Suvadin, Home

Cover Image

कसरी नापिँदैछ सगरमाथाको उचाइ ?

जसरी विदेशीले राखिदिएको माउन्ट एभरेस्ट नामको साटो नेपालले आफ्नै मौलिक नाम सगरमाथाका रुपमा विश्वको अग्लो शिखरको गौरव पायो, त्यसरी नै अब सगरमाथाको उचाइ पनि विदेशीले होइन, आफ्नै प्राविधिकहरुबाट नापिँदैछ । अब विश्वले सगरमाथाको उचाइ आधिकारिक रुपमा नेपालले घोषणा गरेपछि थाहा पाउनेछ ।

काठमाडौं, बैशाख  २९- सरकारी टोलीले अबको १५ दिनभित्र विश्वको सर्वोच्च शिखरको आधिकारिक उचाइ नाप्ने यन्त्र सगरमाथाको टुप्पोमा राख्नेछ । कम्तिमा आधा घण्टा सगरमाथा शिखरमा ग्राउण्ड नेभिगेसन स्याटेलाइट सिस्टम (जिएनएसएस) राखेर हिउँ सतह र चट्टानी सतहको उचाइ मापन गरिनेछ ।

जसरी विदेशीले राखिदिएको माउन्ट एभरेस्ट नामको साटो नेपालले आफ्नै मौलिक नाम सगरमाथाका रुपमा विश्वको अग्लो शिखरको गौरव पायो, त्यसरी नै अब सगरमाथाको उचाइ पनि विदेशीले होइन, आफ्नै प्राविधिकहरुबाट नापिँदैछ । अब विश्वले सगरमाथाको उचाइ आधिकारिक रुपमा नेपालले घोषणा गरेपछि थाहा पाउनेछ ।

शनिबार विहान भूमि व्यवस्थामन्त्री पद्मा अर्याल र सचिव गोपी मैनालीसहित सरकारी अधिकारीहरु सगरमाथा आधार शिविरमा पुग्दा सगरमाथा नाप्न जाने टोली शिखर आरोहणको अन्तिम तयारीमा थियो । मन्त्रीको टोली अनुगमन तथा आरोही टोलीलाई प्रमाणपत्र वितरण गर्न आधार शिविर पुगेको थियो ।

उनीहरुका सहयोगी शेर्पाले क्याम्प टुसम्म बन्दोबस्तीका सामान राखेर फर्किसकेका थिए । नापी अधिकृत खिमलाल गौतमको टोली शिखर आरोहणको लागि उपयुक्त मौसम पर्खेर बसेको रहेछ ।

सगरमाथाको उचाइ नाप्न शिखरमा पुग्ने कार्य सामान्य होइन । जीवन जोखिममा राखेर नापी टोली एक महिनादेखि नै आधार शिविरमा छ । नेपालले पहिलो पटक सगरमाथाको उचाइ मापन गर्न लागेको हो । अहिलेसम्म सगरमाथाको उचाइ पाँचपटक मापन भएपनि सबै सर्वे नेपालले गरेको होइन ।

सगरमाथाको सबैभन्दा पहिलोपटक उचाइ भारतले मापन गर्दा सन् १९५० मा ८ हजार ८४० निकालेको थियो । त्यसको लगत्तै ३ वर्षपछि पहिलोपटक सगरमाथामा मानव पाइला पुगेका थिए । दोस्रोपटक भारतले नै सन् १९५४ मा मापन गर्दा ८ हजार ८ सय ४८ दशमलव १३ मिटर निकालेको थियो ।

सन् १९७५ मा चीन र इटलीले संयुक्त रुपमा गरेको मापनमा पनि सोही उचाइ कायम भएको थियो भने सन् १९९९ मा अमेरिकाले गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८५० मिटर देखिएको थियो । सन् २००५ मा चीनले पुनः मापन गर्दा ८ हजार ८४४ मिटर निकालिएको थियो ।

विभिन्न देशका फरक(फरक दाबी आउन थालेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरी त्यहाँ प्राप्त सुझावका आधारमा आधिकारिक रुपमा सगरमाथाको उचाइ मापन गर्न लागेको नापी विभागका प्रवक्ता दामोदर ढकालले बताए । यो टोलीमा नेशनल ज्योग्राफिक च्यानलका प्रतिनिधि बाहेक कुनै पनि विदेशी प्राविधिकहरु छैनन् ।

माडरदेखि शिखरसम्म यसरी नापिदै

सगरमाथाको उचाइ नाप्नका लागि सिरहा जिल्लाको माडरदेखि सगरमाथाको आधार शिविरसम्म विभिन्न प्रविधिहरु राखिएका छन् । जुन प्रविधि अन्तिममा सगरमाथाको टुप्पोमा समेत राखिनेछ । नापी विभागले बिभिन्न ठाउँमा फरक - फरक टोली राखेर विभिन्न प्रविधिबाट मापन गरिरहेको छ ।

अहिले सोलुखुम्बुको छोल्यामु डाँडो, पिके शव हिल स्टेशन, पात्तले डाँडाबाट प्रिसाइज लेबलिङको काम भइरहेको छ । सिरहाको माडरबाट समुद्र सतहको उचाइ लिएर शुरु भएको यो मापन सगरमाथाको टुप्पोमा पुगेपछि आधिकारिकता आउनेछ ।

प्राविधिकहरूले नेपाल-भारत सीमा नजिकैको माडरदेखि सगरमाथा वरपरका विभिन्न बिन्दुमा पुगेर भू-उपग्रहको सहायताले जमिनको अवस्थिति पत्ता लगाउने जीपीएस र गुरुत्वाकर्षण मापन गर्ने ग्राभिमिटर लगायतका उपकरणहरूको प्रयोग गरी मापन तथ्यांक संकलन गरेका छन् । सबै तथ्यांक संकलन भइसकेपछि सगरमाथाको उचाइ निकालिनेछ । सगरमाथा उचाइ मापनको धेरैजसो काम लगभग सकिएको छ । 


 

More form the Internet

loading...