Suvadin, Home

‘भाडाको कोख’को समय अनुदित कथा
तपाईंको कोखलाई सलाम

आमा र  मैनबत्ती त उस्तै रहेछ। मैन आफैं जलेर अरुलाई उज्यालो दिन्छ। आफू स्वयम् भने अन्धकारमा रहन्छ। हो आमा पनि त्यस्तै त गर्छिन्। आफैं जलेर उज्यालो प्रवाह गर्छिन् तर आफू भने फगत अन्धकारमा रहन्छिन्। रेखाका आँखा कुइरिमन्डलले ढपक्कै ढाके। मुस्किलले पत्र पढिसकिन्। बाग्मती अविरल बगिरह्यो। मौनता साँधेर टोलाउनुबाहेक अरु कुनै विकल्प थिएन त्यहाँ। आफ्नो प्रेमको चिनो छोरीको उज्वल भविष्यको कसी अनि पैसा देखेर पनि उनको अनुहारमा सूर्योदय हुन सकेन।

बादल दुखेर होला निरन्तर आकाश रोइरहेको छ आज। रेखाको मनजस्तै। जीवन सुखी भए पो मन पनि खुसी हुँदो हो। जान्ने बुझ्ने भएदेखि आजसम्म कुनै खुसी र सुखको प्रहर थाहा पाएकी छैनन् उनले।

भौतिक सुख भए पनि मानसिक दुःखले सधैं पिरोलिरह्यो उनलाई। उनी कसकी छोरी हुन्? उनकी आमा कस्ती थिन्? किन उनलाई कन्टेनरमा फालिन्? के बेरोजगारी र गरिबीले विदेसिन बाध्य भएको थियो त उनको बाउ? या उनी आमाको जवानीको राप र तापको परिणाम हुन त? 

यस्तै यस्तै अनेकन प्रश्नहरूले उनको मस्तिष्कको घरमा प्रश्नहरूको पहाड उभ्याएको छ बुझ्ने भएदेखि नै। प्रश्नहरूको पहाड भत्काउनलाई अथक प्रयास पनि नगरेकी होइनन्। यस्तो लाग्थ्यो,  उत्तर नपाएसम्म नजाने जिद्धी गरिरहेका छन् या भनौं, हड्तालमा छन् मस्तिष्कको कारखानामा उत्पादित अनुतरित प्रश्नहरू।

केन्द्रीय स्नायु प्रणाली नामक हाकिमबाट प्रश्नहरूको माग पूर्ति गराउने असफल प्रयासमा लागिरहेका छन् हरबखत। तेइस वर्ष अगाडि रेखालाई बाटोमा राखेको कन्टेनरमा रुँदै गरेको अवस्थामा भेटेका थिए, रामगोपाल शर्माले।

भगवानको आशीर्वाद ठानेर धनका अनि मनका पनि धनी रामगोपालले छोरी बनाएर हुर्काए। रेखा जन्मले उनकी छोरी नभए पनि कर्मले छोरी भएकी थिइन्। पढाइमा जेहेनदार रेखालाई उनकै चाहनानुसार मनोविज्ञानमा स्नातकोत्तर गर्न रामगोपालले भारत पठाए।

सुन्दर, जेहेनदार अनि गुलाफको फूलझैं फक्रिएकी रेखालाई मन पराउने युवकहरू धेरै थिए। पढाइकै क्रममा उनलाई धेरैले मन पराए तर उनले केवल एउटा युवकलाई मात्र मन पराइन्। जसलाई उनले विश्वविद्यालयको प्रशासन शाखामा पहिलोपल्ट देखेकी थिइन्।

त्यसपछि हरेक दिनजसो विश्वविद्यालय हाताभित्र उनका आँखाले त्यो युवकलाई खोजिरहे। उसको नाम विशाल र गाइनोकोलोजीको विद्यार्थी रहेछ भन्ने कुरा धेरै पछि मात्र रेखाले थाहा पाइन्। 

समयसँगै दुबै मिल्ने साथी भए। सुमघुर सम्बन्धमा रहे। दुबै एकाअर्कामा आकर्षित भए अनि गहिरो सम्बन्धमा परे। सागरको गहिराइभन्दा गहिरो थियो उनीहरूको प्रेम। वर र पीपलका बीचमा थोरै ग्याप रहे पनि धर्तीको छातीभित्र वरपीपलका जराले एकअर्कालाई स्पर्श गरिरहेका हुन्छन रे।

हो, उनीहरूबीच थोरै दुरी रहे पनि वरपीपलका जराले एकअर्कालाई छोएझैं उनीहरूको मुटुले पनि मुटुलाई छोएको थियो। साहित्यमा पनि रुचि राख्ने विशाल कविता र गीतहरू लेख्थ्यो।

रेखा रिसाउँदा कहिलेकाहीँ आफंै लेखेको गीत गाएर सुनाउँथ्यो पनि। मन्त्रमुग्ध पार्ने स्वर थियो विशालको। त्यही जादुमय स्वरमा लठ्ठ हुन रिसाएको प्रेमिल बहाना पनि गर्थिन् रेखा कहिलेकाहीँ। 

