माछापालनतर्फ किसान आकर्षित, पर्याप्त आम्दानीको श्रोत

पर्वत, २८ भदौ – पर्वतका किसान माछापालनतर्फ आकर्षित भएका छन्। पर्याप्त आम्दानी लिन सकिने भएपछि किसान त्यसतर्फ आकर्षित भएका हुन्।
मोदी गाउँपालिका–२ का वडाध्यक्ष विकास तिमिल्सिना र बागलुङको धौलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक यामप्रसाद शर्माले माछा बिक्रीबाट एउटै याममा रु ६० लाख आम्दानी गरेका छन्। उनीहरुले सञ्चालन गरेको फार्ममा उत्पादित माछा पोखरा तथा काठमाडौंसम्म बिक्री हुने गरेको छ। सो फार्मको कारोवार बढेपछि अन्य किसानसमेत माछापालनतर्फ आकर्षित भएका छन्।
ट्राउट माछा खरिद गर्न व्यापारी मोदी गाउँपालिका–२ देउपुरको पातीखोलास्थित ‘रेन्बो ट्राउट माछा फार्म’मै पुग्छन्। सो फार्मले एउटै याममा ६ टन माछा बिक्री गरेको छ। ट्राउट माछाको माग अत्यधिक छ। ट्राउट माछा प्रतिकिलो रु एक हजारदेखि रु एक हजार २ सय सम्ममा बिक्री भइरहेको छ। शर्माले पाँच वर्षदेखि सो फार्म सञ्चालन गर्दै आउनु भएको छ। दुई वर्षअघि बाढीले माछापोखरी बगाएपछि संरचना पुनःनिर्मण गरिएको हो।
शर्मा र तिमिल्सिनाले उक्त फार्मबाट पहिलो वर्ष रु पाँच लाख आम्दानी गरे। फार्मसम्म सडक सुविधा नहुँदा पोखरीको माछा बिक्रीका लागि बजारसम्म पुर्याउन समस्या हुने गरेको छ। पातीखोला नजीकैको अम्बोटमा स्थानीयवासी लालबहादुर हरिजनले ६ वर्षदेखि नमूना व्यावसायिक फार्म सञ्चालन गरेका छन्। पोखराबाट माछाको माग अत्यधिक आउने गरेको छ। गत साता ६ क्विन्टल माछा पोखरा लगेर बिक्री गरेको उनले बताए।