Suvadin, Home

अयोग्य लडाकूकी श्रीमती 

जब एउटी नारी आमा, दिदीबहिनी छोरी र पत्नीमध्ये केही बन्न सक्दिन तब ऊ वेश्या बन्छे। तर, पाठेघर झिकिएकी म वेश्या पनि बन्न सक्दिनँ। उसको कुराले म स्तब्ध भएँ। बोल्नै सकिनँ। कुनै गह्रौं भारीले थिचेजस्तो भयो।

अन्जना केसी


‘प्लीज रोक्नुस न?’

आफ्नै रफ्तारमा दौडिरहेकी मेरो ध्यान अनामनगर हनुमानथाननिर बाटोमा इसारा गरिरहेकी एउटी छोटो कदकी ‘स्मार्ट युवती’तर्फ मोडियो।

म बानेश्वरदेखि न्युरोड हिँडेकी थिएँ। केही सामान खरिद गर्नु थियो। म एकदमै हतारमा थिएँ। प्रायःजसो म हतारमै हुन्छु। मेरा आफ्नै काम अनि बाध्यता छन्। घरको काम गर्नु, आफ्नो व्यवसाय चलाउनु, बच्चा सम्हाल्नु, बुहारी, पत्नी, आमा सबैको भूमिका कुशलतापूर्वक निर्वाह गर्नु मेरो मात्र नभएर सबै महिलाका बाध्यता हो।

हतारमै भए पनि स्कुटर रोकेँ। त्यतिबेला काठमाडौंमा हाहाकार थियो। नाकाबन्दीको चरम मारमा थिए नेपाली जनता। गाडी चल्दैनथे। सडक प्रायः खÞाली हुन्थ्यो। कहीँ कतै आफ्नो पहुँच हुनेको निजी सवारी साधन चले पनि जनजीवन एकदमै कष्टकर थियो। 

सेवा नै धर्म हो भन्ने सोचेर मैले स्कुटरको ब्रेक थिचें। 

‘कहाँ जाने बहिनी?’

हेर्दा पुरानो तर सफा जिन्स र टि–सर्ट लगाएर बाटोमा उभिरहेकी युवतीलाई सोधें। ‘प्लीजÞ मलाई लिफÞ्ट दिनुस न, मलाई सुन्धरासम्म जानु छ,’ उनले भनिन्।

‘बस्नुस् न, म नि उतैतिर जाँदैछु,’ मैले भनें। 

उनी मेरो स्कुटरको पछाडि बसिन् अनि ठूलो सास फेरिन्। मानौं लामो विछोडपछि अभिभावक पाएजस्तो।

‘बहिनी अलि हतासमा हुनुहुन्छजस्तो लाग्यो,’ मैले कुरा निकाल्ने बहानाले औपचारिक बन्दै सोधें। 
‘केही होइन दिदी,’ फेरि ठूलो सास फेरिन्। 

हुन त कहाँ विश्वास गर्न सकिन्छ र बाटोमा पहिलोपल्ट भेटेको अपरिचितलाई। मैले उनलाई हेर्दा सजिलै अनुमान लगाएँ कि उनी तनावमा छिन्। अर्थात् उनको जीवनमा कुनै घटनाको बज्रपात भएको छ। 

उनी मसँग पोखिन चाहिनन् जस्तो लाग्यो। बाटोमा सामान्य कुरा गर्दै हिँडें। सुन्धारा आइपुग्यो। काठमाडांै मल अगाडि रोकेर उनलाई स्कुटरबाट झर्न आग्रह गर्दै बोलें।
‘बहिनी यहीँसम्म होइन?’

‘खै दिदी कहाँसम्म भनुँ। जाउँ कहा जाउँ बसुँ कहाँ बसुँ, स्वास्नी मान्छे हुनु त अभिषाप रहेछ। कोठामा पनि अरुलाई लिएर आएको छ,’  उनले आत्मीय हुन खोज्दै भनिन्। म अलमल परँे। कसको बारेमा बोलिन् उनी भनेर।

‘कसको कुरा गर्नु भो?,’ मैले सोधें। 

‘हजुरलाई हतार छैन भने बसौं न कÞतै,’ उनले प्रस्ताव राखिन्। 

बेलुकी ५ बजिसकेको थियो। मलाई हतार त थियो नै। त्योभन्दा ज्यादा हतार उनको जीवन जान्नु थियो। मैले ‘हुन्छ’ भन्दै काठमाडौं मलको छेऊमा रहेको रेस्टुराँमा लगेर गएँ।
‘के खाने बहिनी?,’ मैले सोधें। 

उनले केही नखाने भनिन्। मैले दुई वटा कफी मगाएँ।

वातावरण शून्य थियो। मैले कुरा निकाल्ने बहानाले सोधें, ‘कहाँ बस्नुहुन्छ?’

