Suvadin, Home

३८ लाखको कारोबार गर्दै गोदावरी मेला सम्पन्न

लक्ष भन्दा धेरै कारोबार भएपछि ब्यवसायी खुशी, प्रदर्शनीमा ३६ हजारभन्दा बढी अबलोकन ३८ लाखको कारोबार । 

ललितपुर,

फ्लोरिकल्चर एसोशिएसन नेपालको आयोजना तथा नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा कार्तिक १० गतेबाट आयोजना भएको गोदावरी मेला ३८ लाखको कारोबार गर्दै सकिएको छ । 

ललितपुरको जावलाखेल खेल मैदानमा ४ दिन सम्म चलेको १० औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ३६ हजारभन्दा बढी अबलोकनकर्ताले मेला अबलोकन गरेको र ३८ लाख बढीको कारोबार भएको  फ्लोरिकल्चर एशोसिएसन नेपालका उपाध्यक्ष तथा मेला संयोजक रामजी प्रसाद तिमिल्सेनाले जानकारी दिदै अपेक्षा गरेको भन्दा बढी कारोबार भएको बताए । गत बर्षहरुमा भन्दा यो मेलामा कारोबार उच्च भएको बताउँदै मुस्कान नर्सरीका संचालक तथा फ्यान सदस्य महेन्द्र सुवेदीले सोचेभन्दा राम्रो कारोबार गरको बताए । उनले गोदावरी, घरभित्र राखिने बिरुवा र फलफूलका बिरुवाको कारोबार धेरै भएको बताए । 

फ्लोरिकल्चर एसोशिएसन नेपालले हरेक बर्ष गर्ने गोदावरी मेलामा कारोबार र अबलोकनकर्ताहरुको बृद्धि भइरहेकोले पनि फूलमा जनमानसको चासो तथा आकर्षण बढ्दै गइरहेको अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । दिपावली तथा छठ पर्ब लक्षित गोदावरी मेलामा प्रतिश्पर्धात्मक, सूचनामुलक तथा व्यवसायीक स्टल गरि ४२ वटा स्टल रहेका थिए । 

मेलामा सहभागी व्यवसायीवीच इन्कर्भ, रिफ्लेक्स, स्पाइडर, मिनियचर र गोदावरीको कटफ्लावर बिधामा प्रतिश्पर्धा गराइ बिजयी हुनेलाई नगद, शील्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 
रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने मुल नाराका साथ मेला आयोजना गरिएको र फ्यानको मुख्य उद्येश्य तिहार पर्बको आकर्षणको रुपमा रहेको गोदावरी फूलको ब्यबसाय प्रवद्र्धन गर्नु रहेको थियो । 

आर्थिक बर्ष २०७२/७३ मा १ अर्ब ३४ करोडको कारोबार गर्न सफल पुष्प ब्यबसायले ४१ हजार भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको र ३९ जिल्लामा यसको कारोबार भइरहेको छ । 


 

More form the Internet

loading...