तिमी हौ मेरो आँखाको नानी 

यो मुटुभित्र बसेकी छौ बनेर रानी 

यस्तो लाग्छ तिमीभित्र छ 

मायाको शितल शितल छहारी 

तिमी नै त हौ मेरो सपनीमा आइरहने परी।

साँच्चै! सम्पूर्णताले पूर्ण थियो विशालको व्यक्तित्व। जातपातमा कट्टर रामगोपाल शर्माले मारवाडीलाई छोरी दिन मान्ने कुरै थिएन। रामगोपालले उनको प्रेमीलाई अस्वीकार गर्ने पहिलो बलियो कारण थियो विशालको जात अर्थात् ऊ मारवाडी खलकमा जन्मिनु।

आफ्नो प्रेम स्वीकारोक्तिका लागि अतिशय प्रयास गरिन् रेखाले तर उनको केही सिप लागेन रामगोपालको कट्टरपन र जिद्धिका अगाडि। पानीबिनाको माछा कतिञ्जेल पो छट्पटाउन सक्छ र? दुबैको बाँच्ने आधार, पानी भनेकै एकअर्काको प्रेम थियो। शरीरमा पानीको मात्रा सकिँदै गएपछि डिहाइड्रेसन हुने लक्षण देखिन थाल्यो।अन्ततः डिहाइड्रेसन हुन नदिन भागेर बिहे गरे उनीहरूले।

रेखाले छोरीको कर्तव्य भुलिन्। देउतासमान बुबा रामगोपालको मायालाई चटक्कै बिर्सिएर प्रेमका खातिर स्वार्थी बनिन् उनी। ‘प्रेम अन्धो हुन्छ’ भन्थे साँच्चै! अन्धो हुँदो रहेछ। मस्तिस्कले हैन उनले मुटुले सोचिन्। विशाल र उनको मन्दिरमा टिकाटालो भयो।

धनी बाउको एक्लो छोरोले ढाँटेर बिहे गरेको कारण विशालको परिवारले ऊ सँग सम्बन्ध टुटाएको थियो। भौतिक सुख सुविधामा हुर्किएकी रेखाको दैनिकी अब दयनीय हुन थाल्यो। विशालको प्रेममा पोखिएकी रेखालाई जति नै भौतिक दुःख भए पनि दुःख कहिल्यै लागेन।

गुनासो कहिल्यै गरिनन्। तर, पनि माया प्रेमको मिठासले भोको पेट टम्म नहुने रहेछ। सधंै अंगालोमा बेरिएर खान पुग्दैन थियो। चुम्बनले तिर्खा मेटिँदैन थियो। जे–जे काम पाए सानो–ठूलो नभनी दुबैले गरे।

उच्च शिक्षा हासिल गरेका उनीहरू सानो सस्तो काममा अडिन सकेनन्। आदर्श र व्यवहार दुबै फरक–फरक पाटो रहेछन्। प्रेमका गुलिया मीठा कुराले पेट भरिने त क्षणिक मात्र रहेछ। रेखाले आफ्नै कस्मेटिक पसल खोलिन्।

विशालले निजीस्तरको अस्पतालमा तीन महिना स्वेच्छिक सेवा प्रदान गरी करारमा जागिर खान थाल्यो। हिजोको प्रेम सम्बन्ध आज बिबाहमा परिणत भइसकेको थियो। दुई वर्ष प्रेमिल बिते दिनहरू। एकअर्काको मीठो माया र साथ हुँदा उनीहरूको संसार पूर्णिमाको जुनझंै उज्यालो हुन्थ्यो।

दुई वर्षपछि छोरी जन्मिई। बिबाह गरेकै दिन सन्तानको प्राप्तिले उनीहरूको खुसी आकाशियो। दुबैको मायाको चिनो भएकोले छोरीको नाम ‘माया’ राखियो। छोरीको आगमनसँगै उनीहरूको आर्थिक अवस्था पनि बलियो भयो। बच्चाको आगमनपछि आजको दिन हिजोको जस्तै सुनौलो हुने कुरै भएन। तैपनि  खुसी थियो त्यहाँ। मिठास थियो अनि धेरै चाहिँ सम्झौता थियो। 

सन्तान प्राप्तिपछि स्वाभाविकले नै लोग्नेस्वास्नीको शारीरिक दुरी बढ्छ। हो, उनीहरूमा पनि यो शाश्वत नियम लागू नहुने कुरै भएन। उनीहरूबीचको शारीरिक दुरी बढ्यो। रेखा छोरीको स्याहारमा व्यस्त हुन थालिन्।

विशालका लागि समय दिन धौधौ पर्न थाल्यो उनलाई। घरको काम जति भए पनि नदेखिने तर भित्रभित्रै भने काम लम्पसार परेको हुन्थ्यो। घरको काममा विशालले कहिल्यै सहायता गर्दैनथ्यो तर रेखाले कहिल्यै गुनासो गरिनन्।

खोई किन हो! विशालको व्यवहार अलि फरक भएको छ हिजोआज। उसलाई वैवाहिक जीवन मोनोटोनस हुन थाल्यो। हिजोसम्म रेखाबिना बाँच्न नसक्ने विशाललाई आज रेखामात्र आवश्यकता भएकी छिन्। विशालले उनलाई गर्ने मायामा कमी आइसकेको छ। अब त विशालले घर बाहिरै समय बिताउन थाल्यो। गाइँगुइँ हल्ला सुनिन्छ। 

