Suvadin, Home

सूचीकृत कम्पनीको नविकरण शुल्क बुझाउने अाज अन्तिम दिन

सोमबार भित्र नविकरण शुल्क नबुझाए दशैंपछि पहिलो कारोबार दिन कार्तिक ४ गते बाट ती कम्पनीहरुको नविकरण शुल्क नबुझाएसम्मका लागि शेयर कारोबार रोक्का हुने पराजुलीले बताए।

काठमाडौं, २९ असोज – नेपाल स्टक एक्सचेञ्चमा सूचिकरण भएका कम्पनीहरुले आज असोज २९ गतेभित्र वार्षिक नविकरण शुल्क नबुझाए दशैं पछिको पहिलो कारोबार दिन कात्तिक ४ गते देखि शेयर कारोबार रोक्का हुने भएको छ।

नेप्सेले धितोपत्र कारोबार नियमावली बमोजिम सूचीकरण नविकरण शुल्क आश्विन मसान्त सम्ममा बुझाउन यसअघि नै निर्देशन दिएको थियो। नेप्सेका अनुसार हाल नेप्सेमा सूचीकृत रहेका १९८ वटा कम्पनीहरुमध्ये असोज २८ गतेसम्म १५२ कम्पनीले नविकरण शुल्क बुझाएका छन्।

अझै ४६ कम्पनीले नविकरण शुल्क बुझाउन बाँकी रहेको छ। जस मध्ये ठूला कम्पनीहरुले नविकरण गराएको तर साना कम्पनीहरु पहिले देखि ढिलो नविकरण शुल्क बुझाउने गरेको नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले बताए।

सोमबार भित्र नविकरण शुल्क नबुझाए दशैंपछि पहिलो कारोबार दिन कार्तिक ४ गते बाट ती कम्पनीहरुको नविकरण शुल्क नबुझाएसम्मका लागि शेयर कारोबार रोक्का हुने पराजुलीले बताए। धितोपत्र कारोबार नियमावली अनुसार एक करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका सूचीकृत कम्पनीले १५ हजार, एक करोडदेखि ५ करोडसम्म पूँजी भएकाले २५ हजार, ५ करोड देखि १० करोडसम्म भएकाले ३५ हजार र १० करोड माथि पूँजी भएकाले ५० हजार रुपैयाँ सूचीकरण नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था रहेको छ।


 

More form the Internet

loading...