Suvadin, Home

बाउ-आमा र काका

मेरा पात्रहरू परिवर्तन भइरहेका थिए। जसलाई एउटा भूमिका दिइएको थियो त्यो त्यो नै थिएन। जो अर्कै भूमिकामा थियो त्यसले बेग्लै भूमिका निभायो। जसलाई माया गर्नुपर्थयो त्यसलाई मैले घृणा गरें। जसले सिंगो जिन्दगी म र मेरो परिवारलाई दियो, आफ्नो व्यक्तिगत जीवनको वास्ता नै गरेन। छातीमा टाँसेर माया गर्नुपर्नेलाई अर्कै दर्जा दियो परिस्थितिले।

छालाको जुत्ताको दबेको आवाज मेरो कानसम्म आइपुग्यो। चालले नै थाहा पाएँ, वीरसिंह धामी आएछ। अझ भनाैं वीरे आएछ। ढोकाबाट अलिकति चियाएर हेर्यो उसले।

‘के छ छोरा? पढ्दैछौ? पढ है,’ कराउन भ्यायो।

म रिसले रननन भएँ। बाहिर निक्लेका दाँत उछिट्टिएर झर्ला भनेको झर्दैन त यसको। कि मै बजााइदिऊँ बंगारा झर्नेगरी। मैले पढे नि नपढे नि यसलाई के मतलब हँ! राम्रोसँग पढ भन्छ। यसले घाँटीमा बाँधेको मफलरले नै सुइक्याइदिऊँ कि क्या हो! कति मजाले पढिरहेको थिएँ मुड नै बिगारिदियो। गयो होला माथि भान्छामा।

भन्दै होला, ‘भाउजू साह्रै चिया खान मन लागेको छ। पकाउ न।’ पछाडिबाट मेरी आमाको शरीरमा चिहाउँदै होला त्यो। दिमाग भननन तातेर आयो। मेरो बाउ पनि त्यस्तै छन्। यो नकच्चरोलाई किन यति साह्रो लिफ्ट दिएका होलान्। जे समस्या परे नि वीरसिंह। कसैको नभएको वीरे तिनको। यसो गर्यो वीरसिंह, उसो गर्यो वीरसिंह। मेरी आमामाथि सँधंै गिद्धेदृष्टि लाउने यही वीरे यिनको सबैभन्दा मिल्ने साथी! सानो ठूलो जे काम परे नि यहीँ आउँछ। यसका त परिवार पनि छैनन्। किन चाहियो र परिवार मेरै घरको वैकल्पिक सदस्य भएपछि!

टाउको भननन भयो मेरो। किताब फुत्त फालेर ट्वाइलेट गएँ। भान्छाको ढोकाबाटै आँखा भित्र छिर्यो। माया गरेर चिया दिँदै थिइन् मेरी आमाले वीरेलाई। चियाको कपसँगै हात पनि सामायो मुर्दाले। हत्तपत्त हात तान्दै सानो स्वरले भनिन्, ‘छोरो।’

फेरि कराइन् मेरी आमा, ‘चिया खान्छस् छोरा?’

‘खान्न,’ म झर्किएँ।

‘कस्तो चिढचिढे भएको छ आजकल यो। के भएको हो बुझ्नै सकेकी छैन।’

बुज्रुक हुँदै ऊ बोल्यो, ‘उमेर नै यस्तै हो।’

‘यी! उमेर नै यस्तै हो ...,’ भन्दै भन्न मन लागेको त थियो तर गरिनँ। साला जिन्दगी। घरभित्रै यस्तो छ। मेरो बाउ कस्तो आँपे हो। केही नबुझ्ने। बाउले आमालाई राम्रै माया गरेजस्तो लाग्छ। किन यी आमा पनि यस्ती नकचरी भएकी हुन्? दिक्क लाग्छ सम्झ्यो भने। जुन दिन कमाउन सक्ने हुन्छु, त्यो दिन म यो घर छाडिदिन्छु। बाध्यताले बसेको छु म। यो घरको वातावरण पटक्कै मन परेको छैन मलाई।

हाम्रो कोही दाजुभाइ छैनन् यहाँ पोखरामा। न बाउका दाजुभाइ, न मेरा दाजुभाइ, दिदीबहिनी। छरछिमेकका पनि कसैको खासै आउजाउ छैन हाम्रोमा। किन भन्ने बुझेकै छैन। म, मेरा बाउआमा र वैकल्पिक सदस्य (वीरे।

