनारसमा बिपीले नेपालमा प्रजातन्त्र स्थापनाका लागि विद्यार्थी सङ्गठित हुनुपर्छ भनी प्रेरणा दिए। बिपीको प्रेरणामा थापा, कृष्णप्रसाद भट्टराई, पर्शुनारायण चौधरी, भरतमणि शर्मालगायत विद्यार्थीहरु विद्यार्थी सङ्घमा सक्रिय भए। थापा विसं २००३ मा खुलेको राष्ट्रिय कांग्रेसको संस्थापक सदस्य भई प्रजातन्त्र स्थापनामा लागे। 

राष्ट्रिय कांग्रेस गान्धीको अहिंसावादी विचारबाट प्रभावित थियो। त्यही बेलामा भारतमा नेपालको राणा शासनबाट वितृष्णा भएर पुगेका सुवर्णशमशेरलगायतका राणाहरुकै सक्रियतामा नेपाल प्रजातन्त्र कांग्रेस स्थापना भएको थियो।

राष्ट्रिय कांग्रेससँग जनशक्ति थियो। प्रजातन्त्र कांग्रेससँग धन शक्ति। नेपालमा प्रजातन्त्र स्थापनाका लागि दुवै पार्टी मिल्नुपर्ने विचार आउन थालेपछि विसं २००६ मा दुवै दल मिलेर नेपाली कांग्रेसको गठन गरियो।

'प्रजातन्त्र स्थापनाका लागि सशस्त्र क्रान्ति गर्नुपर्छ भन्ने प्रजातन्त्र कांग्रेसको विचारसँग राष्ट्रिय कांग्रेस सहमत भएर पार्टी एकीकरण भएको थियो, एकीकरणपछि प्रजातन्त्र स्थापनाको आन्दोलनले गति लियो,' – २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना हुनुअघि सुरु भएको क्रान्तिको स्मरण गर्दै थापाले भने। 

प्रजातन्त्र स्थापनाका लागि क्रान्तिको घोषणा भएपछि बिपीको निर्देशनमा थापा विराटनगर आए। पढार्इ छोडेर गिरिजाप्रसाद कोइराला मजदुर आन्दोलनमा लागेको थिए। विराटनगरमा स्वयम्सेवक अखडा खोलेर क्रान्तिमा लागेका साथीलाई गुमाएको घटना उनको स्मरणमा अझै ताजा छ। 

बनारसमा अध्ययन गर्दा विद्यार्थी सङ्गठनमा सक्रिय भएदेखि नै थापालगायत युवा विद्यार्थीले सैन्य तालिम लिए। यो तालिम २००७ सालको क्रान्तिमा उपयोगी बन्यो। तालिमलाई उपयोग गर्दै विराटनगरका माल अड्डालगायत सरकारी कार्यालय क्रान्तिकारीले नियन्त्रणमा लिएको सुनाउँछन् थापा। 

प्रजातन्त्र स्थापनामा सक्रिय भई विसं २०१५ को पहिलो संसदीय निर्वाचनमा सांसद निर्वाचित भएका थापा २०१७ पुस १ गतेको शाही ‘कू’ पछि पञ्चायत व्यवस्थामा लागेका थिए।

विसं २००७ पछिको प्रजातन्त्रकाल र २०१७ पुस १ गते राजा महेन्द्रको कदमपछिको पञ्चायत दुवै व्यवस्थामा सक्रिय राजनीति भएका थापा प्रजातन्त्रलाई भ्रष्टाचारले र पञ्चायतलाई शक्तिले बिगारेको अनुभव सुनाउँछन्। 

'प्रजातन्त्र स्थापनाका लागि नेतृत्व गर्ने मातृकाप्रसाद कोइराला र बिपी कोइरालाको काठमाडौंमा घर थिएन, २०४६ चैत २६ गते प्रजातन्त्रको पुनर्स्थापना भएपछिको संसदीयकालमा मन्त्री बनेकाले समेत काठमाडौंमा बङ्गला, गाडी र धन सम्पत्ति जोडेका छन्, यसमा कांग्रेसका नेतामात्र होइन नेकपा एमाले र माओवादीका नेता पनि फरक देखिएनन्,' २०४६ सालमा प्रजातन्त्र र विसं २०६२/६३ को परिवर्तनपछिको विश्लेषण गर्दै थापाले भने। 

वि.सं. २००७ अघि पृथ्वीनारायण शाहले राज्य गरेको गोरखामा समेत विद्यालय थिएन। त्यसबेला नेपालकै हाराहारीमा रहेका कोरिया, मलेसिया र थाइल्यान्ड अघि बढेपनि नेपालमा प्रजातन्त्रको स्थायित्व हुन नसकेकैले पछि परेको उनको धारणा छ। रासस


 

More form the Internet

loading...