Suvadin, Home

दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल गर्न आयात प्रतिस्थापन गर्नुपर्छः राष्ट्रपति

भृकुटीमण्डपमा चेम्बर प्रदर्शनी २०७४ को उद्घाटन कार्यक्रममा बाेल्दै राष्ट्रपति भण्डारीले व्यापारघाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्नुपर्ने बताएकी हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारी।

काठमाडौं, मसिंर १५ – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएकाले आयात प्रतिस्थापन अपरिहार्य रहेकाे बताएकी छिन्। भृकुटीमण्डपमा चेम्बर प्रदर्शनी २०७४ को उद्घाटन कार्यक्रममा बाेल्दै राष्ट्रपति भण्डारीले व्यापारघाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्नुपर्ने बताएकी हुन्।

उनले युवा पलायनले मुलुकको आर्थिक विकासमा नकारात्मक सन्देश प्रवाह गरेकाे टिप्पणी गरेकी छिन्। भण्डारीले निजी क्षेत्रले दीगो लगानीमा ध्यान दिन अावश्यक रहेकाे बताएकी छिन्।

वैदेशिक रोजगारमा जाने युवाकाे संख्या दिनप्रति दिन बढीरहेकाे छ। विश्वका ८४ देशमा ४० लाख भन्दा बढी नेपालीले अाफ्नाे पसिना बगाइरहेका छन्। उनीहरूकै कूल श्रमबाट वार्षिक रु ६ खर्बकाे हाराहारीमा देशमा विप्रेषण भित्रिरहेकाे छ।

राष्ट्रपति भण्डारीले लोपोन्मुख परम्परागत सीपलाई संरक्षण गर्दै आयमूलुक प्रवद्र्धनमा सरकारले जोड दिने बताएकी हुन्। उनले विद्यामान झन्झटिला ऐन नियम परिवर्तन गरेपनि लगानी भित्र्याउन सरकार र निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउदै मुलुकको आर्थिक समृद्धि ताजा जनादेशबाट प्राप्त हुने जनप्रतिनिधिको हातमा रहेको बताएकी छिन्।

नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान, र बंगलादेशको सहभागिता रहेको सो मेलामा कुल २२५ कक्ष रहेको छ। 

प्रदर्शनीमा नुनदेखि सुनसम्म र गाडीदेखि सारीसम्मका बिक्री कक्ष रहेको छ। कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ्ग सिकले नेपाल र कोरियाबीचको बहुपक्षीय सम्बन्धले जनस्तरसम्मको सम्बन्ध न्यानो बन्दै गएको बताएका छन्। उनले संविधान र संघीयताको कार्यान्यनपछि नेपाल आर्थिक समृद्धिको बाटोतर्फ जाने विश्वास व्यक्त गरेका छन्।

राजदूत सिकले पूर्वाधार, जलस्रोत, पर्यटन र कृषि क्षेत्रमा पर्याप्त लगानीको सम्भावना रहेको बताएका छन्। वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले महोत्सवबाट क्रेता बिक्रेताबीच सम्बन्ध सुमधुर भई लगानीतर्फ नवीन सम्भावनाको खोजी हुने बताएका छन्।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न खोजेकाले सरकारको सो अठोटलाई मूर्तरुप दिन निजी क्षेत्र सदैव सकारात्मक हुने विश्वास गरेका छन्। मेला मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ।


 

More form the Internet

loading...