वीरे हाम्रो गेष्टहाउसको म्यानेजरजस्तो छ। ग्राहकसँग डिल ऊ नै गर्छ। बिल बनाउने काम गर्छ। अनि कामदारहरूलाई अह्रनखटन गर्छ। घरलाई चाहिने, गेष्टहाउसलाई चाहिने सरसामान बाउले ल्याउँछन्। आमाको भान्छा। एउटी सहयोगी केटी लिएर मःम, चाउमिन, पिज्जा, स्यान्डवीच, बर्गर, दाल, भात, तरकारी, चिकेन चिल्ली, चिकेन रोस्ट सबै बनाउँछिन् तलको भान्छामा।

भन्थे बाउले कुनै दिन धनगढीतिरको कुनै रेष्टुरेन्टमा भेटेका हुन् रे मरी आमालाई। दिल्लीबाट फर्केका मेरो बाउ र वीरे त्यहीँ सोमरस पिउन छिरेका। त्यहीँबाट संगत भएछ। उनीहरूको वीचमा पिरति झ्यांगिएछ। लामो समय दिल्ली बसेर फर्किएका र आफ्नो थातथलो जान पनि मन नलागेका मेरा बाउको पनि जाने, बस्ने र काम गर्ने कुनै ठेगान थिएन। मेरी आमाले बिहेको प्रस्ताव राखेको दिन रातभरि बाउ निदाउन सकेनन् रे!

वीरेले नै सम्झाएको थियो रे, ‘हेर रामदत्त, चिन्ता नगर। तेरो म छु। मेरो तँ छस्। सानैमा भागेर दिल्ली गइयो। भाँडा माझिएन कि! दरवान बसिएन कि! रिक्सा चलाइयो, ठेला ठेलियो । बाटामा बसेर सामान पनि बेचियो। दिल्लीका गल्ली गल्लीमा तँ र म सँगै भौंतारियौ। दुःख गर्यौं। अहिले दुःख गरेर कमाएको केही पैसा छ। हाम्रो घर खोज्दै पहाड नजाउँ। बिहे गर तँ मीनालाई।

हामीसँग भएको यही डेढ लाखजतिले कुनै व्यवसाय गरौं। मेरो विचारमा मेरो होटल लाइनको अनुभव राम्रो छ। चार कक्षासम्म पढेकै हो। हिसाब–किताब चलाउँला। आखिर जिन्दगीको स्कुलमा धेरै पढिसकियो। खासै समस्या हुन्छजस्तो मलाई लाग्दैन। यहाँ नेपालमा पोखरा भन्ने सहर छ रे उता पूर्वमा त्यही गएर व्यवसाय गरौंला। तँ, म र मीना मिलेर। तँ मीनासँग बिहे गर।’

तर... भन्दै बोल्न खोजेका मेरो बाउलाई वीरेले नै रोकेको थियो रे! त्यहाँबाट उनीहरू तीनै जना यहाँ पोखरामा आएर पहिला रेष्टुरेन्ट चलाएका थिए रे। पोखरा आएको सातै दिनमा मेरो बाउ र आमाको झगडा परेको थियो रे।

‘जाउँ त कहाँ अब, हे भगवान मलाई कहाँ फसायौं?’ भन्दै रोएकी थिइन् रे मेरी आमा। वीरेले नै फेरि मेरी आमालाई नानाभाती भनेर सम्झाएको थियो रे। फेरि आमाले घर छोडेर जाने कुरा गरिनछन्। केही दिनपछि मेरा बाउ पश्चिमतिर कुन चाहिँ जिल्ला हो नागरिकता बनाउन भनेर गएछन्। एक दिन रक्सीको सुरमा यी कुरा सुनाउँदै मेरो बाउले भनेका थिए, ‘हेर छोरा धेरै दुःख गरेर यहाँसम्म आइएको छ। समय खेर नफाल्नू। राम्ररी पढ्नु है।’

बाउको त्यही मायाको शब्दले मात्रै म यो घरमा टिकेको छु। फेरि मेरो भविष्य पनि त छ। बुद्धि खा आफू, रिस खा अरु भन्छन्। मेरो बाउले झगडाको कारण मलाई कहिले पनि बताएनन्। न वीरे हामीसँग किन बस्छ भन्ने नै बताए। हाम्रो पुरानो घर कहाँ हो भनेर पनि बताएनन्। उनको नागरिकता पनि कहिल्यै मलाई देखाएनन्। पोखरामा यो घर किनेपछि बसाइँसराइँ गरेछन्। मेरो नागरिकतामा यतैको ठेगाना छ। नागरिकता लिन जाँदा पनि आफ्नो नागरिकता देखाएनन् मलाई।

