Suvadin, Home

व्यवसायिक तरकारी खेतीले बदलियो जीवन

बेलाबेलामा घरमै आएर परियोजनाले कृषि सामग्री, उन्नत जातका बीउबिजन र खेती गर्न आधुनिक प्रविधि सिकाएपछि व्यवसाय गर्न निकै सजिलो भएको सोतीको अनुभव छ। 
फाइल फाेटाे।

रामपुर (पाल्पा), वैशाख २९– रामपुर नगरपालिका–२ गाडाँकोटका रामबहादुर सोतीको दैनिकी हिजोआज एकाएक परिवर्तन भएको देख्दा सबै दंग छन्। 

आम्दानीका लागि निकै संर्घष गरेका सोतीलाई किसान परियोजनाले तरकारी व्यवसायमा लगानी गरिदिएपछि जीवन बदलिएको हो। 

परियोजनाले तीन वर्ष अगाडि तरकारी व्यवसायका लागि कृषि सामग्री, बीउबिजन सहयोग गरेपछि उनको आम्दानीको बाटो नै अहिले तरकारी व्यवसाय बनेको छ। 

बेलाबेलामा घरमै आएर परियोजनाले कृषि सामग्री, उन्नत जातका बीउबिजन र खेती गर्न आधुनिक प्रविधि सिकाएपछि व्यवसाय गर्न निकै सजिलो भएको सोतीको अनुभव छ। 

किसान परियोजनाले जिल्लाका ग्रामीण भेगका कृषकलाई लक्षित गरेर व्यवसायमा सहयोग गरेपछि उनी जस्ता धेरै कृषक व्यवसायमा लागेका हुन्।

परियोजनाले विशेष गरी ग्रामीण भेगका गरिब असहाय बेसहारा, जनजाति, दलित बस्तीमा पुगेर कृषि व्यवसाय गर्न हौसला प्रदान गर्दै लगानीसमेत गरिदिएपछि कृषकको आम्दानी गर्ने बाटो तरकारी व्यवसाय बनेको छ।

जिल्लाका दुई नगरपालिका र साविकका १६ गाविसका गाउँ तथा टोल टोलमा पुगेर समूह गठन गरी कृषकलाई सैद्धान्तिक, प्राविधिक ज्ञान सीप सिकाउँदै व्यवसायतर्फ उन्मुख गराउन सफल भएको परियोजनाले जनाएको छ। 

यस परियोजनाबाट जिल्लाका तानसेन र रामपुर नगरपालिका, साविकका गाविसहरु अर्गली, बौघापोखराथोक, चापपानी, चिदिपानी, चिर्तुङधारा, देउराली, गल्धा, हुँगी, खस्यौली, मस्याम, नायरनम्तलेस, पालुङमैनादी, पीपलडाँडा, पोखराथोक, तेल्घा र ठिमुरेका दुई हजार ७९४ घरधुरीका कृषक प्रत्यक्ष लाभान्वित भएका छन्। 

यस कार्यक्रमबाट सोचेभन्दा राम्रो प्रगति पाइएको परियोजना प्रमुख मेनुकुमार श्रेष्ठले बताए। ‘सुरुमा त लगानी खेर जाने हो कि भन्ने चिन्ताले सताएको थियो।

लगानीअनुसार उपलब्धि पनि राम्रो रह्यो, बजारबाट किनेर खाने कृषकले अहिले तरकारी उत्पादन गरेर बजारसम्म बिक्री गर्ने गरेको पाइएको छ,’ उनले भने। पाँच वर्षको अवधिको लगानी र उपलब्धि हेर्दा यहाँका कृषक निर्वाहमुखीबाट व्यवसायतर्फ उन्मुख भएको उनको भनाई छ।

परियोजनाले व्यवसाय गर्न जागरुक गराएपछि व्यवसाय थालेको हुगीका कृषक झविलाल पाठक बताउछन। उनले अहिले करिब १५ रोपनी जग्गामा तरकारीखेती थालेका छन्। वार्षिक रुपमा करिब १० लाख बराबरको आम्दानी गर्ने लक्ष्य लिएका छन्। 

बजारबाट किनेर खाने कृषकले घरमै तरकारी उत्पादन गरी बजारमा बिक्री गरेको देख्दा निकै खुसी लागेको परियोजनाका बजार प्राविधिक अशोक गुरुङ बताउछन। परियोजनाले समूहमार्फत विभिन्न कृषि सामग्री, आर्थिक रकम सहयोग गरेपछि व्यवसाय गर्न कृषकलाई सहज भएको रामपुरका अगुवा कृषक नारायणप्रसाद भण्डारी बताउछन। रासस
 


 

More form the Internet

loading...