‘विशाल वेश्यागमनमा रमाउन थालेको छ रे,’ एकदिन ऊ मातेर घर आयो। नशाले लठ्ठ पारेको उसको शरीरमा कामदेव जागिसकेका रहेछन्। रजस्वाला हुँदा धेरै रगत बगेर कमजोर भएकी रेखामाथि पासविकतामा जबर्जस्ती गर्न पछि परेन ऊ।

एउटा डाक्टरजस्तो मान्छेले डाक्टरी धर्म भुल्यो। श्रीमान् धर्म र कर्तव्य भुल्यो। रक्षक नै भक्षक बन्न पुग्यो। सुहागरातको दिन रेखाको कुमारीत्वको प्रमाण नभेटेको निहुँ पारेर कहिलेकाहीँ अनाहकमा निहुँ खोज्ने अनि कहिलेकाहीँ कुटपिट पनि गर्थ्यो ऊ। कहिले आफन्त र इष्टमित्रका सामुन्ने बेइज्जत गर्थ्यो। 

जे–जस्तो भए पनि  लोग्ने हो, आफैंले छानेको प्रेम हो भनेर उनले सधैँ खप्की खाइरहिन्। रेखा आफैं टुहुरी थिइन्। बाबुआमा नहुनुको पीडा टुहुरोले बाहेक अरुले महसुस गर्न सक्दैन। उनी चाहन्थिन्, ‘उनले गरेको त्यो तीतो महसुस उनको छोराले कहिले गर्न नपरोस्।’

छोराको बाल मस्तिष्कमा मानसिक असर पर्न नदिन दबिएर, चेपिएर, हेपिएर भए पनि उनी आफूलाई सम्हालेर बसेकी छिन्। व्यस्तताको कारण विशाललाई समय दिन नसकेकी रेखालाई विशाल स्वयम् पनि व्यस्त भएको भन्ने प्रेमिल भ्रम परेको रहेछ।

तर, विशालको वास्तविकता भने फरक थियो। यो साँचो हो, रेखाको बानी परेको विशाल पनि भित्रभित्रै कुन्ठित थियो। सधैँ विशालकै समीपमा हुने रेखा सन्तान प्राप्तिपछि रेखाले उसलाई वास्ता नगरेको कारण तनावग्रस्त थियो ऊ। मनभित्र कुन्ठित कुन्ठालाई स्खलन गर्न चाहन्थ्यो। छताछुल्ल पोख्न चाहन्थ्यो। सन्तानको आगमनपछि अचानक भएको परिवर्तनसँग असमायोजित भएको थियो ऊ। 

विशालमा अचानक आएको परिवर्तन देखेर रेखा आजित थिइन्। सम्झाइन्, बुझाइन् कारण खोतल्ने अनेक प्रयास गरिन्। आफू स्वयम् मनोविद भएर पनि विशालको व्यवहारलाई हेर्दा उसमा देखा परेको मनोविशादको अड्कल लाउन सकिनन्।

उनको अनन्य प्रयासले पनि विशालमा परिवर्तन नदेखिएपछि एकदिन उनी परामर्शका लागि आफ्नै साथी मनोविद करुणाको अफिसमा पुगिन्। करुणाले समस्या पहिचानका निम्ति सोधेका प्रारम्भिक प्रश्नहरूको जवाफ दिन पनि उचित ठानेन विशालले। भनिन्छन्, ‘मानिसले आफ्नै मनलाई सुनेन भने अरु कसैलाई सुन्दैन।’

विशालले आफूलाई झाकेर मनको कुरा सुन्ने चेष्टा कहिल्यै गरेन। रेखाको हारगुहार गर्ने ठाउँ कतै थिएन। उनलाई आफ्नै जीवन जीवनजस्तो लाग्न छोड्यो। फूलैफूलको बाटोभरि काँडैकाँडा देख्न थालिन्।

विशाल हरेक कुरामा उसकै मनमर्जी गर्थ्यो। रेखाले भने हरेक सामान्यदेखि अति सामान्य काम गर्नु पर्दा पनि विशालको स्वीकृत लिनुपर्ने भयो अब। घर सल्लाह त हुनैपर्छ, तर घर सल्लाह र स्वीकृति लिने कुरा केवल स्वास्नी मानिसमा मात्र लागू हुनुपर्छ भन्ने छैन। लोग्ने मान्छेले बिना सल्लाह जे–जसो गरे पनि हुने तर स्वास्नी मान्छेले चाहिँ घरबाट स्वीकृति नै लिनुपर्ने? आखिर किन?