मेरो ११ को परीक्षा सकिएको थियो। म छतमा टहलिँदै थिएँ। एक्कासि वीरे आत्तिँदै छतमा आइपुग्यो। उसको घाँटीमा सँधै झुण्डिने मफलर त्यो दिन थिएन। एकदमै हतास मानसिकतामा थियो ऊ। जुत्ताभरि धुलो नै धुलो थियो। प्यान्टको एउटा मोजा अलि माथि सरेको थियो। पूरै अस्तव्यस्त देखिन्थ्यो।

हतारमा बोल्यो, ‘हिँड्, छोरा हस्पिटल जानुपर्यो।’ अघिपछि भए म जान्न भन्ने थिएँ होला। तर, उसको अवस्था देखेर म केही बोल्न सकिनँ। चुपचाप उसको पछि लागें। फेवा सिटी हस्पिटलमा पुगेर सिधै उसले इमर्जेन्सी वार्डमा पुर्यायो। लमतन्न परेर सुतेका मेरा बाउलाई देखें मैले। नसोचेको आतंकले मेरो मुटु ढुकढुक गर्यो। हे भगवान, के भयो मेरो बाउलाई? नजिक गएर हेरें। डक्टरहरू निहुरिएर छातीमा थिच्दैथिए। अनुहार नीलो देखिएको थियो। आँखा खुल्लै थिए। निकै आत्तिएको जस्तो विस्फारित थिए आँखा। ध्यान दिएर हेरें मैले आँखाका परेली चलेका थिएनन्। मुटुभित्र गाँठो परेर आयो। डाक्टरले पछाडि फर्केर वीरेतिर हेर्दै भने, ‘अब केही गर्न सकिँदैन, सरी।’

ठूलो केही चिजले टाउकामा ड्वाङ्ग हानेजस्तो भयो मलाई। केही सोच्न सकिनँ। थुचुक्क बस्न पुगेंछु। वीरे मेरो काँधमा हात राखेर थपथपाइरहेको थियो। ‘छोरा उठ्। मन कठोर बना बाबु। छोराको कर्तव्य निर्वाह गर्नुपर्छ। तेरो बाउ र मैले धेरै दुःख गरेर यो सृष्टि जोगाएका हौं। तैले रक्षा गर्नुपर्छ यसको। विचलित नहो।’

त्यो दिन किन हो उसको कुरा राम्रो लाग्यो मलाई। केहीछिनमा नै नर्सले डेथ सर्टिफिकेट ल्याएर वीरेको हातमा हालिदिइन्। पढें मैले, ‘डेथ ड्यू टु हर्ट स्ट्रोक।’

सेतीको किनारमा लामो चिता बनाइएको थियो। किनारमा मेरो बाबुको लामो लाश लमतन्न थियो। बुढी आंैलाको नङले भुइँ कोट्याउँदै थिएँ म। आफूलाई अलिअलि माया गर्ने त्यही एउटा बाउ लाग्थ्यो। तिनी पनि गए। वीरेतिर हेरें।

ऊ निकै थकित र गलेजस्तो देखिएको थियो। नाटक गर्दैछ जस्तो लाग्यो। भित्रभित्र रमाएको होलाजस्तो लाग्यो। मेरी आमा यसकी एकलौटी भइन् अब। म कसरी त्यो नाटक हेरेर त्यो घरमा बसौं। भो पढाइसढाइ छाडिदिन्छु! कुनै नौलो ठाउँमा गएर बस्छु।  मेरो टाउको दुख्न थालेको थियो।

