Suvadin, Home

एड्स लागेका बाँदरबाट कसरी जोगिने? 

दस वर्ष अगाडि बाँदरमा गरिएको अनुसन्धानको निष्कर्ष अहिले पनि उतिकै सान्दर्भिक छ। काठमाडौंमा बाँदर घट्नुको साटो बढेको देखिन्छ। त्यसकारण पनि मानिसहरूमा ती रोगको खतरा अरु बढेको देखिन्छ। मानिसहरूको संख्या बढ्नु तथा बाँदरलाई जिस्क्याउने नजिकिनेलगायत हाम्रा बानी व्यवहारमा सुधार नआउँदा जोखिम बढेको हो।

डा. शेरबहादुर पुन


राजधानी काठमाडौं उपत्यकाभित्रका मन्दिर र छेऊछाऊमा बाँदरहरू बाक्लै छन्। ती बाँदरसँग मानिसहरू नजिक हुने खानेकुरा दिँदै जिस्कने पनि गर्छन्। अब यस्ता बाँदरसँग नजिक हुँदा हामीले सजकता अपनाउनु पर्ने भएको छ। वासिङ्टन युनिर्भसीटी, क्यालिफोनिया युनिभर्सिटी तथा त्रिभुवन विश्वविद्यालय लगायतका सात वटा विश्वविद्यालयले केही समय अगाडि काठमाडौंको स्वयम्भुका बाँदरमा गरिएको अनुसन्धानबाट एक प्रकारको भाइरस देखापरेको छ। यो भाइसको नियमित सम्पर्कले मानिसमा क्यान्सर र एड्स गराउने सम्भावना हुन्छ।

बाँदरले टोक्दैमा भने ती भाइसर मानिसमा सर्दैनन्। तर, बाँदर र मानिसबीच नियमित सम्पर्कमा हुँदा त्यस्ता भाइरस मानिसमा प्रवेश गर्छन्। यो भाइस प्रवेश गरेपछि मान्छेको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ। एड्स तथा क्यान्सर रोग लाग्ने सम्भावना बढ्छ। त्यसकारण बाँदरबाट टाढै बस्नुपर्ने हुन्छ। बाँदरले एकपटक टोक्दै वा चिथोर्दैमा रोग लागिहाल्छ भन्ने होइन। नियमित सम्पर्कले चाहिँ कालान्तरमा यस्ता रोग लाग्छन् भने यस रिर्सचको निष्कर्ष रहेको छ।

दस वर्ष अगाडि बाँदरमा गरिएको यो अनुसन्धानको निष्कर्ष अहिले पनि उतिकै सान्दर्भिक छ। काठमाडौंमा बाँदर घट्नुको साटो बढेको देखिन्छ। त्यसकारण पनि मानिसहरूमा ती रोगको खतरा अरु बढेको देखिन्छ। मानिसहरूको संख्या बढ्नु तथा बाँदरलाई जिस्क्याउने नजिकिनेलगायत हाम्रा बानी व्यवहारमा सुधार नआउँदा जोखिम बढेको हो।
बाँदरबाट कसरी जोगिने?

बाँदरहरूको नियमित सम्पर्क र टोक्ने चिर्थोनेलगायत कारणले भाइरस मानिसमा प्रवेश गरी रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर पार्ने भएकाले बाँदरबाट टाढा नै बस्नु जोखिमबाट बच्ने एउटा उपाय हो।

बाँदर कति खतरनाक छन्, यसले दीर्घकालीन के असर पार्दछ र किन नियन्त्रण गर्नुपर्छ भन्ने कुराहरूलाई यो रिर्सचले प्रष्ट्याएको छ। तर, हामी कहाँ दस वर्षको अवधिमा पनि नियन्त्रणको लागि कुनै ठोस काम भएको छैन। पोलियो तथा एलोभिवरजस्तै यो भाइरस नियन्त्रणको लागि भ्याक्सिनको विकास गर्नुपर्ने सुझाव यो रिर्सचले दिएको छ। हामी कहाँ नियन्त्रणका लागि सक्ने जति पनि काम भएका छैनन्। तर, अब चाहिँ नियन्त्रणका लागि ढिला गर्नु हुँदैन। यसबाट कसरी जोगिने आम मानिसहरूले पनि बेलैमा होस पुर्याउनुपर्ने हुन्छ।