‘हनुमानथान नजिक।’

‘घर?’

‘घर गुल्मी हो रे, माइती सल्यान।’

‘अघि कसको कुरा गर्नुभा?’

‘मेरो लोग्नेको। आज पनि त्यही केटीलाई कोठामा लिएर आएको छ। बस्न सकिनँ अनि निस्किएर हिँडें।’

‘अनि?’

उनले भन्दै गइन्।         

म सल्यानको विकट गाउँको दलित परिवारमा जन्मिएर हुर्केकी हुँ। मेरी आमा म सानी छँदा नै सुत्केरी हुन नसकेर बित्नुभो। भाइ बाँच्यो। आमा बितेको तीन महिना नबित्दै हाम्रो हेरचाह गर्न भनेर सानीमा पर्नेसँग बाबाले बिहे गर्नुभयो। सुरूमा राम्रै थियो। हाम्रो बालमस्तिष्कले सबै कुरा नबुझे पनि राम्रो नराम्रो बुझ्न सकिन्थ्यो। सानीमाको बच्चा जन्मिएसँगै भाइ र मेरा कष्टकर दिन सुरु भए। जसोतसो भाग्यलाई दोष दिँदै घरको काम सकेर पढ्दै थियौं। स्कुलमा पनि युद्धको प्रभाव पर्दै थियो। विद्यार्थी संगठन निर्माण हुँदै थिए। घरको पीडा भइरहेको बेला, दलित मुक्ति, महिला मुक्ति अनि सबैखाले मुक्ति, बुर्जुवा शिक्षा नपढ्ने भन्दै युद्धमा लागें। 

नाच्न जान्ने भन्दै पार्टीले कलाकार बनायो। नाच्नेबाहेक आफ्नो स्तर बढ्न सकेन। आफूभन्दा पछाडिका मान्छे संगठनको क्षेत्रमा माथि पुगे। आफू जिल्लाभन्दा माथि कहिले पुग्न सकिएन। तैपनि सेनाको प्लाटुन कमान्डरले प्रस्ताव राखे। खुसी भएर बिहे गरेँ। दलित र ब्राह्मण बीचमा अन्तरजातीय जनवादी बिहे भयो।

भाइ पनि पछि युद्धमै लाग्यो। उसलाई पार्टीले सेनामा खटायो। दाङको घोराहीको लडाइँमा सहिद भयो।

दुःख–सुख जसोतसो चलिरहेको थियो। पछिल्लो समयमा पार्टी शान्ति प्रकियामा आएसँगै हाम्रा नराम्रा दिन सुरू भए। मेरो लोग्नेले थुप्रै युद्ध जितेर आए पनि पछि सरकारले अयोग्य लडाकू घोषित गरिदियो। पार्टीले गर्व गरेको अन्तरजातीय विवाहले मेरो जिन्दगी नै तहसनहस पारिदियो। उसले मलाई अहिलेसम्म आफ्नो घर देखाएन। मेरो त के कुरा उसको परिवारले दलित केटीसँग बिहे गरेकै कारण सामाजिक बहिष्कार गरे।

जाने ठाउँ कतै भएन। पार्टीभित्र पनि सांगठनिक हैसियत ठूलो हुने र नेताको चाप्लुसी चाकडी गर्न सक्नेहरूको मात्र बर्चस्व रह्यो।

पार्टीले मलाई नाच्नबाहेक केही सिकाएन। जिउने कला जानिनँ मैले। काठमाडांैको बसाइ, आर्थिक कठिनाइ, जातीय विभेद यी सबै कारणले परिवारमा कलहको बिजारोपण भयो। जीवनलाई सुखी होइन, सम्पन्न बनाउनुपर्छ भनेर लागिरहेँ। तर, न सुखी भएँ, न सम्पन्न।

जीवनमा यस्तो घटना पनि हुँदो रहेछ जसलाई पत्याउनै गाह्रो हुन्छ मलाई। आखिरी त्यही भयो। आफ्नो जीवन आफैंलाई भारी भएको बेला म गर्भवती भएँ। एउटा मीठो अनुभूति भयो।