वीरे उठेर मतिर आयो। ‘उठ् छोरा काम गर्नुपर्छ,’ पहेंलो रामनामी फुकाउँदै उसले धमाधम बाउको शरीरको लुगा फुकाल्न थाल्यो। मलाई बाउको शरीर कहिले हात, कहिले खुट्टा र कहिले कम्मरमा उठाउन लगायो। रामनामीलाई तन्काउँदै बाउको नांगो शरीर छोप्ने प्रयास गर्दै थियो ऊ। एक्कासि आएको हावाको सानो झोकाले रामनामी उडाइदियो। बाबुको नांगो र ठूलो शरीर देखें मैले। मेरो आँखा बाउको कम्मरमुनिको भागमा पर्यो। अचम्म त्यहाँ पुरुषमा हुनुपर्ने एउटा निशानी नै थिएन। मेरो बाउको योनांग नै थिएन। जोडले रिंगटा लाग्यो मलाई। वीरे अन्यमस्यक भावले मतिर हेर्दै थियो। जसोतसो लड्नबाट जोगिएँ म। वीरेले नै फेरि शरीरलाई छोप्यो। त्यसपछि के–के गरेर अन्तिम संस्कार गरियो मलाई याद नै रहेन। मेरो ठूलो मानसिक बल यसैमा गएर अडियो, ‘हे भगवान! मेरो बाउमा जे कमजोरी रहेछ त्यो म जन्मनुअघिको नहोस्।’ वीरे मेरो अनुहारमा मायाले चियाउँदै थियो। तेह्र दिनसम्मको काम कसरी सकियो मलाई याद नै भएन।

अब मलाई मेरी आमासँग त्यति धेरै रिस उठ्न छाडेको थियो। बाबुको कमजोरीलाई भरताल गर्न खोजेकी होलिन् भन्ने लाग्यो। शारीरिक आवश्यकता पूरा गरेकै आधारमा अन्यथा लिनु ठीक लागेन मलाई। तर, मैले देखेको सत्य आधा भैदिए हुन्थ्यो भन्ने लाग्यो। एकाएक वीरे मेरो आँखा अगाडि नाच्न थाल्यो। हे भगवान! मलाई बचाऊ। एकपटक भगवानको पुकार गरें मैले।

आमा मेरो आगाडि उभिएर मेरो गतिविधि नियालिरहेकी रहिछन्। उनको सानो आवाज गुन्जियो, ‘बाबु! अब सोचेर मात्र केही हुँदैन। सत्र बर्षको भइहालिस् विस्तारै घर व्यवहार र पढाइ सँगसँगै अघि बढाउनुपर्छ।’

म सुनिरहें। केही पनि बोलिनँ। आमा फर्केर गइन्। केहीबेरमा हातमा केही कागज बोकेर आइन्। फेरि फुसफुसाउन थालिन्, ‘केही कुरा समय आएपछि मात्र थाहा पाउनु राम्रो हुन्छ। तँ के सोच्छस् मलाई थाहा छैन। तर, यो सृष्टि तेरो बाउ, म र वीरसिंह काका मिलेर रचना गरेको हो। वास्तवमा हाम्रो घर पश्चिम पहाडको दार्चुलामा हो रे। म पनि कहिल्यै गएको छैन। यो तेरो बाउको नागरिकता र जग्गाधनी पूर्जा हो। म चाहन्छु, तँ त्यहा गएर जग्गा जमिन पत्ता लगाएर आइजो। केही मूल्य आउने भए बेच्नुपर्छ। थोरै लगानी थप्न सकियो भने तेरो बढ्दो आवश्यकता पूरा गर्न सकिन्थ्यो कि।’ थप सत्य सुन्दै थिएँ म। तर, धेरै अचम्म लागिरहेको थिएन। मेरो दिमाग एउटै कुरामा घुमिरहेको थियो। त्यो सत्य नहोस्।

धनगढीमा रात्रि बसबाट ओर्लँदा बिहानको १० बजेको थियो। धनगढी बसपार्कबाट दार्चुला जाने गाडी चढ्नु थियो मलाई। टिकट काउन्टर खोजें। एक बजेको टिकट पाइयो। दार्चुला धापसम्म। काउन्टरको मान्छे बोल्यो, ‘उही हो दार्चुला गए नि धाप भए नि। १०५० दिनुस्।’

बस छुट्ने समय भएको थिएन। बिहानको खाजाले पेट भरिएको थियो। खाना खान मन लागेन। नजिकैको चिया पसलमा गएँ। पहाडतिरकै जस्तो लाग्ने चिया पसलेलाई चिया बनाउन भनें। चिया दिँदै गर्दा भनें, ‘काका, त्यो बिस्कुट पनि दिनुस् न।’

‘नानोवालो कि ठूलो?’

