Suvadin, Home

Cover Image

नेपाल-चीन रेलवार्ता बेइजिङमा जारी

केरुङ-काठमाडौं रेलमार्ग परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा लाग्ने खर्च, यातायात सम्पर्क विस्तार, मानवीय तथा भौतिक सहयोग लगायत विषयमा छलफलका लागि बैठक बसेको हो ।

बेइजिङ, असार ५ - नेपाल-चीन रेलमार्ग सहयोगसम्बन्धी चौंथो बैठक बेइजिङमा बसेको छ । केरुङ-काठमाडौं रेलमार्ग परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा लाग्ने खर्च, यातायात सम्पर्क विस्तार, मानवीय तथा भौतिक सहयोग लगायत विषयमा छलफलका लागि बैठक बसेको हो ।

बैठकमा कुनै ठोस निर्णय हुन नसकेको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । पाँचौं द्विपक्षीय बैठक भने काठमाडौँमा आयोजना गर्ने सहमति बनेको छ ।

बैठकमा नेपालको तर्फबाट भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की नेतृत्वको टोली सहभागी भएको थियो । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रिय रेल प्रशासनका उपप्रशासक आन लुशङले गरेका थिए ।

उपप्रशासक लुशङले नेपालमा रेलमार्ग विकासका लागि दुईपक्षीय सहयोग बारेमा जानकारी दिए । उनले भने, ‘रेल सहयोगका लागि भइरहेका गतिविधि सन्तोषजनक विकसित हुँदै गएका छन् ।’

नेपाली प्रतिनिधिमण्डलका कार्कीले नेपाल र चीनबीच रेलमार्गमार्फत् यातायात सम्पर्क विस्तार गर्न नेपाल प्रतिबद्ध रहेको र अन्तरदेशीय सम्बन्धमा रेलको सम्पर्क सञ्जाल निकै उपयोगी हुने बताए ।

बैठकमा दुवै पक्षबीच नेपालमा रेलमार्ग क्षेत्रको विकासका लागि प्राविधिक ज्ञानको विकास एवम् मानवस्रोतको क्षमता अभिवृद्धि, रेलमार्ग इन्जिनियरिङसम्बन्धी अध्ययन र तालिमको व्यवस्था, क्रसबोर्डर रेलमार्गको सम्भाव्यता अध्ययनसम्बन्धी छलफल भएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।


 

More form the Internet

loading...