के नारी भएकै कारण यस्तो विभेद हो त? समानता र समावेशीकरणको गहकिलो मुद्दा खोई कसको घरमा लागू भएको छ हाम्रो समाजमा? मनमस्तिस्कमा मूर्त प्रश्नका अमुर्त उत्तरहरूले फेरि द्वन्द्व मच्चाउन थाले।

सायद, मनुश्यको मनमस्तिष्क द्वन्द्व मैदान हो। जहाँ द्वन्द्वको घमासान युद्ध भइरहन्छ फरक–फरक विषय अनि प्रसङ्गमा। एउटा आधुनिक सोच भएको र सफल स्त्रीरोग विशेषज्ञ विशालको स्त्रीप्रतिको पुरातन साँघुरो सोचाइप्रति अचम्म होइन खेद छ।

रेखाको हृदयमा बनाएको प्रेमको घर भन्त्काएर विशालको प्रेम अन्तै बसाइँ सरेको थियो। लोग्नेका लागि उनको अस्तित्वको महत्व नभए पनि छोरीका खातिर निभ्नै लागेको जिन्दगीको टुकीलाई जसोतसो साहस, सकारात्मक सोच र मनोबलको सलेदोमा आशाको तेल थपेर रेखाले धिपधिप भए पनि बालेकी थिइन्।

एक दिन उनको जीवनलाई तहसनहस बनाउने हुरी चल्यो! विशालले सहकर्मी डाक्टर प्रतिष्ठालाई बिबाह गरेको खबरले रेखाको धिपधिपे आशाको टुकीलाई झ्याप्पै निभाइदियो! अन्धकारमा लम्पसार पर्यो उनको जीवन।

रेखा रोइन् कराइन् अनेक बिन्तिभाउ गरिन्। तर, अहँ विशालको मन पग्लिएन। छोरीको क्रन्दनले पनि उसलाई चसक्क छुन सकेन। चारैतिर जीवन अन्धकार देखेकी रेखाले छोरीसँगै आत्महत्या प्रयास गर्दा पनि विशालको मनमा दयाको बेर्ना टुसाएन।

एकतर्फी प्रेमले बाटेको जुइनो बलियो कहाँ हुन्थ्यो र? यो सबै समयको परिवर्तनले रेखा र उनकी काखे छोरीको जीवन झन् अँध्यारो भयो। सपाट जिन्दगीको कापीमा सुन्दर कथा लेख्न सुरू नगर्दै कालो मसी घप्लक्क घोप्टियो।

रेखा अलग भइन्। गुजारा चलाउन मःम पसल खोलिन्, कहिले चिया पसल, ठेलागाढामा सब्जी डुलाइन्, बाटोमा पानीपुरी र चटपटे बेचिन्। बाँच्नका खातिर गरेका प्रयासहरू हमेशा निस्सार बने। एक्ली आईमाईलाई हेर्ने दृष्टिकोण फरक भइदियो।

अरुबेला नानी, छोरी साइनो लगाउनेहरू एकान्तमा देख्दा झुकिएझैं गरेर छुन, ढेसिन खोज्थे। ‘लोग्नेले छोडेकी एक्ली आईमाई अलिकति एमोस्नल ब्ल्याकमेल गर्न सक्यो भने सहजै भोग्न पाइन्छ,’ सायद यस्तै सोच्छन् पुरुषहरू!

पाइलैपिच्छे गिद्दे नजर लगाउनेहरूको कमी थिएन। सस्ता शब्द र मनपर्दी पुरुष स्पर्शलाई हाँसेर पचाएकी भए उनको दैनिकी कष्टप्रद हुने थिएन सायद। जहाँ गए पनि, जे काम गरे पनि उनलाई हेर्ने पुरुष दृष्टिकोण फरक भइदियो। उनलाई त्यो व्यवहार पचेन।

हार नखाँदै हार मान्नु पर्यो उनले फेरि एकफेर। थालनी गरेको कुनै काम दिगो बन्न सकेन। ब्यालेन्स सकियो। गहनाहरू सकिए तर सस्याहरू थपिँदै गए। समय जति बित्दै जान्छ आवश्यकताहरू उति थपिँदै जाने रहेछन्। उनका दिनहरू कष्टप्रद बित्न थाले। अब त छोरीका लागि अत्यावश्यक सामान खरिद गर्न सक्ने क्षमता समेत रहेन।

सबै बलेको आगो नै ताप्न खोग्दा रहेछन्। ज्वाला निभेर कोइलाको राप खरानीमा परिणत भएपछि खरानी फुसफुस उडेजस्तै साथीभाइ, नातापाता सबै उडेर जाने रहेछन्। अन्तर मनले भन्यो, ‘पढाइको उपयोग किन गर्दिनस् रेखा!’ उनलाइ मनको कुरा ठिक लागे पनि पैसा नभएकाले सम्भावना न्यून देखिन्।

आफूले परामर्श मनोविज्ञान पढेको तर संस्था दर्ता गर्न लाग्ने सीमित रकमसम्म नहुँदा समस्या परेको व्यहोराको ठूलो प्ले कार्ड बनाएर केही दिन काखीमा छोरी च्यापेर उनी बाटोमा उभिइन्। हजारौं मानिसहरू आवातजावत गरे। अहँ!

