Suvadin, Home

ठेकेदार विवादले गौतमबुद्ध विमानस्थल निर्माण रोकियो

राष्ट्रिय गौरबको आयोजनामध्येको गौतमबुद्ध विमानस्थलको निर्माण कार्य रोकिएको छ।  निर्माणको ठेकेदार चाइनिज कम्पनी र नेपाली ठेकेदारबीच विवाद बढेपछि विमानस्थलको अबको निर्माण कार्य नै के हुने भन्नेमा अन्योल भएको छ।

बुटवल, चैत ९- राष्ट्रिय गौरबको आयोजनामध्येको गौतमबुद्ध विमानस्थलको निर्माण कार्य रोकिएको छ।  निर्माणको ठेकेदार चाइनिज कम्पनी र नेपाली ठेकेदारबीच विवाद बढेपछि विमानस्थलको अबको निर्माण कार्य नै के हुने भन्नेमा अन्योल भएको छ।

निर्माण सामग्री, मजदुर र उपकरण प्रदान गर्दै आएको नेपाली ठेकेदार कम्पनी नर्थ वेष्ट इन्फ्रा नेपालले मुख्य ठेकेदार चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले रकम भुक्तानी रोकेको भन्दै आपूर्ति बन्द गरेको थियो।
 
दुबै कम्पनीका बीचमा मंगलबार छलफल भएपछि नेपाली ठकेदार कम्पनी बाहिरिने भएको छ। अहिलेसम्मको निर्माणको नापजाँच पाँच दिनभित्र गर्ने र सात दिनभित्र रकम भुक्तानी गरेपछि दुई कम्पनी अलग–अलग हुने परियोजना प्रमुख इञ्जिनियर ओम शर्माले बताए। रकम लेनदेनको विषयमा दुबै कम्पनीबीच विवाद बढेपछि विगत पाँच दिनदेखि गौतमबुद्ध विमानस्थलको काम ठप्प भएको छ।

२०१७ को डिसेम्बरभित्रै सक्नुपर्ने योजना ठेकेदारहरूबीचको विवादले अनिश्चित बन्दै गएको आयोजनाका प्रमुख ओम शर्माले बताए। उनले निर्माण सुरू हुने विषय पनि अन्योलमा रहेको बताए। ठेकेदार कम्पनीबीचको विवाद मिलाउनका लागि सोमबार साँझ दुई कम्पनीका पदाधिकारी, एसियाली विकास बैंक, मन्त्रालयका पदाधिकारीबीच बैठक बसेको थियो। विमानस्थल निर्माणको २५ महिनामा २७ प्रतिशत मात्र प्रगति भएको छ। जसका लागि विमानस्थल निर्माण परियोजनाले १ अर्ब ६७ करोड भुक्तानी दिएको छ।

मुख्य ठेकेदार चिनियाँ कम्पनीबाट निर्माण सामग्री आपूर्तिकर्ता नेपाली नर्थ वेष्टले हालसम्म ५२ करोड भुक्तानी पाएको दाबी गरेको छ। यता विमानस्थलको काम नरोक्न भन्दै भैरहवा क्षेत्रका नागरिक समाजले ठेकेदार कम्पनी र आयोजनालाई आग्रह गरेका छन्। भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल समयमै सम्पन्न गर्न भैरहवा क्षेत्रका नागरिक समाजका अगुवाहरूले आयोजनालाई आग्रह गरेका छन्।

निर्माण कार्यमा खटिएका करिब दुई सय कर्मचारीहरूले विगत चार महिनादेखि काम गरेको पारिश्रमिक पाउन नसकेको भन्दै ६ दिनदेखि निर्माण कार्य ठप्प पारेका छन्। मंगलबार भैरहवा मर्निङ वाक ग्रुपद्वारा भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने नागरिक समाजका अगुवाहरूले कुनै पनि अवस्थामा तोकिएको समयमा विमानस्थल निर्माण पूरा गर्न आग्रह गरेका हुन्। अन्तरक्रियामा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार एवं नागरिक समाजका अगुवा निधानचन्द्र श्रेष्ठले यो वा त्यो बहानामा विमानस्थल निर्माण कार्यलाई रोक्न नहुने बताए। विमानस्थल निर्माणमा भइरहेको विवादको कारण सर्वसाधारणलाई जानकारी दिइनुपर्ने बताए।

