Suvadin, Home

सम्झनामा सुुशील, सुशीलले भने, ‘अहिले त्यस्तो काम नगर्नोस्’

दिउँसोको बैठकमा मैले कोइरालालाई बिहानभन्दा धेरै सहज पाएँ। यी सबै काम सकेपछि उहाँ कार्यालयबाट निस्कनै लाग्दा मैले केही कुरा एक्लै राख्न चाहेको बताएर गोप्य कोठामा जान आग्रह गरेँ। त्यहाँ म को हुँ, कसरी त्यहाँसम्म आएँ भन्दै मलाई पदको मोह नभएको, उहाँलाई असहज महसुस हुन्छ भने निसङ्कोच राजीनामा दिने, राष्ट्रिय स्वार्थमा कसैसँग सम्झौता नगर्ने र भ्रष्टाचार–नियन्त्रण आफ्नो अभीष्ट भएको बताएँ। उहाँले ‘अहिले त्यस्तो काम नगर्नोस्’ भन्नुभयो।
पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला।

लीलामणि पौड्याल


नेता सुशील कोइरालाज्यूसँग सार्वजनिक कार्यक्रमहरूमा कहिलेकाहीँ भेट त भएको थियो, तर ठ्याक्कै तिथिमितिको भने सम्झना छैन। बोलाएमा वा कुनै राष्ट्रिय महत्वको विषयमा मलाई सहज सुन्ने नेतृत्वलाई भेटेर भन्नुपर्ने कुनै कुरा छ भन्ने ठानेमा बाहेक म ठूला नेतालाई व्यक्तिगत कामले भेट्न जाने गरेको थिइनँ र छैन। फलस्वरूप औपचारिक समारोहमा भएका भेटबाहेक पहिलोपटक २०६९ सालको साउनमा म मुख्यसचिवमा नियुक्त भएपछि प्रमुख दलका शीर्ष नेतृत्वलाई समय मागेर निवासमै गएर भेट्ने सिलसिलामा उहाँसँग पनि भेट भएको हो। आफूले ठानेको राष्ट्रिय हितको विषयमा भूमिका निर्वाह गर्नुपर्दा, भ्रष्टाचारविरुद्धको लडाइँमा र प्रशासन–सञ्चालनलाई दलीय आग्रहबाट मुक्त राख्न आफ्नो सर्वसामथ्र्य प्रयोग गर्ने प्रतिबद्धता मैले प्रमुख तीन दलका शीर्ष नेतृत्वलाई भेटेर व्यक्त गरेको थिएँ। नीति निर्माणमा अनावश्यक वैदेशिक हस्तक्षेपलाई रोक्ने प्रयत्न पनि मेरो हुने बताएको थिएँं।

मलाई उपयुक्त आधारमा काम गर्न उहाँंहरूको सहयोग रहनेछ भन्ने अपेक्षा गरेको भन्दै राष्ट्रहितमा उपयुक्त आधारमा काम गर्दा कसैको दबाब नसहने, प्रलोभनमा नपर्ने र मोलाहिजा नगर्ने आशय मैले त्यहाँ राखेँ। कम बोल्ने र भूमिका नबाँध्ने अर्थात् भन्न खोजेको सोझै भन्ने बानी रहेछ उहाँको। मेरो कुरा सुनेर उहाँ खुसी हुनुभयो र प्रजातन्त्र, मानवअधिकार, विधिको शासन र भ्रष्टाचार–निवारणमा लाग्ने जोकोहीलाई आफूले सघाउने बताउँदै उहाँले अनावश्यक वैदेशिक हस्तक्षेप कर्मचारीले रोक्नुपर्छ भन्नुभएको सम्झना छ। उहाँले त्यस बसाइमा मलाई राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन र भ्रष्टाचार–निवारणमा ध्यान दिन सल्लाह दिनुभएको थियो।

त्यो छोटो भेटमा बसाइ, लवाइ, बोलीचाली र व्यवहारबाट राष्ट्रवादी र स्वच्छ नेताको स्पष्ट छवियुक्त लाग्ने शुशील कोइराला सरल, राष्ट्रिय स्वार्थप्रति सजग, प्रशासनमा व्याप्त भ्रष्टाचार र बढ्दो वैदेशिक प्रभावप्रति अलि बढी चिन्तित र गान्धीको प्रभाव परेको नेता हो कि जस्तो अनुभूति भएको थियो।

सुशील कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको सरकार बन्दा ममा केही संशयहरू थिए। मेरो नियुक्तिमा विरोध जनाएको नेपाली कांग्रेस र काग्रेससँग नजिक भएको ठानिने कतिपय तत्कालीन सचिवका प्रतिक्रियाबाट नेपाली कांग्रेसको नेतृत्वमा सरकार बने मेरा लागि स्थिति सहज नहुने आँकलन मैले गरेको थिएँ। २०७० माघ २८ गते सुशील कोइराला नेपालको ३७ औँ प्रधानमन्त्रीका रूपमा सिंहदरबारमा बहाली हुन आउनुभयो। प्रधानमन्त्री निर्वाचित भएपछि मैले उहाँलाई भेटेँ। सामान्य शिष्टाचारपछि मन्त्री रामशरण महत र म उहाँसँग तत्कालका समस्याबारे कुरा गर्न थाल्यौँ। डा. गोविन्द केसी आमरण अनशनमा हुनुहुन्थ्यो।

