Suvadin, Home

ताप्लेजुङका उम्मेदवारका एजेण्डा
चुनावी नारामा चीन–नेपाल–भारत जोड्ने तमोर करिडोर !

तमोर करिडोरले पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटालाई छोटो दूरीमा तराईसँग जोड्छ। तमोर करिडोर सञ्चालनमा आउनासाथ जिल्ला व्यापारिक केन्द्र बन्ने उम्मेदवारहरुको दाबी छ। 
काबेली नदी।

हरि लामिछाने/सन्तोष पुर्कुटी (रासस), ताप्लेजुङ, मंसिर ६ – उत्तरी छिमेकी मुलुक चीनको सिमाना टिपताला भञ्ज्याङदेखि विराटनगर रानीसम्मको २७५ किलोमिटरको राजमार्ग (तमोर करिडोर) निर्माणलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले चुनावी नाराका रूपमा अगाडि सारेका छन्।

पहिलो चरणको निर्वाचनअन्तर्गत यही मंसिर १० गते हुने निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलका उम्मेदवारले चुनाव जित्ने रणनीतिस्वरूप यस करिडोरलाई मुख्य मुद्दाका रूपमा उठाएका हुन्।

चीन, नेपाल र भारतलाई जोड्ने प्रदेश नम्बर १ को मुख्य रणनीतिक योजनामा सरकारले अगाडि बढाएको यस राजमार्गको निर्माण कार्यलाई तदारूपताका साथ अगाडि बढाउने भन्दै दलका नेता जनताको घरदैलामा व्यस्त छन्।

सांसद विकास कोष तथा साविकको ओलाङ्चुङगोला गाविसको अनुदान र स्थानीयको सहयोगले टिपताला हुँदै ओलाङचुङगोलासम्मको २१ किलोमिटर ट्रयाक यसअघि नै खोलिएको छ। करिडोरअन्तर्गत धनकुटाको मूलघाटदेखि माझीटार छेउसम्मको ७५ किलोमिटरमध्ये करिब ५० किलोमिटर सडकमा अहिले नियमित सवारीसाधन चल्न थालेका छन्। 

तमोर करिडोरको निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउने र त्यसलाई पूरै प्रदेशको समृद्धिका लागि उपयोग गर्ने रणनीतिमा ताप्लेजुङ जिल्ला महत्वपूर्ण हुने भएकाले पनि यो आयोजना उम्मेदवारको प्राथमिकतामा परेको हो। 

माझीटारदेखि ताप्लेजुङको दोभानसम्म करिब ३५ किलोमिटरमध्ये आठ किलोमिटर ट्रयाक खुल्न बाँकी छ। तमोर दोभानदेखि ओलाङचुङगोलासम्मको विभिन्न खण्डमा गरी ४० किलोमिटर सडकको ट्रयाक खोल्नुका साथै स्तरोन्नति गर्ने दलका उम्मेदवारको घोषणापत्रमा उल्लेख छ। 

तमोर करिडोरले पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटालाई छोटो दूरीमा तराईसँग जोड्छ। तमोर करिडोर सञ्चालनमा आउनासाथ जिल्ला व्यापारिक केन्द्र बन्ने उम्मेदवारहरुको दाबी छ। 

प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहालले ताप्लेजुङ हुँदै चीन र भारतको सिमाना जोड्ने सडक निर्माणलाई विशेष प्राथमिकता दिने योजना आफ्नो पार्टीको मुख्य मुद्दा हुने बताएका छन्।

उनले मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण सडक आयोजनाका निर्माण कार्यलाई प्राथमिकता दिई पर्यटन विकासका लागि कञ्चनजंघा बेसक्याम्प, तिम्बुङ पोखरी, तोक्पेगोलाजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। 

आठ हजार ५८६ मिटर उचाइमा रहेको कञ्चनजंघा हिमाल संसारकै तेस्रो उच्च हिमाल हो। यो हिमाल आरोणका लागि विश्वभरबाट आरोही नेपाल आउने गरेका छन्, पर्यटकका लागि यो आकर्षक केन्द्र पनि बनेको छ। 

वाम गठबन्धनको साझा उम्मेदवारका रूपमा नेकपा (एमाले)का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, 'कृषि र पर्यटनको क्षेत्रमा बृहत् योजनाका साथ काम गरी यहाँका उत्पादनलाई दुवै छिमेकी देशतर्फ निर्यात गर्न सके जिल्लाको अर्थतन्त्रमा सुधार गर्न सकिन्छ।' 

जिल्लाको समृद्धिका लागि तमोर करिडोरको निर्माण गरी त्रिदेशीय व्यापारको शुरुवात प्रमुख भएको बताउँदै उनले ताप्लेजुङसहित प्रदेश नम्बर १ को समृद्धिको ढोकाको रूपमा रहेको उक्त करिडोरलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यहाँका राजनीतिक दलहरूले ग्रेट हिमालयन ट्रेल (ताप्लेजुङ–दार्चुला) पदमार्गका साथै तल्लो पदमार्ग पाथीभरा, कञ्चनजंघा हुँदै मकालुसम्म पुग्ने पदमार्गलाई व्यवसायीकरण गर्नेदेखि तमोर नदीमा व्यावसायिक र्याफ्टिङ सञ्चालन गरेर पर्यटक आकर्षित गर्नेसम्मका योजना अगाडि सारेका छन्। 

पाथीभरा मन्दिरसम्म केबुलकार सञ्चालन गर्ने, उक्त क्षेत्रमा पदमार्ग निर्माण गर्ने, किराँत तथा बौद्ध धर्मावलम्बीको ऐतिहासिकस्थलको पहिचान र संरक्षण गरी धार्मिक पर्यटनमा जोड दिनेजस्ता नारा लिएर दलहरू जनत सामु पुगेका छन्। 

मुख्य नगदेबाली अलैँचीको प्रवर्द्धनका लागि अलैँची विकास बोर्ड स्थापना, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र खोल्नेसम्मका योजना दलका घोषणापत्रमा उल्लेख छन्। यस्तै जिल्लाका सबै स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल, क्याम्पस सञ्चालन, बैंक तथा वित्तीय सस्था सञ्चालन, खेलमैदान निर्माण, सञ्चार तथा इन्टरनेट सेवाको पहुँच विस्तारजस्ता नारासमेत दलहरूको घोषणापत्रमा समेटिएका छन्। 

मुख्यत वाम गठबन्धन र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने भएकाले उनीहरूले नै प्रचारप्रसार तथा राजनीतिक र विकासका मुद्दालाई जनतासमक्ष पुर्याइरहेका छन्। निर्वाचनको दिन नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवारले जिल्लाका विकट गाउँमा आफ्ना चुनावी अभियान चलाएका छन्। जिल्लामा विभिन्न नौ दलका २३ जना उम्मेदवार चुनावी मैदानमा छन्। 

भौगोलिक रूपमा मुलुककै तेस्रो ठूलो जिल्ला भएकाले यहाँका राजनीतिक दललाई ग्रामीण भेगमा गएर आफ्ना मुद्दा जनतामा पुर्याउन कठिन छ। एक लाख २७ हजार ४६१ जनसंख्या रहेको यस जिल्लामा यो पटक ७८ हजार ३९७ ले मतदान गर्दैछन्। निर्वाचन आयोगले ७३ मतदानस्थल र ११४ मतदान केन्द्र निर्धारण गरेको छ।


 

More form the Internet

loading...