Suvadin, Home
राजनीतिक दलका नेताहरु हरेक निर्वाचनमा भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पक्की पुल बन्ने आश्वासन दिन्छन्। तर, १८ वर्षदेखि चर्चा थालिएको यो पुल बन्ने÷नबन्ने अझै टुंगो छैन। जिल्ला आउने अधिकांश मन्त्री तथा नेताले दिने आश्वासन अब स्थानीयले पत्याउन छाडिसके। महाकाली नदीमा निर्माण गरिने भनिएको पुलको २०५५ देखि सर्भेक्षण मात्रै हुने गरेको छ। ९० मिटर लम्बाइको यो पुलको डिपिआर २०५६ मै बनेको हो। त्यसयता उल्लेख काम नभएको भन्दै स्थानीयले निरासा व्यक्त गरेका छन्।

विनोदसिंह विष्ट बैतडी, पुस २५


राजनीतिक दलका नेताहरु हरेक निर्वाचनमा भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पक्की पुल बन्ने आश्वासन दिन्छन्। तर, १८ वर्षदेखि चर्चा थालिएको यो पुल बन्ने÷नबन्ने अझै टुंगो छैन।

जिल्ला आउने अधिकांश मन्त्री तथा नेताले दिने आश्वासन अब स्थानीयले पत्याउन छाडिसके। महाकाली नदीमा निर्माण गरिने भनिएको पुलको २०५५ देखि सर्भेक्षण मात्रै हुने गरेको छ। ९० मिटर लम्बाइको यो पुलको डिपिआर २०५६ मै बनेको हो। त्यसयता उल्लेख काम नभएको भन्दै स्थानीयले निरासा व्यक्त गरेका छन्।

करिब डेढ सय वर्ष अगाडि इष्ट इन्डिया कम्पनीले नेपाल-भारत सीमा नाका झुलाघाटमा झोलुङ्गे पुल बनाएको थियो। त्यो पुल जीर्ण बन्दै गएपछि बैतडीलगायत सुदूरपश्चिमवासीले समस्या झेल्दै आएका छन्। सुदूरका पहाडी जिल्ला भित्रिने झुलाघाट पुरानो प्रवेशद्वार हो।

कर्णालीयता यातायातको सुविधा नपुगेका समयमा सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका सर्वसाधारणको राजधानी काठमाडौँ र भारत पस्ने प्रमुख नाका यही नै थियो। अहिले पनि यही नाका भएर दैनिक सयौँ स्थानीय बासिन्दा रोजगारका लागि भारतका विभिन्न सहर पस्ने गरेका छन्।

बेला-बेलामा सरकारका मन्त्री र उच्चपदस्थ अधिकारीले झुलाघाटमा पुल निर्माण गर्ने आश्वासन दिए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन। झुलाघाटमा बन्ने पुल सामरिक महत्वसँग जोडिएको छ तर काम अघि बढ्न सकेको छैन। झुलाघाटसम्म दुवै देशले पक्की सडक निर्माण गरे पनि मोटरेबल पुलका लागि तदारुकता नदेखाउँदा भारतको उत्तराखण्ड राज्यका नागरिकसमेत पीडित बनेको भारतको झुलाघाट व्यापार संघका अध्यक्ष सञ्जीव जोशीले बताए।

‘झुलाघाटमा पक्की पुल निर्माण नेपालीको मात्रै नभएर सीमावर्ती भारतीय नागरिकको पनि चाहना हो। यो पुल निर्माण भएपछि नेपालसँगको मित्रता अझ प्रगाढ हुनेछ र उत्तराखण्डवासीको नेपालसँगको व्यापार पनि वृद्धि हुनेछ,’ उनले भने।

पुल निर्माणका लागि आफूहरुले पनि उत्तराखण्ड सरकारलाई दबाब दिएको र केन्द्रीय सरकारबाटै रोकिएको उनले जानकारी दिए। भारतको उत्तराखण्ड राज्य सरकारले पनि सीमा नाकामा पुलका लागि पहल गर्दै आएको छ। तर, केन्द्रीय सरकारको स्वीकृतिबाट मात्रै पुल निर्माण प्रक्रिया अघि बढ्ने भएकाले दुबै देशबीच उच्चस्तरमै कुरा उठ्नुपर्ने बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताए। ‘सीमानाका झुलाघाटमा पक्की पुल निर्माण भए यो क्षेत्रको आर्थिक समृद्धि हुन्छ,’ उनले भने।