मैले सानो चाहिँ बिस्कुट मागें।

दुई जना केटा ब्याकप्याक बोकेर मेरो नजिकमै आएर बसे। बीच–बीचमा हिन्दी अनि पहाडी भाषामा कुरा गर्दैथिए। म केही कुरा बुझ्थें, केही बुझ्दैनथें। दिल्लीमा काम गरेर फर्किएका जस्तो लाग्यो। मैले उनीहरुका अनुहारमा बाउ र वीरेलाई खोजें।

दिउँसोको एक बजे गाडी स्टार्ट भयो। केहीबेरको सम्म बाटो छोड्दै गाडी उकालो बाटो लागेको थियो। विस्तारै चिसो बढ्दै गएको थियो। दिन पनि ढल्दै थियो। घुम्तीका बाटाहरूमा कहिलेकाहीँ धनगढी लुकामारी गर्दै गरेको झ्यालबाट देखिन्थ्यो। विस्तार गुराँसका डाँडाहरू देखिन थालेका थिए। भयानक डाँडाहरू देखिन थालेका थिएँ। कति ठाडा डाँडाहरू। मान्छे बमन गर्न थालेका थिएँ। गाडीभरि अमिलो गन्ध फैलिएको थियो। मैले कहिल्यै नसुनेका गीत बजिरहेका थिए। दायाँबायाँका मानिसहरू गफिन थालेका थिए। म केही बुझ्थें, केही बुझ्दैनथें। ‘नाई नाई’ भन्ने शब्द बारम्बार प्रयोग भइरहेको पाएँ मैले। अन्दाज गरें, सायद ‘होइन, होइन’ भनेको होला।

डडेलधुरासम्म त बाटो फराकिलो थियो। त्यसपछि क्रमशः साँघुरिन थाल्यो। अँधेरो बढ्दै गयो। बमन गर्नेहरु पनि अब त निदाउन थालेका थिए। विस्तार मलाई पनि निन्द्राले छोपेछ। बिहानको छ बजेतिर गाडी गोकुलेश्वर भन्ने ठाउँमा पुगेको थियो।

चिया नास्ताको लागि गाडी रोकिएको थियो। म पनि फ्रेस हुनलाई ओर्लें। केहीछिनमा गाडीले हर्न बजाउन थाल्यो। हामी सबै हतारहतार गाडी चढ्यौं। रातभरि एकै सिटमा बसे पनि मेरो आडको मान्छेसँग म बोलेको थिइनँ। न त ऊ नै बोलेको थियो।

एक्कासि त्यो अधवैंसे मानिस बोल्यो, ‘कहाँ जाने हो?’

‘दार्चुला धाप,’ छोटो जवाफ दिएँ मैले।

‘घर हो?,’ उसले सोध्यो।

‘हुन त हो।’

‘कईका चेला हौ तम्?’

‘म पोखरामा जन्मे हुर्कें। यताको भाषा बुझ्दिनँ।’

‘ए! कसको छोरा हौ भनेको?’

‘रामदत्त पन्त।’ 

उसले नचिनेको जस्तो गर्यो।

‘धाप पुगेपछि मलाई भन्नु ल।’ 

हुन्छ भन्यो उसले।

सल्लाघारीको घुमाउरो बाटो हुँदै गाडी उकालो लागेको थियो। झ्यालबाट बाहिर हेर्दा निकै कहालीलाग्दो भीर देखिन्थ्यो। मोडहरूमा सानो मन्दिरजस्तो बनाएको थियो। त्यो त दुर्घटनामा परी मृत्यु भएकाको सम्झनामा बनाएको रहेछ। आङ नै सिरिङ्ग भयो। बाटो असाध्य सानो थियो। तर, गाडीको गति अत्यन्त तीब्र। बाहिर हेर्दा लाग्थ्यो गाडीको चक्का बाटो बाहिर छ। ग्वानी, मालिकार्जुन, पस्ती, मेलखेत भन्ने ठाउँ हुँदै दत्तु पुगेका थियौं हामी। कतैकतै भीरको नै छत बनेको थियो पहिरो फुटाएर बनाएको बाटोमा। बायाँतर्फ महाकाली नदी बगेको देखिन थालेको थियो। धेरै समयपछि केही खुला र फाँटजस्तो भएको ठाउँ देखियो। मेरो आडमा बसेका मान्छे बोले, ‘त्यही हो बाबु धाप। स्कुल अगाडि गाडि रोक्छ।’

गाडी रोकियो। म ओर्लिएँ। 

उद्देश्य थियो तर उपाय सुझेको थिएन। केही मानिस चौतारोमा गफिएर बसेका थिए। कोही चिया पसलमा। एक जनालाई सोधें, ‘यहाँ खाना खान पाइने कुनै पसल छ?’ नजिकैको पसल देखाउँदै त्यहाँ पाइन सक्ने संकेत गरे तिनले।

पसलमा गएर सोधें, ‘साहुजी, यहाँ खाना खान पाइन्छ?’

