Suvadin, Home

मौसम खुलेसँगै आठ आरोही सगरमाथा शिखरमा  

यो याममा सो हिमालमा भएको यो पहिलो आरोहण हो। यो आरोहणसँगै वर्षमा केही दिन मात्र अनुकूल हुने सगरमाथाको मौसम खुलेको अधिकारीहरूले बताएका छन्।

काठमाडाैं, बैशाख ३१ - विश्वको सर्वोच्च शिखर सगरमाथामा यो वर्षको वसन्त ऋतुमा पहिलो पटक आठ आरोहीहरू पुगेका छन्। उनीहरू साउथ कोलभन्दा माथि डोरी टाँग्दै मङ्गलवार दिउँसो पौने दुई बजे ८,८४८ मिटर अग्लो शिखरमा पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सगरमाथा आधार शिविरबाट बताइन्।

झन्डै ७,९०० मिटर उचाइमा रहेको चौथो शिविरसम्म डोरी टाँग्ने काम वैशाख १८ मै सकिएको थियो। 'यससँगै अब अन्यका आरोहीका लागि चुचुरो पुग्ने बाटो खुलेको छ ।' विभागकी निर्देशक आचार्यले भनिन्।

तिब्बततर्फ रहेको सगरमाथाको उत्तरी मोहडामा भने डोरी टाँग्न बाँकी रहेको छ। त्यसतर्फ आइतवार डोरी टाँग्न गएको टोली मौसम अनुकूल नभएको भन्दै फर्केको विवरण प्राप्त भएको छ।

मङ्गलवार बिहान पौने दश बजेतिर पाँच शेर्पाहरूको एउटा टोली डोरी टाँग्दै ८,५१६ मिटर अग्लो ल्होत्से हिमालमा पुगेको थियो। यो याममा सो हिमालमा भएको यो पहिलो आरोहण हो। यो आरोहणसँगै वर्षमा केही दिन मात्र अनुकूल हुने सगरमाथाको मौसम खुलेको अधिकारीहरूले बताएका छन्।

 

 

 


 

More form the Internet

loading...