सुदूरपश्चिमका प्रसिद्ध पर्यटकीय धार्मिकस्थलमा भारतको उत्तराखण्ड राज्यबाट हजारौं पर्यटक आउने गरे पनि पुल नहुँदा सास्ती खेप्नु परेको अध्यक्ष चन्दको भनाइ छ। उनले प्रत्येक सरकारलाई पटक–पटक मोटरेबल पुल बनाउन माग गर्न थालेको दशकौँ बितेको बताए। सबैले आश्वासन मात्रै दिने गरेका छन्। पुल बन्ने छाँटकाँट अझै देखिएको छैन्। सीमा बजार झुलाघाटसम्म सडक सुविधा पुगेको १७ वर्ष भइसके पनि पक्की पुल नहुँदा आवतजावत गर्न सास्ती छ। उपचारका लागि झुलाघाट नाकाबाट बिरामीलाई बोकेर भारतीय सहर जानुपर्ने बाध्यता छ।

जिल्लाबाट मात्रै दैनिक दुई दर्जन बिरामी यही नाकाको पुल तरेर भारतको पिथौरागढ जाने गरेका छन्। हिँड्न नसक्ने, अङ्गभङ्ग भएका बिरामीलाई ओहोरदोहोरमा कठिनाइ हुने गरेको छ। जीर्ण पुल कतिखेर भाँचिने हो भन्ने त्रासले दुवै देशका सीमावासी त्रसित छन्। वर्षेनी  टालटुल पारेर पुल सञ्चालन गर्ने गरिएको झुलाघाटका व्यापारी केशवबहादुर बिष्टले बताए।

सीमानाकामा मोटरेबल पक्की पुल नभएका कारण भरियाले बोकेरै पुल तार्नुपर्ने भएपछि सामान आयात-निर्यात पनि महँगोमा हुने गरेको व्यापारी बताउँछन्। प्रतिकिलो सात रुपैयाँ भाडा तिरेर भरियाबाट सामान बोक्ने गरेकाले उपभोक्तालाई बढी मूल्य पर्ने गरेको देहीमाडाैंका व्यापारी मोहनबहादुर क्षेत्रीले बताए।

पुल बनाउन भारत सरकारले पटकपटक प्रतिबद्धता जनाए पनि नेपालतर्फबाट चासो नदेखाइएको बैतडी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खिमानन्द भट्टको गुनासो छ। नौ वर्षअघि उद्योग वाणिज्य संघ बैतडीले पुलको माग गर्दै १० हजार बैतडेलीको हस्ताक्षर संकलन गरेर नेपाल सरकार र भारतीय राजदूतावासमा बुझाएको थियो। ‘भारतीय राजदूतसँग पनि यो विषयमा कुराकानी भएको हो, नेपालका तर्फबाट कूटनीतिक पहल भएमा पुल बन्ने बताएकाले पुल निर्माणका विषयमा हाम्रै सरकारको कमजोरी रहेको छ,’ उनले भने।

बैतडी आउने नेतृत्व तहका व्यक्तिलाई सीमापुलका बारेमा गुनासो राखे पनि आश्वासन मात्रै पाइने गरेको स्थानीयवासीको गुनासो छ। ‘आश्वासन कैयौँ पटक पाइयो, तर प्रक्रिया अघि बढेको छैन,’ गोठालापानीका व्यापारी जनकराज जोशीले भने।

पुल निर्माणको ज्ञापनपत्र लिएर केही वर्षअघि भारतको प्रदेशीय राजधानी देहरादुन पुगेको बैतडी उद्योग वाणिज्य संघको टोलीलाई उत्तराखण्ड सरकारले पुल निर्माणका लागि छ करोड विनियोजन गरिसकेको जानकारी दिएको थिय। तर, नेपालका तर्फबाट प्रक्रिया अगाडि नबढाइएको भारतीय अधिकारीले गुनासो गरेको संघका अध्यक्ष चन्दले बताए। सीमानाका झुलाघाटमा पक्की पुल निर्माण भए बैतडीलगायत सुदूरपश्चिमको स्थानीय उत्पादनको बजार विस्तार र धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने निश्चित छ।

मध्यपहाडी लोकमार्गअन्तर्गतको अन्तिम बिन्दु झुलाघाटमा पक्की पुलको निर्माण गर्न सकिए भारतीय बजारमा थुपै्र नेपाली उत्पादन निर्यात गर्न सकिने व्यापारी चक्रदेव पाण्डेयले बताए। ‘झुलाघाटमा पुल बनेमा किसानको स्थानीय उत्पादनले पनि बजार पाउनेछ । यसले आर्थिक अवस्थामा सुधार आउनेछ,’ उनले भने। रासस


 

More form the Internet

loading...