Suvadin, Home

Cover Image

सात ओटै प्रदेशको बजेट सार्वजनिक, कुन प्रदेशको कति ?

प्राय: सबै प्रदेशले कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

काठमाडाै‌, असार १ - सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि आ-आफ्नो बजेट सार्वजनिक गरेका छन् । स‌ंघीय संरचनामा मुलुक गएपछि स्थापित प्रदेशहरुको यो दोस्रो मौलिक बजेट हो । 

कुन प्रदेशको बजेट कति ?

 

प्रदेश १ :  ४२ अर्ब २० करोड  

प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरेका हुन् ।
चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको छ । अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार छुट्याइएको छ ।

बजेटको स्रोत मध्ये आन्तरिक राजश्व ३ अर्ब ८६ करोड उठाउने लक्ष्य छ भने राजश्व बाँडफाँटबाट प्राप्त हुने १० अर्ब ५२ करोड, अनुदानबाट २१ अर्ब २१ करोड व्यहोरिनेछ भने चालु आर्थिक वर्षको खर्च हुन नसकेको बजेट ६ अर्ब ६१ करोड रहने पूर्वानुमान छ ।

प्रदेश २:  ३८ अर्ब ७२ करोड ५६ लाख 

 प्रदेश २ को सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाखको बजेट प्रस्तुत गरेको छ।  आइतबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबले बजेट प्रस्तुत गरेका हुन् । 

कुल बजेटको चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार ( ४९. ८१ प्रतिशत) र पुँजीगत तर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार (५०. १९ प्रतिशत) विनियोजन गरेको छ । बजेटमा कृषि, उधोग, पर्यटनलाई विशेष जोड दिएको छ। 

प्रदेश ३:   ४७ अर्ब ६० करोड  

प्रदेश ३ सरकारले ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार को बजेट ल्याएको छ। कूल वियोजनमध्ये चालु तर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात् ५१ प्रतिशत,पूँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात् ४८ प्रतिशत र वर्त्तीय व्यवस्थाका लागि ३०करोड विनियोजन गरेको छ ।

गण्डकी प्रदेशः  ३२ अर्ब १३ करोड

गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट पेश गरेका हुन् ।

चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ । प्रदेश सरकारले ३ अर्ब २७ करोड ७५ लाख राजश्व उठाउने लक्ष्य राखेको छ भने बजेटको बाँकी श्रोतका रुपमा संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ७ अर्ब ११ करोड २२ लाख, सशर्त अनुदान ५ अर्ब ३५ करोड १६ लाख, समपुरक अनुदान ७५ करोड, विशेष अनुदान ७५ करोड, रोयल्टीबाट ४० करोड आउने अनुमान छ ।


प्रदेश ५ः ३६ अर्ब ४१ करोड  

प्रदेश ५ सरकारले कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोडको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा वैठकमा ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । गत वर्ष २८ अर्ब ९ करोड रुपैयाँको वजेट थियो ।

चालुतर्फ १३ अर्ब ४५ करोड ५ लाख – अर्थात ३६.९४ प्रतिशत र पुंजीगततर्फ १८ अर्ब ५७ करोड ६४ लाख अर्थात ५१.०१ प्रतिशत विनियोजन गरिएको छ ।
वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहलाई उपलब्ध गराइने सशर्त अनुदानतर्फ एक अर्ब ३८ करोड ९८ लाख छ ।

वित्तीय समानीकरण अनुदानतर्फ ५० करोड, समपूरक अनुदानतर्फ एक अर्ब ५० करोड र विशेष अनुदानतर्फ एक अर्ब गरी कूल ४ अर्ब ३८ करोड ९८ लाख रुपैयाँ छुट्टाइएको छ । वजेटकोस्रोतमध्ये आन्तरिक राजस्व ४ अर्ब ५९ करोड ४० लाख उठाउने लक्ष्य लिएको छ 


कर्णाली प्रदेशः ३४ अर्ब ३५ करोड  
  
कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आज प्रदेश सभा बैठकमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट सार्वजनिक गरेका हुन्।

प्रदेशले आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार रुपैयाँ र पूँजीगततर्फ वित्तीय व्यवस्थापनसमेत गरी २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेशले आगामी आवको बजेटका श्रोतका रुपमा आन्तरिक राजश्वबाट २५ करोड १० लाख ४१ हजार रुपैयाँ, चालु आर्थिक वर्षमा खर्च हुन नसकेको बाँकी रकमबाट ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार रुपैयाँ, संघीय सरकारबाट राजश्व बाँडफाँट गर्दा विनियोजन भएको ७ अर्ब ४४ करोड ४३ लाख रुपैयाँ स्रोतका रुपमा उल्लेख गरेको छ

सुदूरपश्चिम प्रदेशः  २८ अर्ब १६ करोड 

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री झपडबहादुर रावलले आइतबार प्रदेशसभा बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट पेश गरेका हुन् ।

चालु खर्चतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ ४० करोड र अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब १२ करोड २१ लाख ७२ हजार छुट्याइएको छ ।

प्रदेश सरकारले ८२ करोड ७५ लाख १७ हजार राजश्व उठाउने लक्ष्य राखेको छ भने बजेटको बाँकी श्रोतका रुपमा संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ७ अर्ब ९५ करोड २४ लाख, राजश्व बाँडफाँटबाट ८ अर्ब ४ करोड ६८ लाख ५५ हजार, सशर्त अनुदानबाट ४ अर्ब ५५ करोड ६ लाख, समपुरक अनुदानबाट १ अर्ब र विशेष अनुदानबाट १ अर्ब आउने छ ।

यस्तै चालु आर्थिक वर्षको खर्च हुन बाँकी बजेट ४ अर्ब ७८ करोड ५३ लाख ६३ हजार छ ।
 


 

More form the Internet

loading...