बच्चाको आगमनसँगै भौतिक कठिनाइ भए पनि मानसिक सन्तोष मिल्नेछ। मलाई जिउने आधार मिल्ने छ। बिडम्वना, त्यसको उल्टो भइदियो। असोचनीय भयो। अकल्पनीय भयो। मेरो पेटको बच्चा ट्युवमा बसेको रहेछ। तीन महिनामा बच्चा खेर गयो। एकदम धेरै रगत बग्यो। हस्पिटल जाँदा थाहा भयो ट्युव फुटेको रहेछ, रगत नरोकिएकोले गर्दा अप्रेसन गर्नुपर्ने भयो। पछि थाहा भयो कि मेरो पाठेघर निकालेर फालिसकेको रहेछ। अब म जीवनभर आमा बन्न नसक्ने भएँ।

तपाईं आफैं कल्पना गर्नुस् दिदी त्योबेला मेरो के हाल भएको होला। एउटा कहालीलाग्दो र अन्त्यहीन जीवनको जस्केलोमा आएर पसारिएँ। जसलाई पन्छाउने झिनो सामर्थ्य पनि रहेन ममा।
देश परिवर्तन गर्न हिँडेको मेरो छापामार लोग्नेको ज्यादती अब ममाथि सुरू हुन थाल्यो। प्रत्येक तीता शब्द सुन्नुपर्यो मैले, बच्चा जन्माउन नसक्ने कमिनी भन्दै कुटिएँ, पिटिएँ, जातीय बेइजती त मेरा लागि सामान्य भए। 

जन्मले दिएको नाता पनि रहेन ममा। सम्बन्धले बनेको नाता पनि रहेन, वर्गीय नाताको  त के कुरा गरांै। वर्गीय साथीहरूलाई भेटेर कुरा गर्न समस्या राख्न पनि नखोजेकी होइन मेरो लोग्नेको बारे। ऊ अयोग्य लडाकू भएर के भो त? साथी सर्कलको जमातमा कति प्रिय छ, अरुका लागि ऊ यति महान छ कि कसैलाई उसको बारे नराम्रो केही भन्यो भने विश्वास गर्न गाह्रो हुन्छ। भन्छन् नि खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ। म त्यही अचानो हो दिदी।
उनले आँशु पुछिन् र फेरि बोल्न थालिन्। 

आजकल मलाई कोही आफ्नो लाग्दैन। आफन्त नभएको घर जेलभन्दा बढी हुन्छ। अहिले पनि सधैंजस्तै घरमा उसले क्षेत्री थरकी केटी लिएर आएको छ। कोठा एउटा छ, ऊ आउँदा म त्यहाँ अँटाउदिन। त्यसैले बाहिर निस्केर तपाईंसँग यता आएँ। 

‘तपार्इं ऊ बिना पनि बाँच्न सक्नुहुन्छ काम गर्नुस्। आफ्नै तरिकाले जीवन जिउनुस्,’ मैले साहस बटुलेर उनलाई सान्त्वना दिँदै बोलें। 

‘काम के गरुँ दिदी? मैले बुर्जवा शिक्षा भन्दै नौ कक्षा पनि पास गरिनँ। काम कहाँ के पाइन्छ? व्यवसाय गरूँ कसले पैसा दिने? कसैका जुठा भाँडा माझुँ, मजदुरी गरू कहाँ गरुँ? अझै पनि म हिजो युद्ध लडेको मान्छे भन्ने महत्वाकांक्षा छ। बाहिर कसैले नचिने पनि जिल्लामा राम्रै चिन्छन्। सबैले सम्भावना बोकेकी मान्छे भन्थे। गाउँमा जाउँ कहाँ जाउँ? माइती उहिले गुमाएँ। लोग्ने आफ्नो नभएपछि घर त को त कुरै नगरौं। 

जब एउटी नारी आमा, दिदीबहिनी छोरी र पत्नीमध्ये केही बन्न सक्दिन तब ऊ वेश्या बन्छे। तर, पाठेघर झिकिएकी म वेश्या पनि बन्न सक्दिनँ।

उसको कुराले म स्तब्ध भएँ। बोल्नै सकिनँ। कुनै गह्रौं भारीले थिचेजस्तो भयो।

कफी सेलाइसकेको रहेछ। पिउन मन लागेन, बिल तिरेँ। उनलाई त्यही हालमा छोडेर आफ्नो कामै नगरी घर फर्किएँ।
 


 

More form the Internet

loading...