Suvadin, Home

Cover Image

नेपालले कामदार पठाउन नसक्दा बंगलादेशसँग श्रमसम्झौता गर्द‌ै मलेसिया

काठमाडौं । नेपालले मलेसियामा कामदार पठाउनका लागि श्रम सम्झौता गरेको आठ महिना बितिसक्दासमेत कामदार जाने प्रक्रिया सुरु नभएपछि मलेसियाले विकल्पको रुपमा बंगलादेशसँग श्रम सम्झौता गर्ने तयारी गरेको छ । अगष्ट महिना भित्रै बंगलादेशबाट कामदार आपूर्ति गर्ने  मलेसियाको तयारी छ। प्रमुख स्रोत गन्तव्य नेपालबाट १३ महिनासम्म कामदार लैजान नपाएपछि मलेसियाका विदेशमन्त्री साइफुद्दीन अब्दुलाह बन्द रहेको बंगलादेशबाट कामदार लिने विषयमा छलफल गर्न बंगलादेश आइपुगेका हुन् ।

मलेसियालि विदेशमन्त्री साइफुद्दीनले बंगलादेशी कामदारका लागि गतवर्ष डिसेम्बरदेखि बन्द रहेको मलेसियाको ढोका अगष्ट महिना भित्रै खुल्ने आशा व्यक्त गरेकोको भनाइ उदृतगर्दै बंगलादेशका संचार माध्यमले भनेका छन्- 'विदेशी कामदार आपूर्ति गर्ने विषयमा प्रधनमन्त्री महाथिरले नै एउटा प्रक्रियाको नेतृत्व गरिरहनु भएको छ। मलाई लाग्छ त्यहि नेतृत्वले कामदार आपूर्तिको विषयमा भविष्यमा थप निर्णय गर्नेछ। बंगलादेशकालागि एउटा नयाँ अवसर खुल्दैछ।'

बंगलादेशले आफ्नो देशबाट कामदार लिन उच्च राजनीतिक स्तरबाटै पटक-पटक आग्रह गरे पनि मलेसियाले भने बंगलादेशबाट कामदार लिन इच्छा देखाएको थिएन। तर मलेसियाली कम्पनीमा कामदारको चरम अभाव हुँदा समेत नेपालले कामदार नपठाएपछि मलेसिया नेपालको विकल्प खोज्न अघिसरेको हो ।

मलेसियाले बंगलादेश खोलेको खण्डमा त्यसको प्रत्यक्ष असर नेपालमाथि पर्नेछ। 'मलेसियाले बंगलादेशी कामदार लिन सुरु गर्यो भने नेपालीले पाउँदै आएको कोटा काटिने निश्चित छ। त्यसको प्रत्यक्ष असर नेपालीले पाउँदै आएको रोजगारीमा मात्र नभइ समग्र अर्थतन्त्रमा पर्छ' एक रोजगार व्यवसायीले भने-'त्यो भन्दा पहिला नेपालबाट कामदार जाने प्रक्रिया सुरु गर्न आवस्यक छ।'

२०७५ जेठ २ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको भिसा प्रक्रिया तथा स्वास्थ्य परीक्षण गर्दै आएका संस्था एकतर्फी रुपमा खारेज गरे सँगै नेपालीका लागि मलेसिया रोजगारी बन्द छ। नेपालले एकतर्फी रुपमा बन्द गरेको मलेसिया रोजगारी खुलाउन २०७५ कार्तिक १२ गते दुई देशबीच श्रम समझदारी भए पनि कामदार जाने प्रक्रिया भने अझै सुरु हुन सकेको छैन।

बंगलादेशबाट कामदार लिने सबै प्रक्रिया नखुलाइएको भए पनि मलेसियाले अन्य देशबाट कामदार आपूर्ति गर्दा अपनाएको प्रक्रिया नै बंगलादेशमा पनि अपनाउने बुझिएको छ। अर्थात नेपाली कामदार आपूर्ति गर्दा विगतमा अपनाइएको भिसा प्रक्रिया र स्वास्थ्य परीक्षणकै माध्यमबाट कामदार आपूर्ति हुनेछन्।

मलेसियाले विगतको भिसा प्रक्रिया परिवर्तन नगर्ने निश्चित देखिएपछि नेपालीपक्ष अहिलेलाई मलेसियाले लागु गरेको भिसा प्रक्रियालाई स्वीकार्न करिव-करिव राजि भएको श्रम मन्त्रालय स्रोतले जनाएको छ । अझै नेपालले कामदार पठाउन ढिलो गरेमा मलेसियामा कामदारको माग पुर्ति हुँदा नेपालीका लागि नजिकको रोजगारीको गन्तव्यको ढोका बन्द हुने वैदेशिक रोजगार विज्ञ गणेश गुरुङ बताउँछन् ।


 

More form the Internet

loading...