उनको समस्या र पीडा बुझ्न कोही आएन। एकदिन हतारमा पाइला चाल्दै गरेकी मनोविद् डा. गंगा पाठकलाई त्यो दृश्यले झट्ट तान्यो। प्ले कार्ड लिएर बाटोमा उभिएकी महिला अरु कोही नभएर आइए प्रथम वर्षमा पद्मकन्या क्याम्पसमा मनोविज्ञान पढाएकी उनैकी छात्रा थिइन्। उनैको सहयोगमा रेखाले ‘खुसी मनोवैज्ञानिक परामर्श केन्द्र’ दर्ता गराइन्। सुरूवाती दिनमा उनले निःशुल्क सेवा दिइन्। 

उनको परामर्शले धेरैको समस्या समाधानमा सहयोग मिल्यो। छुटेका प्रेम जोडीहरूको मिलन भयो। टुट्न लागेको वैवाहिक बन्धन पुनः बाँधियो। डिप्रेसनले आत्महत्या गर्ने स्थितिमा पुगेकाले पुनः जीवन पाए।

एन्जाइटी र एम्नेजिया भएकाहरूले केही राहत पाए। समस्या समाधान भएका क्लाइन्टले अरुलाई लिएर आउन थाले। कसैकसैले स्वेच्छिक रुपले ‘फि’ दिन थाले। संस्थाको बागडोर केही बलियो बनाएपछि थोरै शुल्क लिएर उनले परामर्श सेवा सुचारु गरिन्।

संघर्ष गरिरहिन्। हार खाइनन् कहिल्यै तर सानो बच्चाको साथमा एक्लो जीवन भनेजस्तो सहज नहुने रहेछ। बच्चा हेरिदिने कोही थिएन। कहिले कोठामा थुन्थिन्, कहिले क्लाइन्टसँग आएका साथीले हेरिदिन्थे अनि कहिले चकलेट चाउचाउ दिएर भुलाउँथिन्। तर, सँधैं त्यो उपाय सम्भव थिएन। उनलाई न लोग्नेको साथ थियो न माइतीको आड भरोसा। परामर्श केन्द्रले नाम दिएको थियो।

सामान्य जीवन जीउनलाई आर्थिक भर दिएको थियो। विशालको अनुपस्थितमा रेखाको जीवन नुनबिनाको खल्लो तरकारीजस्तो भएको छ। काममा सन्तुष्ट मिलेको थियो तर आफूले चाहेजस्तो नहुने रहेछ। मातृत्वले बाँधिएर उनी समयसँग हारिन्। ‘खुसी मनोवैज्ञानिक परामर्श केन्द्र’ स्थापना भएको छोटो समयमै बन्द गर्नुपर्यो। 

टिनीनीनी...टेलिफोनको आवाजले तन्द्राबाट ब्यँुझिइन् उनी। पोखिन तयार आँखालाई हत्केलाले पुछिन्।  खुइय...। लामो स्वास तानिन् अनि छेउमा भएको फोन उठाइन्। 

हजुर नमस्कार!

हजुर थाहा छ। खान्छु। हवस् हजुर।

ख्याल राख्छु म। चिन्ता नलिनुहोस्।

सायद, कसैले केही कुरा सोध्दै थिए। उनको हिमालझँै उठेको पेट देखेर खानपिनमा ध्यान दिन भनेको अनुमान गरेँ मैले। अर्को महिनाको ठ्याक्कै आजकै दिन कसैको अबैध सन्तानलाई रेखाको कोखभित्र हुर्काएको नौ महिना पुग्छ। अवैधानिक काम समाजको आँखामा तर रेखाको गरिबी र बाध्यताका आखामा भने वैधानिक।

ठूला–ठूला पर्खाल अनि डरलाग्दा विदेशी बाउन्सरको जेलभित्र कैदी जीवन बिताउँदै आएकी छिन् उनी। आफ्नो पुटुस्स उठेको पेट छाम्दै आफ्नै मनसँग गुनासो गर्छिन्। बिज अर्काकै भए पनि बाध्यात्मक सम्झौतामा भ्रुण हुर्काए पनि आखिर म एक आमा न हुँ।

मभित्र हुर्कंदै गरेको रगतको डल्ला सल्बलाउँदा मलाई काउकुती लगाउँदा, मेरो मातृत्व छाल बनेर बहुलाउन खोज्छ। मुटु कमजोर बनी दिन्छ। आईमाईको मुटु न हो पुरुष मुटु भइदिएको भए सायद सम्हालिन्थ्यो कि! ‘आमा, म तिम्रो काखमा आएपछि मलाई पराइको हातमा नबेच है! म तिम्रै कोखभित्र सुरक्षित थिएँ आमा बाहिर किन बोलायौ मलाई आफूसँग राख्नु थिएन भने?’ 

यस्तै बाल अबोध प्रश्नहरूले झटारो हानिरहन्थ्यो उनलाई। काठमाडौंमा लुकिछिपी अवैध व्यवसाय गर्दै आएको सरोगेट एजेन्सीको विदेशी एजेन्टमार्फत आएको प्रस्तावअनुरुप भाडामा आफ्नो कोख बेच्न बाध्य भएकी छिन् रेखा। समयले उनलाई आफ्नै रगत बेच्न बाध्य पारेको छ। 

आज अचानक विशालको यादले विछिप्त बनायो उनलाई। बेइमानी धोकेबाज भन्दै गाली पनि गरिन्। तिमीलाई कुट्दा मलाई दुख्छ भन्ने विशाल हात कमै उठाउँथ्यो उनलाई तर शब्दका तीखा बाण भने चलाइरहन्थ्यो। विशालले दिएको धोकाले आफ्नो आत्मसम्मानमा चोट पुगेपछि रेखाले नै पारपाचुके दिएकी हुन् तर पनि विशाललाई अझै अगाध माया गर्छिन् उनी।

प्रेमको नाममा चोट पाए पनि पहिलो प्रेम भुल्न नसकिने रहेछ। मायाको बहाबलाई बाँध बाँधेर रोक्न नसकिने रहेछ। यादहरू सप्तकोसीको छालझंै उर्लिएर आउँछन् मन मस्तिष्क रुझाएर जान्छन्। शक्ति सोरेर लैजान्छन्। समयले चोटमा मल्हम लगाउन सक्दो रहेनछ। आलो घाउमा खाटा मात्र बस्ने रहेछ। चोट लागेको ठाउमा दाग बस्नुको अर्थ नै भुल्न नदिनु पो हो कि!

