Suvadin, Home

रावाखोला जलविद्युत् आयोजना ८० प्रतिशत सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ७० र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत लगानीमा उत्पादन हुने तीन मेगावाट क्षमताको साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ। 

खोटाङ, ८ माघ- केपिलासगढी गाउँपालिकाको सुङ्देलबाट उत्पादन गर्न लागिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ।

राष्ट्रिय वाणिज्य बैंकको ७० र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत लगानीमा उत्पादन हुने तीन मेगावाट क्षमताको साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ। 

सुङ्देलको दाम्कुबेँसीमा पानी खसालेर उत्पादन गरिने विद्युत् आयोजनाको पावरहाउस, हेडड्रेस, पाइपलाइनलगायत ठूला काम अन्तिम चरणमा पुगेको रावा इनर्जी डेभलपमेन्ट प्रालिका सञ्चालक मुक्ति तिम्सिनाले जानकारी दिए।

“आगामी असार मसान्तभित्र विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको छ”, उनले भने, “उत्पादित विद्युत् सिधै केन्द्रीय प्रसारण लाइनमा जडान गरेर वितरण गरिनेछ।” 

करीब दुई हजार १०० मिटर माथिबाट पानी झारेर विद्युत् उत्पादन गरिने उक्त विद्युत् आयोजनामा अहिले एक हजार मिटरभन्दा बढी पाइपलाइन बिच्छ्याउने काम सम्पन्न भएको छ। दाम्कुबेँसीमा रहेको विद्युतगृहको काम भने अन्तिम चरणमा पुगेको सञ्चालक तिम्सिनाको भनाइ छ। 

आयोजनाको विद्युतगृह, हेड, पाइपलाइन, एङ्कर ब्लकलगायत सिभिल कन्स्ट्रक्सनको काम ट्रिपल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, जेनेरेटर, टर्बाइन, ट्रान्सफरमर, प्यानल उपकरण जडानलगायत इलेक्ट्रोनिक मेकानिकलको काम सिमर इनर्जी र इञ्जिनीयरिङको काम युनिट्स इञ्जिनियरिङ कन्सल्टेन्सीले जिम्मा लिएका छन्।

दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको बाक्सिलास्थित सबस्टेशनमा जडान गरिने विद्युत्को अहिले हेडमा सेटलिङको काम तीव्र गतिमा भइरहेको छ। 

माथिल्लो रावाखोलाकै पानी प्रयोग गरेर हौंचुर र जालपाकोबीचबाट पनि ६.५ मेगावाटको रावाखोला हाइड्रोपावर उत्पादन गर्ने गरी काम अगाडि बढाइएको छ। 

दश स्थानीय तह रहेको जिल्लामा सानाठूला गरी दर्जन बढी विद्युत् आयोजना सञ्चालनमा रहेका छन्। विसं २०५७ जेठ २ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको केन्द्रीय प्रसारणलाइनको विद्युत् हालसम्म जिल्लाको साविक ४४ गाविसमा मात्र विस्तार भएको छ। 

दुई नगर र आठ गाउँपालिका रहेको खोटाङमा अहिलेसम्म १२ हजार ३२४ घर विद्युत् उपभोक्ता रहेका छन्। तीन वर्षअघिबाट ३३ केभी क्षमतामा विस्तार गरिएको विद्युत् पछिल्लो समय अवरुद्ध हुनेक्रम हट्दै गएको छ।रासस
 


 

More form the Internet

loading...