साहित्यकार विजय सागरले एकचोटि समय थप भइसकेको बखत फेरि निर्माण कार्यमा अवरोध हुनुले थपिएको समयमा पनि निर्माण सम्पन्न हुनेमा शंका पैदा भएको बताए। उनले विमानस्थल रुपन्देहीबासीको गौरब भएको बताउँदै कसैलाई दोषी देखाएर निर्माण कम्पनीले निर्माण कार्यलाई रोक्न नहुने बताए। गु्रपका अध्यक्ष ओमकार गौचनले यस क्षेत्रको समग्र विकाससँग जोडिएको विमानस्थल निर्माणमा आयोजना वा निर्माण कम्पनी कहीकसैले पनि खेलवाड गर्न नपाइने बताए। कसैले आफ्नो स्वार्थपूर्तिका लागि निर्माणमा अवरोध गर्छ भने नागरिक समाजले त्यसको प्रतिवाद गर्ने बताए।

नागरिक अगुवा भरतकुमार पोखरेलले बुद्ध र बुद्धसँग जोडिएका क्षेत्रलाई समेत विमानस्थल निर्माणले प्रभाव पार्ने भएकाले निर्माणमा ढिलाइ गर्ने कम्पनीलाई झकझक्याउनु पर्ने बताए। सो अवसरमा पत्रकार चेतन पन्त, सिद्धार्थ होटल एशोसियसन नेपाल सानका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ लगायतले जुनसुकै अवस्थामा विमानस्थल निर्माणको काम अगाडी बढाउन आग्रह गरे। अन्तरक्रियामा उठेका प्रश्नहरूण्को जवाफ दिँदै विमानस्थल आयोजना प्रमुख इञ्जिनियर ओम शर्माले विगत छ दिनदेखि निर्माण कार्यमा अवरोध भएको स्वीकार्दै अबको एक हप्ताभित्र निर्माण कार्यले गति लिनेमा आफू विश्वस्त रहेको बताए।

उनले निर्माण कम्पनीले समयमै काम सक्नेमा आफूलाई शंका रहेको बताउँदै विगत केही दिनदेखि काम बन्द हुनुमा निर्माण कम्पनीहरुकै आन्तरिक द्वन्द्व भएको बताए। शर्माले विमानस्थल निर्माणको जिम्मा लिएको नर्थ वेष्ट सिभिल एभिएसन प्रा.लि. आफैंले रोजेको नेपाली निर्माण कम्पनी नर्थ वेष्ट नेपाल इन्फ्रा प्रा.लि.लाई कामको जिम्मा दिएकोमा अहिले कम्पनीबीचको आन्तरिक कलहका कारणले निर्माणमा अवरोध गर्न नहुने बताए।

उनले चिनियाँ ठेकेदार कम्पनीले नियम विपरित नेपाली सब कन्ट्रयाक्टरसँग सम्झौता गरेका कारण पनि अहिले आएर दुई कम्पनीबीच विवाद चुलिएको बताए। शर्माले यस क्षेत्रको विकास भएको देख्न नचाहने विभिन्न क्षेत्रका व्यक्तिहरूले चलखेल गरिरहेकाले विमानस्थल समयमै निर्माण नहुने पक्कापक्कीजस्तै भएको बताए।

सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्ने गरी सुरू गरिएको बिमानस्थल निर्माणमा विभिन्न कारणले अवरोध भएको भन्दै २०१८ को जुनसम्म समय थप गरिएको छ। अहिले विमानस्थलको जम्मा २७ प्रतिशत निर्माण कार्य पूरा भएको छ।


 

More form the Internet

loading...