फागुन ७ गते मनाइने प्रजातन्त्र दिवस मनाउने प्रक्रिया छोट्याइएको उहाँलाई चित्त बुझेको रहेनछ। राजकीय समारोह गर्न समय एकदमै छोटो थियो । ‘दिउँसो कार्यालयमा गएर गर्न सकिने जति गरौँ, तर धेरै कार्यक्रम राख्न सकिँदैन’ भन्ने अभिव्यक्ति राखेँ।  उहाँले त्यो कार्यक्रम राजकीयबाट औपचारिक बनाउने म नै हुँ र मैले नै ठूलो समारोह गर्न चाहेको छैन भन्ने भान परेजस्तो गरी अलि जोड दिएर ‘जसरी पनि राजकीय नै गर्नुपर्छ, देशभरबाट सबै प्रजातन्त्र–सेनानी बोलाउनुस्, सबैलाई सम्मान गर्नुपर्छ’ भन्न थाल्नुभयो। त्यसै त राजकीय समारोह गर्न नै समयाभाव थियो, अझ प्रजातन्त्र–सेनानीको त न हामीसँग अभिलेख नै थियो, न त्यति छोटो अवधिमा मान्छे पत्ता लगाई प्रजातन्त्र–सेनानी घोषित गरेर उनीहरूलाई काठमाडौँ बोलाउन नै सम्भव थियो। उहाँ भने ‘धेरै प्रजातन्त्र–सेनानीको जीवन दयनीय भएको आफूलाई थाहा भएकोले काठमाडौँ आउने–जाने खर्च सरकारले बेहोर्ने गरी तुरुन्त बोलाउनुस्’ भन्न थाल्नुभयो।

‘कसलाई बोलाउने हजुर, नाम त छैन, फेरि वास्तविक प्रजातन्त्र–सेनानी कसलाई भन्नेबारे सरकारले हरेकका नाममै निर्णय गर्नुपर्छ, वास्तविक नाम छुट्नु पनि भएन, प्रमुख जिल्लाधिकारीलाई अह्राउन पनि हामीले नै नाम दिनुपर्छ, जिल्ला–जिल्लाबाट नाम मगाई सरकारले निर्णय गरेर फेरि त्यही नाम जिल्लामा पठाएर काठमाडौँ बोलाउनु पर्यो, जम्मा एक साता मात्र बाँकी छ, यसपटक अलि सम्भव नहोला’ भन्ने कुरा मैले एकैसासमा राखेँ। मेरो कुरा सकिनासाथ उहाँले बाराको फलानो, जनकपुर, सुनसरी भन्दै भटाभट पाँच–सात जनाको नाम उच्चारण गर्न थालेपछि मैले सरकार चलाएका अनुभवी मन्त्री रामशरण महततर्फ आँखा डुलाएँ। ‘सुशील दा, दिउँसो कुरा गरौंला’ भनेर डा. महतले भनेपछि त्यो विषय त्यहीँ रोकियो। त्यसपछि प्रधानमन्त्री–बहालीमा कुन विषयको फाइल सदर गराउने भन्नेबारे पनि सल्लाह गर्नु थियो। मैले एउटा उहाँको जीवनशैली–सुहाउँंदो विषय प्रस्तावित गर्ने योजना बनाएको थिएँ– प्रधानमन्त्री–कार्यालयका सबै भुक्तानी दिनुपूर्व बिल बेवसाइटमा सार्वजनिक गरेर मात्र दिन पाउने। त्यसले महङ्गोमा सामान किन्नेलाई निरुत्साहित र गोप्य रूपमा खरिद गरी भुक्तानी दिएर गर्ने भ्रष्टाचारलाई नियन्त्रित गर्दथ्यो। उहाँले डा.महतलाई आजै फाइल दस्तखत नगरे हुन्न भन्नुभएपछि डा. महतले र मैले एकै स्वरले प्रचलन भएको बताएपछि उहाँले विषय मन पराउनुभयो र म त्यहाँबाट निस्केँ।

