Suvadin, Home

उपेन्द्र सुब्बाको ‘फरक जिन्दगी’

साहित्यकार राजन मुकारुङ, हाङयुग अज्ञातजस्ता दिग्गज साहित्यकारले साहित्यमा नयाँ प्रयोग गर्ने सिर्जनशील अराजकता अभियान सुरू गरे। त्यही अभियानमा उपेन्द्र सुब्बा पनि सामेल भए। ‘सिर्जनशील अराजकता अभियानको उद्देश्य परम्परागत शैलीलाई तोड्नु थियो,’ सुब्बा भन्छन्, ‘यहाँ आदिवासी, जनजाति छन्, सबै भाषा, लिपि र संस्कृतिलाई उठाऔँ भन्ने हो, सधैं साहित्यमा राम र सीताका विम्ब मात्रै प्रयोग गर्नु हुँदैन।’
उपेन्द्र सुब्बा।

काठमाडौं, फागुन १३- भगवान गौतम बुद्धले भनेका छन्, ‘हामी कोही अमर छैनौं भन्ने सत्य धेरैले महसुस गर्दैनन्, जसले महसुस वा आत्मसात गर्छन्, द्वन्द्व त्यहीँ अन्त्य हुन्छ।’ वास्तवमा यथार्थ यही हो। जसले मृत्युलाई सम्झिन्छ, जीवनलाई सही मूल्यमै थाहा पाउँछ। 

हाम्रो समाजमा जीवन र मृत्युका बारेमा कुरा गर्ने, बहस गर्ने र जीवनका बेग्लै आयामलाई पहिल्याउन खोज्नेहरूलाई साधु–सन्तको उपमा दिने गरिन्छ। यस्ता मानिस प्रायः पहेंलो वस्त्र र जट्टाधारी हुन्छन् पनि।

तर, हाम्रो समाजमा यस्ता मानिस पनि छन्, जसले गृहस्थमै रहेर, आफ्नो कर्मलाई निरन्तरता दिँदै विवेकपूर्ण जिन्दगी बाँचिरहेका छन्। त्यसको पछिल्लो उदाहरण हुन्, उपेन्द्र सुब्बा। उनी भन्छन्, ‘हामीले सोचेभन्दा फरक छ जीवन, म त्यही फरक आयामहरूलाई केलाउने कोसिसमा छु।’

वि.सं. २०३० साल वैशाख २९ गते मेची पहाडी जिल्ला पाँचथरको आङ्साराङ गाविसमा जन्मिएका उपेन्द्र सुब्बा नेपाली साहित्यिक आकाशका उदाउँदा नक्षत्र हुन्। वि.सं. २०५८ सालमा ‘डाँडामाथिको घामजुन र गड्तिरका राँकेभूतहरू’ कविता संग्रहबाट उदाएका सुब्बाले साहित्यका विभिन्न विधामा कलम चलाइरहेका छन्।

सात वटा पुस्तक प्रकाशित गरिसकेका छन् उनले ‘पूरानो डुङ्गा’ फिल्मको कथा उनैले लेखेका हुन्। लेखनमै व्यस्त रहेका सुब्बा उपन्यासको तयारीमा पनि छन्। उनी भन्छन्, ‘आमाको उपचारका लागि प्रकाशकबाट पैसा लिइसकेँ, उपन्यास लेख्ने सर्तमा।’ तर, उनले उपन्यास लेख्न थालेका छैनन्। कथा र पात्रको चयन गरिरहेको उनले बताए। 

‘पूर्वी पहाडको आदिवासी जनजाति, कला, सँस्कृति र मौलिक पहिचान उपन्यासमा झल्किने छ,’ सुब्बाले शुभदिनसँग भने। आमा हरिमाया आङदेम्बेको उपचार गर्न खर्च जुटाए। उपचार गरेका थिए।

तर, बिडम्बना आमालाई बचाउन सकेनन्, सुब्बाले। बुवा मेजरसिंह आङ्देम्बे पाँचथरमै छन्। वि.सं. २०५२ सालमा कल्पना लावतीसँग मागी विवाह गरेका उपेन्द्र सुब्बाका तीन छोरी छन्, काजल, लोजिना र मियिङ्मा। काठमाडौंमा पढ्दैछन् उनीहरू। सुब्बा अहिले राजधानीमै छन्, दोहोरो व्यस्तता छ उनलाई। 

