Suvadin, Home
Bridge Water

कञ्चनपुरका परिश्रमी किसानः समूह गठन गरी आलुको बीउ उत्पादन

कोपिला आलु उत्पादन समूहमा आवद्ध २७ जना सदस्यले सामूहिक रुपमा आलुको पहिलो पुस्ताको गुणस्तरीय बीउ उत्पादन गरेका हुन्। कार्डिनल २०, आइपिवाई आठ ३० र खुमल उज्ज्वल ३० गरी ८० क्विन्टल आलुको बीउ उत्पादन गरिएको समूहका अध्यक्ष पुरनबहादुर डगौराले बताएका छन्। पहिलो पुस्ताको बीउबाट १५ वर्षसम्म खेती गरी आम्दानी लिन सकिने डगौराले बताएका छन्।

कञ्चनपुर, फागुन २७ – शुक्लाफाँटा नगरपालिका– ३ मा रहेको कोपिला आलु उत्पादन समूहले चार लाख रूपैयाँ बराबरको ८० क्विन्टल आलुको बीउ उत्पादन गरेको छ। 

कोपिला आलु उत्पादन समूहमा आवद्ध २७ जना सदस्यले सामूहिक रुपमा आलुको पहिलो पुस्ताको गुणस्तरीय बीउ उत्पादन गरेका हुन्। 

कार्डिनल २०, आइपिवाई आठ ३० र खुमल उज्ज्वल ३० गरी ८० क्विन्टल आलुको बीउ उत्पादन गरिएको समूहका अध्यक्ष पुरनबहादुर डगौराले बताएका छन्। पहिलो पुस्ताको बीउबाट १५ वर्षसम्म खेती गरी आम्दानी लिन सकिने डगौराले बताएका छन्। 

समूहका सदस्यलाई पहिलो प्राथमिकता तथा समूहमा बिक्री नभएको बीउ समूह बाहिर बिक्री गर्ने योजना छ। भण्डारण गृहबाटै खरिद गरेर लैजाने किसानलाई प्रतिकिलो ३० रूपैयाँका दरले बीउ बिक्री गर्ने समूहका सचिव लक्ष्मणसिंह डगौराले बताएका छन्। शीतभण्डार गृहमा राखेपछि आलुको बीउ प्रतिकिलो रु ५५ मा बिक्री हुन्छ। 

भण्डारण गर्दा लाग्ने शुल्क, ढुवानी र लोडअनलोड गरी आलुको बीउको मूल्यमा वृद्धि हुने डगौराले बताएका छन्। गतवर्ष समूहले ५० क्विन्टल बीउ उत्पादन गरेको थियो।

विसं २०६० देखि आलुको बीउ उत्पादन गर्दै आएको उक्त समूहले बीउ बिक्री गरेर रु १७ लाख ४० हजार रकम समूहको बीउ कोषमा जम्मा गरेको छ। कोषमा जम्मा गरेको रकम व्यावसायिक तरकारीखेती गर्ने समूहका सदस्यलाई न्यून ब्याजमा उपलब्ध गराइन्छ। 

कोषको रकम खर्चेर यहाँका किसान तरकारी खेतीका लागि जिल्लामै चिनिएका छन्। व्यक्तिगत रुपमा व्यावसायिक आलुखेती गर्ने किसानले करिब सात सय क्विन्टल आलु उत्पादन गरेका छन्। यहाँ उत्पादित आलु कञ्चनपुरसहित प्रदेश नं ७ को पहाडी जिल्लामा बिक्री गरिन्छ।