Suvadin, Home

प्रहरी संगठनको साँचो टंगालबाट बुढानिलकण्ठ

टंगाल शक्तिकेन्द्रबाट भर्खरै मुक्त भएको नेपाल प्रहरी संगठनमा जयबहादुर चन्दलाई नेतृत्व सुम्पिने खेलले फेरि प्रहरीमा खुलेआम हस्तक्षेपलाई निमन्त्रणा दिएको छ। फरक यति हो, टंगाल शक्तिकेन्द्रले प्रहरीलाई अदृश्य तरिकाले खोक्रो पारेको थियो। बुढानिलकण्ठ शक्तिले खुल्ला रुपमै प्रहरीमा हस्तक्षेपको थालनी गरेको छ। यसरी प्रहरी महानिरीक्षक बनाउने चलखेल सफल बने त्यसले भर्खर टंगालबाट नक्साल सरेको प्रहरी मुख्यालय बुढानिलकण्ठ पुर्याउने छ। यत्ति फरक हो, उपेन्द्रकान्त अर्यालले लोकमानलाई ‘सुटुक्क’ प्रहरी संगठनको चाबी बुझाएका थिए, जयबहादुर चन्दले दुनियाँले थाहा पाउनेगरी देउवालाई बुझाउँदै छन्।
चन्द र देउवा।

सम्पादकीय 


कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल प्रहरी संगठनमा खुलेआम हस्तक्षेप गरेर आमजनमानसले बिर्सिन खोजेको ‘देउवा चरित्र’ एकपटक फेरि स्मरण गराएका छन्। आफ्नो निहित, कुत्सित राजनीतिक मानसिकताबाट देउवाले प्रहरी महानिरीक्षक नियुक्तिमा हस्तक्षेप गरेपछि विगत बिर्सिन थालिएको ‘देउवा चरित्र’ छरपस्ट बन्न पुगेको हो। ‘क्षेत्रीयता साइनो’बाट प्रेरित हुँदै उनले आफ्ना केही भाइभारदारको सल्लाह मान्दा भावी प्रहरी नेतृत्वमा ‘चेन अफ कमाण्ड’ नै खल्बलिने स्थिति उत्पन्न भएको छ। देउवाको यो कदमबाट नेपाल प्रहरीको ऐन÷नियमावली पनि निरीह बन्न पुगेको छ। कार्यक्षमता, दक्षता, योग्यता तथा वरिष्ठताबाट बन्नुपर्ने महानिरीक्षक पद दलको नेतृत्वको सनकी हस्तक्षेपले जबरजस्त नियम पद्धतिबाट विमुख हुने अवस्था सिर्जना भएको छ। साइनो जोड्दै लोभलालच, मोलाहिजा र सौदा गर्न दलका नेताको दैलो पुग्ने व्यक्तिलाई शक्तिमा पुर्याउने पतित मानसिकताबाट देउवा प्रभावित बन्न पुगेका छन्। 
 
टंगाल शक्तिकेन्द्रबाट भर्खरै मुक्त भएको नेपाल प्रहरी संगठनमा जयबहादुर चन्दलाई नेतृत्व सुम्पिने खेलले फेरि प्रहरीमा खुलेआम हस्तक्षेपलाई निमन्त्रणा दिएको छ। फरक यति हो, टंगाल शक्तिकेन्द्रले प्रहरीलाई अदृश्य तरिकाले खोक्रो पारेको थियो। बुढानिलकण्ठ शक्तिले खुल्ला रुपमै प्रहरीमा हस्तक्षेपको थालनी गरेको छ। यसरी प्रहरी महानिरीक्षक बनाउने चलखेल सफल बने त्यसले भर्खर टंगालबाट नक्साल सरेको प्रहरी मुख्यालय बुढानिलकण्ठ पुर्याउने छ। यत्ति फरक हो, उपेन्द्रकान्त अर्यालले लोकमानलाई ‘सुटुक्क’ प्रहरी संगठन चाबी बुझाएका थिए, जयबहादुर चन्दले दुनियाँले थाहा पाउनेगरी देउवालाई बुझाउँदै छन्। यसमा बुझ्ने र बुझाउने दुबै व्यक्ति दुबै जिम्मेवार देखिन्छन्। राज्यको एउटा स्वतन्त्र संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने सामान्य ज्ञान तीन पटक मुलुकको प्रधानमन्त्री बनिसकेका देउवाले बिर्सेका छन् भने राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने अभिभारा बहन गर्नुको सट्टा चन्दले हस्तक्षेपलाई सिधा आमन्त्रण गरेका छन्।   