‘उपन्यास अर्को वर्षको मंसिरसम्म प्रकाशनमा जानुपर्ने भएकाले तयारीमा व्यस्त छु,’ उनले बिहीबार साँझ भने, ‘दुई वटा लिम्बू भाषाको फिल्म र दुई वटा नेपाली फिल्म लेख्दै छु।’ उनका अनुसार वि.सं. २०७४ चैतसम्ममा उपन्यास पनि प्रकाशित हुने छ। पूरानो ढुंगाअघि कबड्डी–कबड्डी फिल्मको कथा पनि निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन्।

स्नातक तह पूरा नगरी पढाइ छोडेका सुब्बाले आइए इलाम क्याम्पसबाट पूरा गरे। वि.सं. २०४७ मा जयनारायण आदर्श मावि मेहेलबोटेबाट औसत विद्यार्थीका रुपमा एसएलसी पास गरेका सुब्बा स्नातक तहको पढाइका लागि दमक झरे। दमकको बसाइकै क्रममा उनले लेखन कार्यलाई थोरै गति प्रदान गरे। ‘तर, म कविता गोष्ठीहरूमा सहभागी हुन्न थिएँ,’ उनले भने, ‘त्यतिकै किताब निकालें।’ 

वि.सं. २०६० सालमा काठमाडौं आएका सुब्बा गीतकार पनि हुन्। गीत रेकर्डिङकै सिलसिलामा काठमाडौं पुगेका सुब्बालाई काठमाडौंमा केही साहित्यकारले साथ दिए। जसको बलले काठमाडौंमै केही गर्न सकिन्छ भन्ने आशा उनमा पलायो। राजन मुकारुङ र हाङयुग अज्ञातसँगको भेटले उनको साहित्यिक यात्रालाई अझै सशक्त बनायो।

लेखन कार्यको निरन्तरताका लागि साहित्यकार राजन मुकारुङले सुब्बालाई निरन्तर झक्झक्याइरहे। उनको लेखाइमा क्रमशः सुधार पनि हुँदै गयो। ‘पहिलो पुस्तकदेखि ‘लाटाे पहाड’सम्म आइपुग्दा धेरै अन्तर पाउँछु,’ प्राय वाक्य नै पिच्छे धक फुकाएर हाँस्ने सुब्बाले थपे, ‘हामी निरन्तर सिकाइमा हुन्छौं, कसले कति छिटो सिक्छ भन्ने मात्रै हो।’

सुब्बाको लेखन जति राम्रो छ, उनी त्यति नै अल्छी पनि छन्। लेख्न बसेपछि उनलाई के–के हुन्छ के–के। ‘म कस्तो घाँडो मान्छे छु भने राति लेख्न सक्दिनँ, प्रायः बिहान लेख्छु,’ सुब्बाले भने, ‘घरमा लेख्न नसकेरै नयाँ फिल्मको कथा पोखरा गएर लेख्दै छु।’ 

उनलाई अहिले उपन्यासको चिन्ता छ। वि.सं. २०७४ सालमा प्रकाशन गर्नुपर्ने उपन्यास लेख्नै थालेका छैनन्, सुब्बाले। ‘दुई वर्षभित्र लेख्छु भनेर पैसा खाएकै हो, लेख्ने अठोट चाहिँ छ,’ उनले दृढता प्रकट गरे।

उपेन्द्र सुब्बाका सृजनामा प्रायः पूर्वी पहाडको चित्र खिचिएको हुन्छ। किराँती कला र संस्कृतिको झल्को उनका कथा र कवितामा पाइन्छ। मौलिक विषयवस्तुको उठान, भट्टी साहुनी र जाँडसम्मको प्रसङ्ग र ग्रामीण जीवनलाई सरल ढंगले उठान गर्ने लिम्बूले आफ्ना सिर्जनामा चोटिलो व्यंग्य पनि मिसाउँछन्। ‘समयसँगै सोच्ने स्थितिमा फरक आउँछ,’ सुब्बा भन्छन्, ‘सुरुवातमा एकल चिन्तन हुन्थ्यो, अहिले सामूहिक चिन्तनले सृजना सशक्त हुन्छन्।’

