Suvadin, Home

Cover Image

निराश भएर घर फर्कदै यार्सा संकलक, घट्यो उत्पादन

यतिबेला यार्सा खोज्न विशेष गरि मनाङ जिल्लाभित्र र बाहिरबाट मानिसहरू लेकमा छन् । पहिला पहिलाको जस्तै यार्सा नपाइएको देखेर उनीहरु चिन्तित छन् जबकी ऋण काडेर यर्सा टिप्न लेक छिरेका कैयौँ यार्सा संकलक ऋणमै घर फर्किरहेका खबर पनि प्राप्त हुन थालेका छन् । उसो त यर्साको उत्पादन घट्नुका विभिन्न कारण छन् ।

काठमाडाैं, जेठ २६ - हिमाली क्षेत्रमा बसोबास गर्ने बासिन्दाको आय आर्जनको प्रमुख आधार हो यार्सागुम्बा । तर, यार्सा संकलनबाट सिजनमा रामै आम्दानी गर्नेहरु पनि यस पटक भने निराश भई धमाधम घर फर्कन थालेका छन् । 

यार्सागुम्बाको ‘सिजन’ सुरु भएसँगै लेकतर्फ लागेका उनीहरु यो सिजनमा चाँडै घर फर्कन थालेका हुन् । विगतका वर्षजस्तै यस वर्ष पनि यार्सा संकलन क्षेत्रमा ३ महिनाका लागि सामानको ढुवानी गरि गाउँ नै रित्तो पारी लेकतर्फ लागेका थिए । 

यतिबेला यार्सा खोज्न विशेष गरि मनाङ जिल्लाभित्र र बाहिरबाट मानिसहरू लेकमा छन् । पहिला पहिलाको जस्तै यार्सा नपाइएको देखेर उनीहरु चिन्तित छन् जबकी ऋण काडेर यर्सा टिप्न लेक छिरेका कैयौँ यार्सा संकलक ऋणमै घर फर्किरहेका खबर पनि प्राप्त हुन थालेका छन् । उसो त यर्साको उत्पादन घट्नुका विभिन्न कारण छन् ।

हिउँपहिरोले यार्सा उत्पादन घट्दै

विगत वर्षभन्दा यो वर्ष यार्सा उत्पादन घटेको पाइएको छ । हिउँ पहिरोले यर्साको उत्पादनमा ह्रास आएको यर्सा संकलकको बुझाई छ । यस कारण मनाङमा अहिले छुट पुर्जीको सिजन सुरु भएको छ । नासों गाउँपालिकाको नाम्के लेखमा छुट पुर्जी सुरु भएको छ भने अन्य खर्कहरूमा सुरु हुने तरखरमा छ । हिमाली क्षेत्रमा मौसममा आउने परीवर्तनले जडीबुटीमा असर परेको अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ ।  

उसो त लामो समयसम्मको हिमपात अफसिजन र जलवायु परिवर्तनको असरले यर्सा लगायत हिमाली जडीबुटीमा असर पर्ने गरेको जानकार बताउँछन । जलवायु परिवर्तनले हिमरेखाहरू माथि सर्दै जानु हिउँपहिरोले खर्कहरु पुरिनु पनि यार्सा घट्नुका प्रमुख कारण हुन्  । लामो समयसम्म हिमपात हुनु र लेकहरूमा हिउँ नपग्लनुले पनि यार्सा उत्पादनमा असर गरेको पाईएको छ ।

यर्सागुम्बाको उत्पादनमा गिरावट आएसँगै राजस्व संकलनमा पनि कमी हुने भएको छ ।   यस्तै यार्सा संकलकले गर्ने फोहरका कारण यार्सा उत्पादनमा कमी हुँदै आएको देखिएको छ । यासा विस्तारै लोप हुदै गएको विज्ञहरूले औंल्याएका छन् ।

यार्साको अध्ययन अनुसन्धान छैन

हिमाली क्षेत्रका जनताको जीवन निर्वाहको माध्यम बन्न सफल यार्सागुम्बाको अध्ययन अनुसन्धान भने हुन सकेको छैन । यार्सागुम्बा कीरा र वनस्पति दुवैको व्यवहार देखाउँछ । यस्तो विशेष जडीबुटीको व्यवस्थित अनुसन्धान भने हुन सकेको छैन । यस्तो अवस्थामा यसको भविष्य कहिलेसम्म रहने हो भन्ने कुरा अनिश्चित बन्न गएको छ ।

यार्साको वैज्ञानिक अध्ययन त हुन सकेको छैन नै अन्य जडीबुटीको पनि अध्ययन अनुसन्धानमा जोड दिइएको छैन । सरकारले समग्र हिमाली क्षेत्रमा रहेका जडीबुटीको अध्ययन अनुसन्धान गर्ने प्रतिष्ठान नै गठन गरेर अघि बढ्नु आवश्य छ ।

हिमाली क्षेत्रमा पाइने अति महत्वपूर्ण जडीबुटीको विशेष अनुसन्धान नहुने हो र तिनको अवस्थालाई ख्याल गर्न नसक्ने हो भने त्यो क्षेत्रका अनेकौं जडीबुटी नष्ट हुँदै जाने देखिएको छ । यस्तो अवस्थामा जडीबुटीमा आधारित जनसंख्या त्यो क्षत्रबाट विस्थापित हुने खतरा बढ्दै गएको छ ।

निश्चित उचाइभन्दा तल पाइने यार्सा विषालु 

नेपालमा यार्सागुम्बा हिमाली भेगका सबै क्षेत्रमा थोरै–धेरै पाईन्छ । सबै क्षेत्रमा पाइने यार्सागुम्बा गुणस्तरयुक्त भने हुँदैनन् । निश्चित उचाइभन्दा तल पाइने यार्सा विषालु भएको समेत पाइएको छ । गुणस्तरका दृष्टिले उच्चस्तरीय, परिमाणको हिसाबले धेरै यार्सागुम्बा डोल्पाका पाटन क्षेत्रमा पाइन्छ । त्यहाँका ७० वटाभन्दा धेरै ठूला घाँसै मैदानमा यार्सागुम्बा पाईने गरेको यार्सा संकलकको भनाई छ । 
 
संकलकको स्वास्थ्य र सुरक्षामा ख्याल नहुनु 

यार्सा संकलन गर्ने क्रममा ठूलो संख्यामा बिरामी पर्ने, खेक लागेर मर्ने जस्ता समस्या भोग्नुपर्ने अवस्था छ । बिरामी पर्दा औषधि नपाएर मर्ने अवस्थालाई कम गर्न डोल्पा जिल्लाले विभिन्न क्षेत्रमा चिकित्सक टोली खटाएको बताए पनि पर्याप्त नभएको देखिएको छ । पर्याप्त पौष्टिक खानाको कमी, न्याना कपडाको कमी, पर्याप्त तातोपानीको कमीका कारण लेक लाग्ने तथा रुघाखोकी, झडापखाला फैलने गरेको छ ।

अर्को, यार्सा संकलनको क्रममा लुट्ने, आपसमा झगडा गरेर मारपिट गर्ने, बसेर तास खेल्ने र पछि लुट्ने प्रवृत्ति बढेर गएको देखिएको छ । यसलाई रोक्न सुरक्षाकर्मी खटाइएको बताइए पनि यस्ता घटना नरोकिएको सर्वसाधारणले बताएका छन् ।


 

More form the Internet

loading...