घर आउँदै गर्दा ‘प्रधानमन्त्री राज्यसञ्चालन–विधि पनि पार्टीविधि झैँ अनौपचारिक बनाउन खोज्ने अलि अव्यावहारिक, हठी हुनुहुन्छ कि, काम गर्न गाह्रो हुन्छ कि’ भन्ने संशय बोकेरै फर्कें। शपथग्रहण, सहिदहरूलाई श्रद्धाञ्जलि, दिउँसो कार्यालयमा बिहानै छलफल भएको बिल भुक्तानी दिनुपूर्व तीन दिन बेवसाइटमा राखेर भुक्तानी दिनुपर्ने फाइल सदर गर्दै बहाली, मन्त्रिपरिषद् बैठक सकेर प्रजातन्त्रदिवसबारे छलफल गर्न थालियो। वास्तवमा पारदर्शीता प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरण गर्न उक्त प्रथा कोसेढुङ्गा हुन्छ भन्ने अपेक्षा मैले गरेको थिएँ। प्रधानमन्त्री–कार्यालयमा खानेपानी र पत्रिकाको बिल सार्वजनिक भएपछि म नै चकित परेँ र त्यो खर्च चौथाइमा झरेको थियो ।

दिउँसोको बैठकमा मैले कोइरालालाई बिहानभन्दा धेरै सहज पाएँ। यी सबै काम सकेपछि उहाँ कार्यालयबाट निस्कनै लाग्दा मैले केही कुरा एक्लै राख्न चाहेको बताएर गोप्य कोठामा जान आग्रह गरेँ। त्यहाँ म को हुँ, कसरी त्यहाँसम्म आएँ भन्दै मलाई पदको मोह नभएको, उहाँलाई असहज महसुस हुन्छ भने निसङ्कोच राजीनामा दिने, राष्ट्रिय स्वार्थमा कसैसँग सम्झौता नगर्ने र भ्रष्टाचार–नियन्त्रण आफ्नो अभीष्ट भएको बताएँ। उहाँले ‘अहिले त्यस्तो काम नगर्नोस्’ भन्नुभयो।

मेरो त्यसपछिको कार्यकाल निकै तनावपूर्ण रह्यो। धेरै आरोह–अवरोह आए। उहाँ अमेरिकामा उपचार गराउन गएको समयमा मलाई हटाएर अर्को मुख्यसचिव नियुक्त गर्ने खेल तीव्र भयो। एक जना मान्छेले मसँग मन्त्रिमण्डलका सदस्यहरूलाई गाली गरेर उत्तेजित बनाउने र मेरा खरा अभिव्यक्ति रेकर्ड गरेर उनीहरूलाई सुनाउने गर्दा रहेछन्। त्यसबाट वरिष्ठ मन्त्रीहरू नै मलाई हटाउने उपाय खोज्न थाले। एक जना वरिष्ठ सचिवको सल्लाहअनुसार म कतै बाहिर गएको अवसर पारेर मन्त्रिपरिषद्को बैठक बोलाई मलाई कतै अतिरिक्त पदमा सारेर अर्को मुख्यसचिव नियुक्त गर्ने योजना बन्यो। त्यो प्रक्रिया कानुनी हिसाबले एक दमै फितलो हुने थाहा पाएपछि पहिले ‘नेपाल जान्छु’ भन्दा आराम गर्नुपर्छ भनेर नेपाल आउन रोक्नेहरूले नै सुशील कोइरालालाई तुरुन्तै नेपाल जान टिकट लिएर मात्र उहाँलाई थाहा दिएँ।

‘नेपालमा समस्या छ, म जान्छु’ भन्दा ‘अहिले आराम गर्नुपर्छ’ भन्ने र आराम गरिरहेकै समयमा फेरि हठात् नेपाल जाने कुरा गर्दा उहाँ झोंक्किएको मलाई सँगै उपस्थित एक मित्रले सुनाएका थिए। समयावधिका कारण त्यस्तो निर्णय दुई दिनभित्र गर्नुपर्ने थियो। ती दुई दिन कोइरालामाथि कति दबाब पर्यो होला जसलाई त्यही निर्णय गराउन अमेरिकादेखि हठात् नेपाल ल्याइएको थियो। उहाँले मन्त्रिपरिषद्को बैठक ती दुई दिन राख्नुभएन र सम्भावित दुर्घटना टर्यो। मैले तनाव र सुशील कोइरालाले दबाब खेपेर अडिएको पदमा पूरा अवधि काम गरेर गत साउन २२ गतेबाट म सेवानिवृत्त भएँ।

प्रणाली भत्काउन कसैको लहड, सनक वा कसैको चाहनाबमोजिम काम नभएको भरमा क्षणिक तुष्टिका लागि लिइने निर्णय नै पर्याप्त हुन्छ, तर प्रणाली बसाउन धेरै परिश्रम, त्याग, सहिष्णुता, इच्छाशक्ति र जोखिम उठाउने नेतृत्व चाहिन्छ। उपयुक्त कारणले गर्दा मुख्यसचिवको पदले कम्तीमा स्थायित्व पाएको छ।

हामीले मान्छेमा भएका असल गुणबाट सिक्ने हो। सादा जीवन, सरल व्यवहार भएका र पदीय अहम् पटक्कै नभएका सुशील कोइरालाको सादगीबाट पे्ररणा लिन सके उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ।

(पौडेल कोइराला प्रधानमन्त्री हुँंदा मुख्यसचिव थिए, सम्झनामा ‘सुशील दा’ पुस्तकबाट)


 

More form the Internet

loading...