Suvadin, Home

मेलम्चीलाई टुक्रयाएर ठेक्का लगाउने निर्णय

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम टुक्र्याएर ठेक्का लगाउने भएको छ । यसको जिम्मा आयोजना सञ्चालक समितिलाई दिइएको छ ।

मन्त्रिपरिषद बैठकले मेलम्चीको काम विशेष परिस्थिति अनुरुपको कानूनी आधारमा टेकेर अघि बढाउने निर्णय गरेको हो ।  इटालियन कम्पनी भागेपछि आयोजनाको काम रोकिएको छ । सरकारले भने नीति तथा कार्यक्रममा नै एक वर्षभित्र मेलम्चीको पानी ल्याउने बताएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले आयोजनाको काम अगाडि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

यसरी काम गर्दा आर्थिक अनुशासन कायमै रहने उनले बताए ।

खानेपानी मन्त्रालयका प्रवक्ताका अनुसार सार्वजनिक खरिद नियमावलीको १४५ अनुसार कामको प्रकृतिअनुसार विभिन्न प्याकेज बनाएर ठेक्का लगाइनेछ । यो दफामा विशेष परिस्थितिमा खरिद गर्ने सम्बन्धी व्यवस्था छ ।

‘ऐनको दफा ६६ बमोजिम खरिद गर्दा सार्वजनिक निकायले खरिदको आवश्यकताको लिखित विवरण, गुणस्तर, परिमाण, शर्त र कार्य सम्पन्न गर्ने अवधि जस्ता विवरण तयार गरी आकस्मिक परिस्थितिको सामना गर्न आवश्यक परिमाण र समयावधिका लागि मात्र यथासम्भव प्रतिस्पर्धा गराई वा एउटा मात्र निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता वा सेवा प्रदायकसँग लिखित दरभाउ वा प्रस्ताव लिई स्वच्छ र उचित मूल्यको लागि वार्ता गरी खरिद गर्नु पर्नेछ,’ दफा १४५मा भनिएको छ ।

यो व्यवस्था बमोजिम दशलाख रुपैंयाँ भन्दा बढी रकमको खरिद गरेको भएमा त्यस्तो निकायले त्यसरी खरिद भएको विवरणको सार्वजनिक सूचना प्रकाशन गर्नु पर्ने हुन्छ । सोको जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पठाउनु पर्ने व्यवस्था छ ।
 


 

More form the Internet

loading...