नेपालमा राजनीतिक दल र तिनको छायाँ परेको कुनै पनि संस्था मौलाएको विरलै मात्र छ। विराटनगर जुट मिल, जनकपुर चुरोट कारखानालगायत त ध्वस्तै पारिए, संस्थान ध्वस्त भएको ९५ प्रतिशत दोष राजनीतिक दलमा जान्छ। दलकै कारण धरासायी पारिएका नेपाल वायुसेवा निगम र नेपाल विद्युत प्राधिकरण लामो समयपछि बौरिँदै छन्। नेपाल आयल निगम अर्बौं घाटा खाएर सञ्चालन भइरहेको छ। पूर्वअर्थसचिव रामेश्वर खनाल कहिलेकाहीँ भन्ने गर्छन्, ‘पार्टीहरूकै निर्लज्जतापूर्ण हस्तक्षेपबाट संस्थानहरू काम नलाग्ने भएका हुन्।’ संविधान निर्माणपश्चात राज्यका निकाय बलिया पार्दै उदार समाजवादतर्फ उन्मुख हुनुपर्ने नेपालका राजनीतिक दल कर्तव्यबाट अन्यत्रै रुमल्लिँदा जनतालाई राजनीतिक दलप्रति घृणा जाग्नु सामान्य लाग्न थालेको छ। राज्य निकायहरूमा उनीहरूबाट गर्ने÷गराइने नाजायज हस्तक्षेपले राजनीतिको रुप नै ‘खन्चुवा’ र ‘पिपासु’ हो कि भन्ने आरोपलाई थप पुष्ट्याइँ गर्न मद्दत पुग्छ।

चन्दका लागि महानिरीक्षक बनेपछि पहिलो चुनौती नै राजनीति हुने छ। पदको पूरै अवधि उनी देउवा निर्देशनबाट टाढा रहने छैनन्। पद जोगाउनकै लागि पनि चन्दले देउवा निर्देशनलाई शिरोधार्य गर्नैपर्ने बाध्यता हुन्छ। दोस्रो, उनले महानिरीक्षक पदको एउटा फुली बुढानिलकण्ठमै बुझाउनुपर्ने छ। यसो गर्दा बुढानिलकण्ठ शक्तिले ७५ जिल्लामा हालिमुहाली गर्ने अवसर सिर्जना गर्ने छ। जिल्लादेखि वडा र इलाका प्रहरी कार्यालय हाकिमको लिस्ट देउवा निवासले बनाउने छ। र, त्यसरी राजनीतिले निष्पक्ष संस्थामाथि खेल्ने अवसर प्राप्त गर्दा कुनै पनि युनिटमा पुग्ने प्रहरी इञ्चार्ज संगठनप्रति हैन, राजनीतिप्रति बफादार बन्ने छ। निष्पक्षता कायम गर्नुपर्ने निकायमा पुगेको व्यक्ति दलप्रति बफादार बन्दा उसले न्याय–अन्याय सही अर्थमा खुट्याउन सक्दैन। शक्ति रिझाउन, आज्ञा र आदेश पालनामै उसको कार्यकाल बित्न पुग्ने छ।

देउवा र चन्द दुबैले यो पनि बुझ्न सक्नेछन्, नेपाल प्रहरीमा यस्तो निर्मम राजनीतिक हस्तक्षेप नसहने जनशक्ति पनि छ। कतिपय यस्ता व्यावसायिक प्रहरी अधिकारी छन्, जसले देउवा–चन्दका आज्ञाहरू सजिलै किनारा लगाउन सक्छन्। उपेन्द्रकान्त अर्यालको टंगाल कनेक्सन छोडेर हेर्ने हो भने पछिल्ला दिनमा राजनीतिक हस्तक्षेपबाट प्रहरी संगठन केही टाढा हुन खोजेको÷चाहेको छ। नेपाल प्रहरीले संगठनको मर्यादा र सीमाभित्र रहेर न्याय निरुपणमा आफ्नो सक्रियता परिभाषित गर्न खोजेको छ, जनतासँग हातेमालो गर्दै समाजमा आफ्नो पहिचान स्थापितको मार्ग पक्डेको छ। 

प्रश्न, नेपाल प्रहरीलाई देउवा–चन्दको हस्तक्षेपबाट जोगाउने कि निरन्तरता दिने भन्ने नै छ। यो मुलुक हाँक्ने कार्यकारी प्रमुखको नैतिकता र विवेकमा भरपर्ने छ। प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो विवेकमा कति अडिन सक्छन् त्यो भावी प्रहरी महानिरीक्षक नियुक्तिले पुष्टि गर्ने छ। नेपाल प्रहरीको संगठनात्मक ढाँचा, ‘चेन अफ कमाण्ड’ र यसको व्यावसायिक उन्नतिका लागि दाहालले खेल्ने भूमिका निर्णायक हुनसक्छ। प्रहरी संगठन बिथोल्ने मनसायबाट प्रेरित चन्द–देउवाको मनोकांक्षाको चुनौती झेल्न दाहाल कति सक्षम हुन्छन्, त्यो चाँडै नै देखिने छ।


 

More form the Internet

loading...