आजकल आमाछोरीको जीवनमा दुःख छ। दुःख भए पनि आत्मसम्मान र सन्तुष्टि छ। दुःखभित्र नै सुख खोज्न थालेकी छिन् उनले। परामर्श केन्द्र निष्क्रिय भएपछि पुनः छोरीको पालनपोषणका लागि सुरू भए आर्थिक संकटका दिनहरू।

बालख छोरीलाई कहिले काखी च्यापेर त कहिले इष्टमित्रकहाँ छोडेर जागिरका लागि उनी धेरै ठाउँ भौतारिइन्। अनुभव नभएको। बिबाहिताहरू नियममा नपर्ने। सम्झौता गर्नुपर्ने आदि थुप्रै कारक तत्वहरू तगारो  बनेर बाटो छेक्थे।

अझ कतिले त सिधै अनैतिक प्रस्ताव समेत राख्थे। तीमध्ये धेरै त बाउ भन्न सुहाउने उमेरका हुन्थे। अचम्म लाग्छ! के नारी शरीर पुरुषको वीर्य थन्क्याउने भाँडो मात्र हो त? नारी जाती नै आमा, दिदीबहिनी हो भन्ने कुरा किन बिर्सन्छन् पुरुषहरु?

कुनै पनि पुरुष महिलासँग यौनिक रुपमा मात्र जोडिन चाहन्छ किन? काठमाडाैंको महंगोमा दुई पेट पाल्न धौधौ परेको उनलाई कसैले भाडाको कोखबारे बतायो।  मुटुलाई दर्शन ढुङ्गाले किचेर उनले कोख बेच्ने निर्णय गरिन्।

अन्ततः महंगी, गरिबी बेरोजगारी अनि बाध्यताका अगाडि घुँडा टेक्नुपर्यो उनले। अवैध व्यवसायको रुपमा फस्टाएको अराजकतालाई काँध थाप्नैपर्ने स्थिति ठिङग उभिएको थियो उनका अगाडि।

काम गरेर इज्जतले बाँच्न पनि नसक्ने स्थिति आएपछि उनी बाध्य बनिन्। सम्झौतानुरुप बच्चा जिम्मा लगाएपछि अन्य कुनै ठाउँमा गएर छोरीलाई राम्रो स्कुलमा पढाउने उनको कुन्ठित चाहना थियो। 

दुःख लाग्छ दुनियाँ अनि स्वार्थी संसार देखेर। मानवीय संवेदना मरेर डुङ्गडुङ्गती गन्हाएको देखेर। हुँदा हुँदा कोख बेच्ने व्यवसाय फस्टाएको देखेर। आखिर चिता त दाउराको नै हुन्छ। सुनको चितामा खरानी हुन पाइँदैन न त कात्रोमा गोजी नै हुन्छ।

किन मर्न खोज्छ मान्छे पैसाका लागि? परामर्श मनोविज्ञानमा स्नातकोत्तर हुन् रेखा आफैंमा। तर, अरुको समस्या समाधान गर्न जस्तो सहज नहुने रहेछ आफ्नो मनलाई सम्झाउन त्यो पनि मातृत्वको सवालमा। 

ड्यु डेट आज नभन्दै रेखालाई लेभर पेन सुरू भयो। सम्झौता र आउने सुखी जीवनभन्दा पनि मातृत्व प्यारो भयो अब उनका लागि। प्रसब पीडाभन्दा सन्तान छुट्ने पीडाले गहिरो दुःख दिन थाल्यो उनलार्ई।

तीन दिनको अबिरल पीडा र दुखाइपछि अन्ततः छोरी जन्मिइन्। सम्झौता टुंगिने भयो। हरियो तन्ना विछ्याइएको विस्तारामा प्रसव पीडाले पल्टिएकी थकित रेखा सिस्टरसँग थकित आवाजमा विछोडको पीडा ओकल्छिन्। 

‘मुखसम्म त हेर्न दिन्छन् होला नि हैन सिस्टर?’

