Suvadin, Home

Cover Image

नेपालको जीडीपी ५०१ खर्ब पुग्ने आँकलन

काठमाडौं,चैत्र १९ – आगामी १९औँ पञ्चवर्षीय योजनासम्म नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) पाँच सय एक खर्ब ३३ अर्ब पुग्ने अनुमान राष्ट्रिय योजना आयोगले गरेको छ ।  

नेपालको दीर्घकालीन सोचको खाकामार्फत नेपालको जीडीपी पाँच सय खर्ब नाघ्ने अनुमान गरिएको हो । सो अनुमान आर्थिक वर्ष २०७५/७६ को मूल्यमा प्रक्षेपण गरिएको हो। सो प्रक्षेपण हालको जीडीपीभन्दा १६३ गुणाले बढी हो । हाल नेपालको जीडीपी ३० खर्ब सात अर्ब रहेको छ। 

आयोगले वि.सं. २१०० अर्थात १९औँ योजनाको अन्त्यसम्म नेपालीको प्रतिव्यक्ति आय १२ हजार पाँच सय २४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । हाल प्रतिव्यक्ति आय सात सय ७२ अमेरिकी डलर रहेको छ। १९औँ योजनाको अन्त्यसम्म औसतमा आर्थिक वृद्धिदर १०.३ प्रतिशत पुग्ने दीर्घकालीन सोचमा उल्लेख गरिएको छ ।

सो अवधिसम्म आर्थिक वृद्धिमा उद्योगको योगदान १२ दशमलव २ प्रतिशत, कृषि क्षेत्रको योगदान चार प्रतिशत सेवा क्षेत्रको १० दशमलव २ प्रतिशत पुग्ने गरी योजना तथा कार्यक्रम अघि बढाउने राष्ट्रिय  योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले जानकारी दिए ।  दीर्घकालीन सोच २१०० सम्म जीडीपीमा कृषि क्षेत्रको योगदान घटाउँदै सेवा र उद्योग क्षेत्रको योगदानलाई बढाउने तयारी आयोगको छ ।

अबको २५ वर्षमा जीडीपीमा सेवा क्षेत्रको योगदान बढेर ५६ दशमलव १ प्रतिशत पु¥याउने लक्ष्य सरकारले लिएको छ। उद्योगको योगदान पनि बढेर ३६ दशमलव २ प्रतिशत पुग्ने अनुमान गरिएको छ । त्यतिबेला कृषिको योगदान भने जम्मा ७.६ प्रतिशतमा सीमित रहनेछ।

यो प्रक्षेपण प्रारम्भिक समस्टिगत आर्थिक प्रक्षेपणको उच्च परिदृश्य भएको उपाध्यक्ष कँडेलले बताए । यदि नेपालले सोचे जसरी कार्य सम्पादन गर्न सकेन भने पनि १९औँ योजनाको अन्त्यसम्म तीन सय ५८ खर्ब ५७ अर्ब जीडीपी पुग्ने अनुमान आयोगले गरेको छ।

 

 


 

More form the Internet

loading...