Suvadin, Home

युवा संघका कार्यकर्तालाई पक्रेर जेल हाल

बितन्डा, विधंश र अराजकताले युवा सिर्जनशीलता कतातिर लर्खराउँदै छ विचारणीय छ। त्यो थोरै महसुस भएर पनि हुनुपर्छ, एमालेले हालसालै अब परीक्षा दिएर मात्र कार्यकर्ता भर्ती गर्ने चाँजो मिलाउन लागेको जानकारी दिएको थियो। आशा गरौं, एमालेको स्कुल विभागले ती बितण्डाकारी युवालाई कम्तीमा सडकमा उपद्रो गर्नु हुँदैन भनेर प्रशिक्षण दिने नै छ। 
बानेश्वरमा जलाइएको गाडी।

सम्पादकीय


बाँकेमा कार्यकर्तालाई खुुकुरी प्रहार भएको घटनाको केहीबेरमै एमाले निकट युवा संघका कार्यकर्ताले पुस १५ गते जंगली रुप देखाए। उनीहरूले बा.२झ. १३९२ नम्बरको सरकारी गाडी बानेश्वरको बीच सडकमा जलाए। सडकमा गुडिरहेको गाडी रोकेर आगो लगाउनु सामान्य दृष्टिमा अराजकता हो, बितन्डा र गुन्डागर्दी हो। बाँकेमा घटना हुँदा काठमाडौंमा निस्केर ताण्डव देखाउनु जरुरी थिएन। घटना घटिसकेपछि त्यसको न्यूनतम रित कानुनी प्रक्रियामा जाने हो, दोषी समात्न कानुनी निकायलाई सहयोग गर्ने हो। सडकमा निस्केर गाडी जलाउँदा कानुनी रित पूरा हुँदैन, बरू कानुनको खिलाप गरेको ठहरिन्छ, कारबाहीको भागिदारी बन्नुपर्छ।  युवा संघका जो-जसले सरकारी गाडी जलाएका थिए, उनीहरूलाई पक्रेर जेल हाल्नुपर्छ, सरकारी सम्पत्ति ध्वस्त पारेको मुद्दा चलाइनुपर्छ। अहिलेसम्म त्यो घटनाका दोषी को हुन् पहिचान नभएको खबरले अाश्चर्य पारिदिएको छ।  

हुन त महेश बस्नेत, राजीव पहारीहरूको स्कुलिङमा जन्मेहुर्केका युवासंघका ‘चेतनशील’, ‘ऊर्जाशील’ कार्यकर्ताले कानुन कति बुझेका होलान् त्यो उनीहरूमै सीमित छ। जनताको बहुदलीय जनवाद र मार्क्सवाद घोकाइएका कार्यकर्ताहरूको न्यूनतम् विवेक के हुनुपर्छ, सिर्जनशीलता के बन्नुपर्छ भन्ने कुरा पेचिलो बन्न पुगेको छ। बितन्डा, विधंश र अराजकताले युवा सिर्जनशीलता कतातिर लर्खराउँदै छ विचारणीय छ। त्यो थोरै महसुस भएर पनि हुनुपर्छ, एमालेले हालसालै अब परीक्षा दिएर मात्र कार्यकर्ता भर्ती गर्ने चाँजो मिलाउन लागेको जानकारी दिएको थियो। आशा गरौं, एमालेको स्कुल विभागले ती बितण्डाकारी युवालाई कम्तीमा सडकमा उपद्रो गर्नु हुँदैन भनेर प्रशिक्षण दिने नै छ। 

बुधबार काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले राजधानी बन्द गराएर उही अराजकताको छनक दियो। राजधानीमा सडक विस्तार विकासे परियोजना हो, यसले कतै विनाश र क्षति गरेको छ भने राज्यले क्षतिपूर्ति दिनुपर्छ। हामी घर बनाउँदा, घरको नक्सा पास गर्दा ध्यान दिँदैनौं। नाला, ढल र बाटो मिचेर घर बनाउँदा हामी खुसी हुन्छौं। कर्मचारीलाई घूस खुवाएर नक्सा पास गरी घरको क्षेत्रफल ठूलो पार्दा समाजमा हाम्रो इज्जत बढेको भान पर्छ। आज सडक विस्तार गर्दा त्यस्ता धेरै घर भत्किन पुगेका छन्। कम्तीमा हामीले पहिले नै यस्ता कुरामा ध्यान दिन सकेको भए सडकमा अहिले निस्केर बिलौना गर्नुपर्ने पक्कै थिएन। 

युवा संघको बितण्डा होस् या सडक विस्तारको बिरोधमा बन्द, दुबै अराजकतावादी मानसिकताबाट प्रेरित सोच हुन्। गल्ती कम–बढी होला, तर बन्द गरेर जनतालाई दुःख दिनु, सार्वजनिक सम्पत्ति, सरकारी सम्पत्ति नोक्सान गर्दा कसैको व्यक्तिगत मनोकांक्ष, क्षणिक स्वार्थ त पूरा होला तर त्यसले निम्त्याउने क्षति हो। लोकतन्त्रमा सबैलाई आफ्ना हक, अधिकार शान्तिपूर्वक राख्न पाउने अधिकार छ। बन्द हडतालले शान्ति र स्वतन्त्रताको घाँटी नमोठ्छ। यस्ता बन्द हडताल निरुत्साहित गर्न राज्य, जनता हातेमालो गरेर अगाडि बढ्न अति जरूरी भइसकेको छ। 


 

More form the Internet

loading...