बाँदरमात्रै नभएर अरु जनावरहरूबाट पनि त्यस्ता खालका जोखिम छन्। व्याक्टेरिया भाइरसका कारण जनावरबाट मान्छेमा रोग सर्ने गर्छन्। सरुवा रोगहरूमा ७० प्रतिशत रोग त जनावरबाटै मान्छेमा सर्ने गरेको पाइन्छ। स्वाइनफ्लु होस् वा बर्डफ्लु जनाबरबाट मानिसमा सर्ने खतरनाक रोग हुन्। बाँदरलगायत जनावरले टोकेमा धनुष्टंकार रोग पनि लाग्छ। यी रोगबाट बच्न सजगता अपनाउनुको विकल्प छैन।

स्वयम्भुका ३९ वटा बाँदरमा यो अनुसन्धान केन्द्रित छ। अनुसन्धानमा १७ वटा भाले र २२ पोथी बाँदर समावेश थिए। उनीहरूलाई खानेकुरा दिएर मानिस नजिक ल्याउने र उनीहरूको नियमित सम्पर्कबाट के–के कस्ता प्रभाव मानिसमा परेका छन् त्यसको अध्ययनबाट एड्स र क्यान्सरको संक्रमण हुने पत्ता लगाएको थियो। अध्ययनमा सामेल भएका बाँदरको र्याल, रगत र पिसाब पनि परीक्षण गरिएको थियो। स्वयम्भुमा पाइने बाँदर र पशुपतिमा पाइने बाँदर समान खालको भएकाले पनि दुबै ठाउँको बाँदरबाट हामी सचेत हुनुपर्ने भएको छ।

हाम्रो अस्पतालमा नियमित बाँदरले टोकेका छ जना मानिसहरू उपचारका लागि आउने गर्छन्। बाँदरले टोकेकालाई टिटानसको सुई दिने गरेका छांै। बिरामीसँग कुराकानी गरेपछि त्यसको आधारमा अरु सुई दिने गर्छौं। कहाँको बाँदरले टोकेको हो त्यो सोधेर मात्रै अरु सुई दिने गरेका छांै। तर, मन्दिरका बाँदरले टोकेको रहेछ भने हामीले रेबिजको सुई लगाउन नपर्ने भनेर फिर्ता पठाउने गरेका छौं।

स्वयम्भु र मन्दिरछेऊमा बाँदरले टोकेको हो भने रेबिज लगाउन नपर्ने सरकारले निर्देशिका नै जारी गरेको छ। तर, अवस्था हेरेर धेरै बाँदरले एकै जनालाई टोकेको छ भने मात्रै रेबिज भ्याक्सिन लगाइदिने गरेका छौं। अरु सामान्य अवस्थामा चाहिँ रेबिज भ्याक्सिन दिने गर्दैनौं।

स्वयम्भु तथा पशुपति क्षेत्रका बाँदरमा यस्तो जोखिम देखिएको छैन। तर, बाँदरले टोकेर अस्पताल आउने व्यक्तिहरूसँग कहाँको बाँदरले टोकेको हो र शरीरको कुन भागमा टोकेको हो भनेर सोधेर मात्रै रेबिजको सुई दिने गरेका छौं। मन्दिर छेऊका बाँदरले टोकेर रेबिज फैलिएको अवस्था पनि छैन।

बाँदरको यो खतनाक भाइरसको संक्रमणबाट बच्नका लागि सरकारी तहबाट छुट्टै रणनीतिको आवश्यकता छ। तर, व्यक्ति स्वयंले पनि बाँदरलाई जिस्क्याउने र चलाउने हुँदैन। बाँदरसँग नजिक हुने प्रयास नगर्दा नै राम्रो हुन्छ। बाँदरको कारणले मात्रै क्यान्सर र एड्सजस्ता रोगको संक्रमण हुने होइन। अरु जनावरबाट पनि मानिसमा सरुवा रोग लाग्ने भएकाले त्यसबाट कसरी जोगिने भन्ने बेलैमा सचेतना आवश्यक पर्छ। त्यसका लागि पनि सरकारले रणनीति बनाउनु पर्ने देखिन्छ।

तर, काठमाडौंमा बाँदरबाट यस्ता जोखिम भए पनि सरकारबाट यसको नियन्त्रणको लागि खासै पहल भएको पाइन्न। बाँदर नियन्त्रणका लागि सरकारले धेरै अगाडिदेखि काम गर्नुपर्ने थियो। यसका लागि व्यक्ति समाज र सरकार सबैले आ–आफ्नो तवरबाट पहल गर्नुपर्ने भएको छ।

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट कोअर्डिनेटर डा. पुनसँग गोविन्द लुइँटेलले गरेको कुराकानीमा आधारित।)


 

More form the Internet

loading...