रेखाको आखाबाट ममताको दर्के झरी पर्यो। अविरल इन्द्रावति बगिरह्यो। बगिरह्यो। सन्तानलाई स्पर्श गर्न पाउने आशामा रुँदारुँदै निदाइन् उनी। ब्युझँदा छेऊकै टेबुलमा आठ लाख रुपैयाँको ब्याग अनि सेतो कागजमा कालो मसीले लेखिएको पत्र थियो। 

रेखाले हत्तपत्त पत्र पढिन्। 

प्यारी रेखा, 

धेरै धेरै माया अनि सम्मान,

धन्यवाद! तपाईंले निःसन्तान हामीलाई सन्तान दिनुभयो। तपाईंको कोखलाई सलाम। माफी चाहन्छौं, हामीले तपाईंको कोखलाई तपाईंसँग भेट गराउन सकेनौं। 

मलाई थाहा छ, यो गलत हो। एउटी आमाबाट उसको सन्तान खोस्नु भनेको घोर पाप हो। अन्याय हो। तर, मलाई दुःख छ बहिनी। म स्वयम् बाध्यतामा छु। आखिर म पनि नारी हुँ। मभित्र पनि सन्तानको माया छ। तपाईंकी छोरीलाई कुनै किसिमको कमी हुने छैन। यो मेरो बाचा भयो। मेरो श्रीमानको अंश छ यो छोरीमा, म यसकी जन्म दिने आमा नभए पनि एउटा असल आमा बन्नेछु।

हो, तपाईंसँग गुनासो अवश्य रहनेछ मप्रति। छोरीसँग तपाईंको भेट नगराउनुमा मेरो कुनै स्वार्थ छैन। मैले तपाईंको मनोविज्ञान बुझेको छु। छोरीलाई देखेपछि तपाईंमा अझै माया उर्लेर आउने छ जसरी छाल उर्लन्छ बगरलाई स्पर्श गर्न। तपाईंले छोरीसँगको विछोड सहन नसक्नु होला।

सम्झनामा तड्पिँदा र तड्पाइको रापले पोल्दा कस्तो अनुभव हुन्छ मैले राम्रोसँग भोगेकी छु। मेरो तरिका गलत भए मलाई माफ गरिदिनु होला। एउछी आमाको बाध्यतासँग कोख किन्ने दुस्साहस गरेँ, म सारै लज्जित छु। पुनश्चः छोरी भेट्न चाहनुहुन्छ भने तपाईंलाई भिसा पठाइदिन्छौं केही समयपछि। हामी कुरा गर्दै गरांैला। आफ्नो ख्याल राख्नु होला।’

तपाईंकी साथी  

क्रेजल

रेखा सिरानीले मुख छोपेर क्वाँ..क्वाँ..रुन थालिन्। आमा र  मैनबत्ती त उस्तै रहेछ। मैन आफैं जलेर अरुलाई उज्यालो दिन्छ। आफू स्वयम् भने अन्धकारमा रहन्छ। हो आमा पनि त्यस्तै त गर्छिन्। आफैं जलेर उज्यालो प्रवाह गर्छिन् तर आफू भने फगत अन्धकारमा रहन्छिन्।

रेखाका आँखा कुइरिमन्डलले ढपक्कै ढाके। मुस्किलले पत्र पढिसकिन्। बाग्मती अविरल बगिरह्यो। मौनता साँधेर टोलाउनुबाहेक अरु कुनै विकल्प थिएन त्यहाँ। आफ्नो प्रेमको चिनो छोरीको उज्वल भविष्यको कसी अनि पैसा देखेर पनि उनको अनुहारमा सूर्योदय हुन सकेन।

योजना र सपना सबै सबै नेपथ्यमा रहे। आफूले लगाएको हरियो गाउनलाई उनले पुलुक्क हेरिन्। त्यहाँ कतै गोजी थिएन। त्यो अस्पतालको गाउन कात्रोझैं देखियो। यही अस्पतालमा यही गाउन लगाएर लाखौं भगवानको प्यारो भएका छन्।

दुःख, कष्ट, लोभलालच, छल गरेर कमाएको सम्पत्ति पोको पारेर चितामा राख्न सकिन्न। मरेपछि धनसम्पत्तिको आवश्यकता पर्दैन भनेर नै कात्रोमा गोजी नबनेको होला सायद। रेखाको मनोबल गिर्दो थियो।

मनोविशादले ग्रस्त मस्तिस्कलाई छोरीको अबोध अनुहार हेरेर आफूलाई अवस्थासँग समायोजन गर्ने अथक असफल प्रयास गर्थिन् उनी। अस्पतालबाट घर फर्किएपछि मानसिक रुपमा केही ठिक भए पनि सुत्केरी शरीर भने गलेको र फुकेको थियो। व्यस्त रहन पुस्तक पढ्न थालिन्। फेसबुकमा रमाउन थालिन्।

फेसबुक र ट्वीटरमा अकाउन्ट खोलिन्। हिजोआज रेखा आफ्ना भावना त्यहीँ बिसाउँछिन्। उनले लेखेका स्टयाटसहरू अधिक सेयर हुन थाले। फ्रेन्ड रिक्वेस्ट अत्यधिक आउन थाल्यो। करिब बीस वर्षको जस्तो लाग्ने समिप नामको केटा त रेखाको लेखनको ठूलै फ्यान भएको छ।

रेखाको जन्मदिन पारेर एउटा कविता इनबक्स गर्यो उसले। त्यसपछि उनीहरूबीच कहिलेकाहीँ कुरा हुन थाल्यो। कुराको आयतन फैलिँदै गयो। व्यक्तिगत कुरा भए। रहर र चाहनाका कुरा भए। एकदिन समिपले भन्यो, ‘म कसैको प्रेममा परेको छु तर भन्न सकेको छैन।’

‘किन त? साँचो प्रेम हो भने भन्न ढिला नगर्नुस्।’

‘त्यो त हो। तर, डर लाग्छ कतै मेरो कुराले उनी रिसाउँछिन् कि वा मसँग बोल्नै पो छोड्छिन् कि।’

‘रिसाइन् भने फकाउने अनि बुझाउने जिम्मा तपाईंकै हो। धक नमानी एकपल्ट भन्नुस्। पक्कै सकारात्मक जवाफ आउने छ।’

‘ठिक छ म भन्छु तपाईं त्यसै भन्नुहुन्छ भने।’

‘म तपाईंलाई धेरै माया गर्छु रेखा। तपाईंसँग बिहे गर्न चाहन्छु। दिलकी रानी त देख्नेबित्तिकै बनाएको थिएँ अब घरकै रानी बनाउन चाहन्छु।’

‘उनको नाम पनि रेखा हो? कस्तो संयोग?’