पसले बोले, ‘सोध्नेका लागि त खाना नपाइने हो। सँधंै खाने सरले आज खबर नगरी हिटेकोले तमलाई मिल्ने भयो। दाल साग सेलाएको छ। म तताउँछु। एकछिन बस।’

मैले राहत महसुस गरें। एकैछिनमा झन्डै पचास वर्ष उमेरका साहुजी बोले, ‘कहाँ हिट्या हौ?’

‘खोई साहुजी। म त यहाँ आफ्नो आफन्त खोज्न आएको हुँ। म पोखरामा जन्मे। उतै हुर्कें। मेरो बाबाको घर यहाँ रहेछ। भर्खर थाहा पाएँ। बाचुञ्जेल उहाँले पनि भन्नु भएन। अहिले बित्नुभयो। जग्गा जमिन पनि छ रे हाम्रो। त्यही खोज्न आएको।’

‘ए! कसको छोरा हौ त?’

‘किसनदत्तको छोरा रामदत्त पन्तको।’

‘तिनी त सानैमा भागेर दिल्ली पुगेका थिए। यहीँको वीरसिंह पनि सँगै बस्थ्यो रे। धेरै पछि धनगढी आएका थिए रे दुबै जना। रामदत्त त नागरिकता बनाउन भनेर आएका थिए। मैले नै सहयोग गरेको हुँ। उसैको छोरा भनेका हौ त तमले?’

‘हो साहुजी,’ मैले टाउको हल्लाएँ।

साहुजी अकमक्क जस्तो परे। उनकै उमेरको अर्को बुढा र उनी एक आपसमा हेराहेर गरे।

अर्का बुढा बोले, ‘ऊ’को समान त नानोमाई भालुले खाइदिया न हो? कसा भियो ऊ’को चेलो?’

साहुजी बोले, ‘मुई के जाणु। कि उही जाणला, कि दैव जाणला।’

मैले उनीहरूले बोलेको एक–एक शव्द जोड्ने प्रयास गरें मैले। ‘नानो–सानो’ ‘चेलो–छोरो’। कुरा स्पष्ट भइसकेको थियो। 

आँखा पीरो भएर आयो। घाँटीमा केही अड्केजस्तो भयो। बाउको र वीरसिंहको अनुहार पालैपालो आँखा अगाडि आउन थाल्यो। उनीहरू थप के कुरा गर्दैथिए, मेरो ध्यान त्यता गएन।

मेरा पात्रहरू परिवर्तन भइरहेका थिए। जसलाई एउटा भूमिका दिइएको थियो त्यो त्यो नै थिएन। जो अर्कै भूमिकामा थियो त्यसले बेग्लै भूमिका निभायो। जसलाई माया गर्नुपर्थयो त्यसलाई मैले घृणा गरें। जसले सिंगो जिन्दगी म र मेरो परिवारलाई दियो, आफ्नो व्यक्तिगत जीवनको वास्ता नै गरेन। छातीमा टाँसेर माया गर्नुपर्नेलाई अर्कै दर्जा दियो परिस्थितिले। एक्कासि त्यसको माया लागेर आयो मलाई। परिस्थितिले एकै व्यक्तिलाई फरक रुपमा उभ्याउँदो रहेछ भन्ने बुझें।

पसलबाट बाहिर निक्लेर मोबाइल थिचें। उताबाट हेलोको आवाज आयो ।

म बोलें, ‘हेलो! वीरसिंह काका, म दार्चुला आइपुगें। यताको काम सिध्याएर म केही दिनमा आउँछु। भन्नोस् काका, तपाईंलाई दार्चुलाको के कोसेली ल्याइदिऊँ?’ मेरा स्वर अड्किएका थिए यति भन्दा।

उताबाट मीठो आवाज आयो, ‘केही पर्दैन छोरा, तँ सकुशल आइज।’


 

More form the Internet

loading...