साहित्यकार राजन मुकारुङ, हाङयुग अज्ञातजस्ता दिग्गज साहित्यकारले साहित्यमा नयाँ प्रयोग गर्ने सिर्जनशील अराजकता अभियान सुरू गरे। त्यही अभियानमा उपेन्द्र सुब्बा पनि सामेल भए।

‘सिर्जनशील अराजकता अभियानको उद्देश्य परम्परागत शैलीलाई तोड्नु थियो,’ सुब्बा भन्छन्, ‘यहाँ आदिवासी, जनजाति छन्, सबै भाषा, लिपि र संस्कृतिलाई उठाऔँ भन्ने हो, सधैं साहित्यमा राम र सीताका विम्ब मात्रै प्रयोग गर्नु हुँदैन।’

उनका अनुसार सिर्जनशील अराजकता अभियान जातिवादी नारा होइन। त्यस्तो कुनै अभिष्ट नरहेको पनि उनी बताउँछन्। ‘साहित्यमा सबैको भावना अँटाओस् भन्ने हो,’ उनी भन्छन्, ‘फेरि लेख्न बस्दा सिर्जनशील अराजकता अभियान मेरो दिमागमा आउँदैन।’

उपेन्द्र सुब्बाको लेखन जति सरल छ, उनको बोली र व्यवहारमा पनि त्यति नै सरलता पाइन्छ। ‘तपाईं त ठूलो साहित्यकार तर बढप्पन देखाउनु हुन्न नि?,’ उनले भने, ‘मलाई ठूलो हुँ जस्तो लाग्दैन, जीवन अवसर हो, सरल जीवन नै सही हुन्छ, ठूलो भएर के पाउनु?’

उनका अनुसार मानिसले जीवन बुझ्न मृत्यु बुझ्नुपर्छ। यो सोच आउनासाथ मानिसले नराम्रो नबोल्ने उनको तर्क छ। ‘जीवन नै सम्पत्ति हो, धन दौलत क्षणिक हो,’ उनी भन्छन् ‘प्रगतिशीलता आडम्बर मात्रै हो, यो कर्म महान होइन जति उहाँहरूले सोच्नु भएको छ।’

जीवनलाई हेर्ने सुब्बाको दृष्टिकोण फरक छ। भगवान गौतम बुद्धको महावाणी ‘मृत्युले त्यस्ता व्यक्तिलाई हुँदैन, जो विवेकपूर्ण जिन्दगी बाँच्छन्’ भन्ने भनाइसँग उनको जीवनसम्बन्धी धारणा पनि ठ्याक्कै मेल खान्छ।

‘जिन्दगीको परिभाषा त्यति सरल होइन, जति आम रुपमा गर्ने गरिएको छ,’ सुब्बाले थपे, ‘जीवन सूर्यको अंश हो, जीवन त्यो हो जुन हामीले बुझ्ने कोसिस नै गरेका छैनौं।’ जीवनलाई उनी पाठशाला भन्न रुचाउँछन्। जीवन ‘यस्तो हो’ ‘उस्तो हो’ भन्नेहरूसँग उनलाई वाक्क लागेर आउँछ रे।

बेलुका ९ बजे नै सुत्ने सुब्बा बिहान चाँडै उठ्छन्। बिहान केही लेखेर मात्रै बाहिर निस्किन्छन्। दिनभरिका गतिविधिले उनलाई साँझमा पिरोल्छ। ‘साँझमा म पछुताउँछु,’ उनी भन्छन्, ‘दिउँसो यस्तो नगरेको भए हुने भन्ने लाग्छ, बिहान पनि प्रार्थना गर्छु, धर्तीमा आएँ, त्यसका लागि ईश्वरलाई धन्यवाद दिन्छु।’

खाना खाने बेलामा पनि उनी प्रार्थना गर्छन्। ‘कसले उमार्यो, कसले कुट्यो, कसले मेरो भागसम्म ल्याइदियो, ती सबैलाई धन्यवाद दिन्छु,’ उनले भने। 


 

More form the Internet

loading...