Suvadin, Home

छुर्पी उद्योगबाट मासिक एक लाख आम्दानी

श्रम गरे आफ्नै गाउँ-ठाउँमा बसेरै मनग्य कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, हमरजुङ– ७ का ४७ वर्षीय अमरकृष्ण बस्नेत । छ वर्ष मलेसिया बस्दा उनले निकै दुःख पाए। घर जग्गा धितो राखेर उनी विदेश पुगे। ‘विदेश पुगेपछि गर्ने दुःख स्वदेशमै गरे त्यहाँ भन्दा राम्रो कमाइ गर्न सकिने रहेछ,’ बस्नेतले भने।
छुर्पी।

तेह्रथुम, फागुन १८- श्रम गरे आफ्नै गाउँ-ठाउँमा बसेरै मनग्य कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, हमरजुङ७ का ४७ वर्षीय अमरकृष्ण बस्नेत ।

छ वर्ष मलेसिया बस्दा उनले निकै दुःख पाए। घर जग्गा धितो राखेर उनी विदेश पुगे। विदेश पुगेपछि गर्ने दुःख स्वदेशमै गरे त्यहाँ भन्दा राम्रो कमाइ गर्न सकिने रहेछ, बस्नेतले भने।

मलेसियाबाट फर्केपछि अहिले उनले गाउँमै दुग्ध परिकार उद्योग खोलेका छन्।

सुरुमा चारजना साथीसँग मिलेर खोलेको सो उद्योग उनले एक वर्षदेखि आफ्नै एकलौटी बनाएर चलाइरहेका छन्। बस्नेतको दुग्ध परिकार उद्योगमा हाल छुर्पी, नौनी, र पनिर उत्पादन हुन्छ। उद्योगबाट मासिक करिब सात क्विन्टल छुर्पी, चार सय किलो नौनी उत्पादन हुने गरेको उनले बताए।

पनिर माग गरेअनुसार मात्रै बनाइन्छ। उत्पादित छुर्पी र नौनीका लागि बजारको कुनै समस्या छैन, घरैबाट बिक्री हुन्छ, उनले भने। उत्पादित छुर्पी इटहरी हुँदै काठमाडौं तथा अमेरिकातर्फ समेत निर्यात गरिन्छ। नौनी ऊर्लाबारी, विराटनगर, धरानलगायत सहरमा खपत हुन्छ।

हाल बस्नेतले छुर्पी घरैबाट प्रतिकिलो ८५० र नौनी प्रतिकिलो पाँच सयमा बिक्री गरिरहेका छन्। उद्योगबाट मासिक १० लाखसम्मको कारोबार हुने गरेको उनले बताए। सबै खर्च कटाएर एक लाखसम्म बचत हुन्छ।

प्रतिलिटर ४५ मा उनले दूध खरिद गर्छन्। उद्योगमा दैनिक ६ सय लिटरसम्म दूध खपत हुन्छ। सात लाख लगानी रहेको सो उद्योगमा दूध उमाल्ने, फटाउने, छान्ने, मेसिनमा पेल्ने, क्रिम काट्ने, आगोमा सुकाउने, काटेर टुक्रा पार्नेलगायतका काममा चार जनालाई रोजगारी समेत मिलेको छ। रासस


 

More form the Internet

loading...