Suvadin, Home

निर्वाचनले बढायो पेट्रोलियम पदार्थको खपत,आपूर्ति सहज बनाउन मन्त्रालयको निर्देशन

निर्वाचन नजिकिँदै जाँदा पेट्रोलियम पदार्थको खपत बढेको छ। आगामी १० र २१ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका कारण सवारी गतिविधि बढ्दा पेट्रोल र डिजेलको माग वृद्धि भएको हो।
फाइल तस्वीर।

काठमाडौं, कात्तिक २९ - निर्वाचन नजिकिँदै जाँदा पेट्रोलियम पदार्थको खपत बढेको छ। आगामी १० र २१ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका कारण सवारी गतिविधि बढ्दा पेट्रोल र डिजेलको माग वृद्धि भएको हो।

आयल निगमका अनुसार पछिल्लो समय मुलुकभर पेट्रोलको दैनिक खपत करिब १२ सय किलोलिटर पुगेको छ। डिजेलको दैनिक खपत करिब ३५ सय किलोलिटर छ। सामान्य अवस्थामा पेट्रोलको खपत एक हजार किलोलिटर हो भने डिजेलको तीन हजार मात्र हुनेगरेकाे थियाे।

विकास निर्माणका गतिविधि शुरु हुने सिजन पनि यतिखेरै भएकाे र निर्वाचनको माहोल उत्कर्षमा पुग्दै गर्दा इन्धन खपत पनि बढेको निगमका अधिकारीहरुको भनाइ रहेकाे छ। तर, अहिलेको खपत वृद्धिको मुख्य कारण निर्वाचन नै भएको उनीहरु बताउँछन्।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार गत अक्टोबरमा पेट्रोल खपत ४२ हजार किलोलिटर थियो। सेप्टेम्बरमा ३८ हजार किलोलिटर पेट्रोल खपत भएको थियो। यस्तै, सेप्टेम्बरमा ८५ हजार किलोलिटर खपत भएको डिजेल अक्टोबरमा एक लाख किलोलिटर पुगेको छ।

निगमका अनुसार अहिले ग्यासको मासिक खपत ३० हजार मेट्रिक टन छ। ग्यासको खपतमा भने उतारचढाव नभएको निगम बताउँछ। नोभेम्बरभरिमा डिजेल एक लाख १० हजार र पेट्रोल ४३ हजार किलोलिटरको हाराहारीमा खपत हुने निगमको अनुमान छ।

यसैबीच, आपूर्ति मन्त्रालयले निर्वाचनको समयमा इन्धनको आपूर्ति सहज बनाउन निगमलाई निर्देशन दिएको छ। सोहीअनुरुप निगमले आपूर्ति बढाएको छ भने भण्डारण क्षमतालाई पनि चुस्त बनाउन लागेको जनाएको छ।


 

More form the Internet

loading...