‘हजुर। रेखा हो उनको नाम। त्यो रेखा तपाईं नै हो।’ 

‘के भन्दै छौ तिमी? दिउँसै तीनपाने धोक्यौ कि क्या हो? आफ्नो बोलीलाई लगाम देऊ। म तिमी भन्दा जेठी कसैकी पत्नी अनि कसैकी आमा हँु।’ 

‘मलाई थाहा छ रेखा। तपाईंको वास्तविकता।’ 

रेखाले संयमितता अपनाउँदै कुरा क्लियर गरेर समिपलाई ब्लक गर्ने सोच बनाइन्। 

‘म पुरुष जातलाई घृणा गर्छु। मेरो नजरमा सबै पुरुष नारी शरीरको भोको छ। प्रेम भन्ने चिज केवल भ्रम हो भ्रम। प्रेम र विवाहको नाउमा नारी शरीर मनलाग्दी भोग्न चाहन्छ पुरुष। आइन्दा मसँग यस्ता वाहियात कुरा नगर्नू।’

‘सबै पुरुष एउटै हुँदैनन्। समाज परिवर्तन गर्ने सोच राख्नु भएको तपाईंले सबै पुरुषलाई एउटै तराजुमा राख्न मिल्दैन।’

‘हेर समिप, मेरो लेखनलाई मैले नै मेरै व्यवहारमा उतार्नुपर्छ भन्ने छैन। तिमी कुरा बुझ आफ्नो भविष्य बनाउ। मन नबिथोल।’ 

‘तपाईंबिना मेरो भविष्य छैन। सपना छैन। खुसी छैन रेखा।’

‘चुप लाग तिमी,’ रेखा म्यासेन्जरबाट तुरुन्तै लगआउट भइन्। उनलाई धेरै दिन फेसबुक खोल्न मन लागेन ।

करिब दुई हप्तापछि फेसबुक खोल्दा समिपका धेरै म्यासेजहरू थिए। समिपको आशक्ति र आँशुलाई  आँखाले जति नै बेवास्ता गरे पनि रेखाको मनले धेरै दिनसम्म बेवास्ता गर्न सकेन। अन्ततः समिपको हातबाट रेखाको सिउँदो रङ्गियो। उनीहरूको जीवनमा अहिले इन्द्रेणी छाएको छ। छोराको निर्णयदेखि निराश भएर समिपलाई बेघर बनाइदिए उमानाथले। 

एउटै सन्तानको बियोगमा सावित्रीदेवीका आँखा ओभाना कहिल्यै भएनन्। नाति जन्मिएको खबर सुनेर उमानाथ दम्पत्ति आज नातिको मुख हेर्न आए। छोरालाई टाढैबाट हेरे। बुहारीलाई हेर्दै हेरेनन् तर भक्कानिएर नातिलाई छातीमा टाँसे। हिँड्ने बेलासम्ममा पनि छोरा बुहारी र नातिको माया पत्नीका आँखामा छचल्किएको देखेका उमानाथले मसिनो स्वरमा भने, ‘हिड छिटो घर जाऊँ बुहारीलाई भित्र्याउन अबेला हुन्छ।’ 

सबैको ओठमा मुस्कान छायो। समिपलाई अङ्गाल्दै उमानाथ दम्पत्ति रोइरहे। धेरैबेरसम्म उनीहरूको आँशुको भेल थामिएन। माया दगुर्दै आएर भनी, ‘हजुरहरू मेरो हजुरबुबा हजुरआमा हो है! दर्शन गरें हस मैले।’

मायाले लेग्रो तान्दै भनी, ‘बाबाले हजुरहरूको फोटो देखाउनु भएको थियो अस्ति नै। हजुरबुबा हजुरआमा, ममीले हजुरको फोटो ठूलो बनाएर अनि हाम्रो पूजा गर्ने ठाउँमा राख्नु भएको छ हेर्ने हो? आउनुस त।’ उमानाथकी श्रीमती आखाभरि आँशु बनाएर टोलएकी थिइन्। उमानाथले मेरी नातिनी खै कति ठूली भइछ भनेर जुरुक्क उचाले।

माया खितितिती.. हाँसी। उसको बालशुलभ हाँसो अनन्तसम्म गुन्जियो। 

‘अरे मेरी नातिनिको दाँत खोइ?’

‘बाबाले भन्नु भ’को मुसाले लगो।’

उमानाथकी श्रीमतीका ओठ थोरै तन्किए। अनन्त, अनन्तसम्म सबैको हाँसो गुन्जियो!


 

More form the Internet

loading...