Suvadin, Home

कोसेली बन्दै छथरको अकबरे खुर्सानी 

तेह्रथुमको छथर गाउँपालिकामा उत्पादन भएको अकबरे खुर्सानी कोसेलीको रुपमा परिचित बन्दै गएको छ।  यहाँ आएर फर्किने तथा देश विदेशमा रहनेले अकबरे खुर्सानी र यसका परिकारलाई कोसेलीको रुपमा प्रयोग गर्न थालेका हुन्। कृषकले व्यावसायिक रुपमा अकबरेखेती गर्न थालेपछि स्थानीयस्तरमै यसका विभिन्न परिकारसमेत तयार भइरहेका छन्। 
अकबरे खुर्सानी।

तेह्रथुम, असोज २५–  तेह्रथुमको छथर गाउँपालिकामा उत्पादन भएको अकबरे खुर्सानी कोसेलीको रुपमा परिचित बन्दै गएको छ। 

यहाँ आएर फर्किने तथा देश विदेशमा रहनेले अकबरे खुर्सानी र यसका परिकारलाई कोसेलीको रुपमा प्रयोग गर्न थालेका हुन्। कृषकले व्यावसायिक रुपमा अकबरेखेती गर्न थालेपछि स्थानीयस्तरमै यसका विभिन्न परिकारसमेत तयार भइरहेका छन्। 

केहीवर्ष अघिसम्म आफ्नै लागि किनेर खुर्सानी प्रयोग गर्ने किसानले अहिले व्यावसायिक खेती गर्दै यही पेशाबाट जीविकोपार्जन गरिरहेका छन्। अहिले यहाँ आउने आगन्तुकले फर्किर्नबेला खोजी गर्ने कोसेलीमा सबैभन्दा धेरैले अकबरे खुर्सानीको खोजी गर्छन्। 

चाडपर्व तथा विभिन्न काम विशेषमा छथर आउने जानेले कोसेलीको रुपमा अकबरे खुर्सानीको अचार लैजाने चलन बढेको छथर गाउँपालिका–६, सुदापकी कृषक शिवमाया खड्काले बताए। रासायनिक विषादी र मल प्रयोग नगरी किसानले उत्पादन गरेको अग्र्यानिक अकबरे खुर्सानी यहाँको अहिलेको सबैभन्दा लोकप्रिय कोसेली बनेको छ। 

यहाँको उत्पादन अग्र्यानिक र व्यावसायिक छ  त्यसैले देश विदेशमा छथरको अकबरे लोकप्रिय बन्न थालेको हो। छथरमा अकबरे खुर्सानीबाट जीविकोपार्जन गर्ने किसानको संख्या वर्षेनी थपिँदै छ। यहाँका अधिकांश किसानलाई व्यावसायिक र अग्र्यानिकखेती गर्न दलित सचेतना समाज नेपालले तालीम र बीउ पुँजी सहयोग गरेको छ। 

अकबरे खेतीमा शुरुमा महिला कृषकको मात्रै संलग्नता थियो। अहिले पुरुषले पनि यो खेतीमा मिहेनत गरेर आम्दानी गरेका छन्। व्यावसायिक खेती सुरु भएपछि गाउँमै यसको अचार बनाउने सीप सिकेका महिलासमेत धेरै रहेको सुदापकै किसान जनक दासले बताए। अकबरे खुर्सानी अहिले प्रति किलो तीन सयदेखि पाँच सय सम्ममा किनबेच भइरहेको छ । 

यहाँ उत्पादित अकबरे खुर्सानी पूर्वका धरान, विराटनगर, मोरङ, झापालगायत राजधानी र विदेशमा समेत निर्यात भइरहेको छ। तर, विशेषगरी कोसेलीको रुपमा विदेशतिर धेरै जाने गरेको किसान आफैँ बताउँछन्। छथर गाउँपालिकाका सबै वडामा अकबरे खुर्सानीको खेती भइरहेको छ। 


 

More form the Internet

loading...