Suvadin, Home

Cover Image

नेपाल भ्रमण वर्ष २०२०, ग्रामिण पर्यटन र समृद्धि 

काठमाडौं । हामी नेपाल भ्रमण वर्ष २०२० को तयारी छौं । बीस लाख पर्यटन भित्र्याउने उद्देश्यसहित सरकारले  ‘नेपाल भ्रमण वर्ष २०२०’ को घोषणा गरेको छ । नेपाल पर्यटनको अधिक संभावना बोकेको मुलुक हो । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि गौतम बुद्ध जन्मेको देश नेपाल भनेर विश्वमा चिनिन्छ । कैयौं उच्छ हिमशृङखलासहित प्राकृतिक हिसाबले सुन्दर देश नेपालमा पुरातात्विक सम्पदाले समेत भरिपूर्ण छ । जल, स्थल, हिम पर्यटनको क्षेत्र भएकोले नेपालमा पर्यटनहरु आइरहने गर्दछ्न्। २०७२ को भुकम्प पछि पनि नेपाल विश्वमा घुम्नुपर्ने १० देश भित्र परेको छ।

विश्व जल सम्पदाको दोस्रो धनी, ताल, झरना, गुफा पनि नेपालका ग्रामिण भेगमै छन्। नेपालमा ६ सय भन्दा बढी नदीनाला, ८ वटा अग्ला हिमाल तथा विभिन्न सानासाना गरी १७ सय ९७ वटा हिमाल, १ सिंगे गैंडा, बाघ, भालु, सिंह, हिम चितुवालगायत प्रकृतिका अनुपम उपहारलाई ग्रामिण पर्यटन र समृद्धिको आधार बनाउन सकिन्छ। ४० प्रकारका सर्प, ८७२ प्रकारका चरा, १८० प्रकारका माछा, ६०० प्रकारका पुतली, ३२ प्रकारका लालीगुराँस, ७०० प्रकारका जंगली जडीबुट्टी, लोपोन्मुख जीवजन्तु पनि नेपालमा पाईन्छन्। पर्यटकीय विविधतालेसमेत नेपालको प्राकृतिक सौन्दर्यको वयान गर्ने शब्दहरु निकै कम छन्।

समृद्धि भनेको समग्रताको समष्टिगत विकास हो । चाहे त्यो जुनसुकै कुरामा पनि हुन सक्छ । सरकारले भ्रमण वर्ष सफल पार्न बजेटसमेत विनियोजन गरेको छ । तर, उक्त बजेट पर्याप्त नभएको भन्दै सरोकारवाला निकायले आवाज उठाइरहेका छन् । पर्यटनमा पनि ग्रामिण पर्यटनमा सरकारको खासै ध्यान गएको पाइएको छैन । ग्रामिण पर्यटनको विकासले ग्रामिण विकासमा टेवा पुर्‍याउन सक्छ ।

 नेपाल ग्रामीण पर्यटनको संभावनाले भरिपुर्ण छ भन्दा अतियुक्ती नहोला। एकातिर जातीय, धार्मिक, भाषिक विविधता र अर्कोतर्फ भौगोलिक रुपमा विविधता पर्यटनको लागि उच्च संभावना युक्त क्षेत्र हो। स्थानीय समुदायको कला, संस्कृति, भेषभुषा, भाषा, धर्म, रीतिरिवाज, चालचलन तथा त्यस समुदायहरू बस्ने स्थलबाट अवलोकन गर्न सक्ने प्राकृतिक दृश्यावलोकनको माध्यमबाट त्यस ठाउँको प्रचारप्रसार तथा आयआर्जन गर्ने पर्यटन ग्रामीण पर्यटन हो।

एक सर्वेक्षणअनुसार अहिले झण्डै ८० प्रतिशत पर्यटक शहरीक्षेत्र भन्दा ग्रामीण क्षेत्रमा जान चाहन्छन्। धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरुले ग्रामीण वातावरण रुचाउन थालेका छन्। ग्रामीण पर्यटकहरुले पनि खासगरी नेपालको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउन थालेका छन। 

मूलतः ग्रामिण जनताका लागि उनीहरू स्वयंको सक्रियतामा गरिने पर्यटन व्यवसाय नै ग्रामीण पर्यटन हो। विश्वका प्रख्यात हिम शृङ्खलाहरूको बाहुल्यता मात्र होइन, प्राकृतिक सुन्दरताले भरिपूर्ण, जातीय, भाषिक, धार्मिक, तथा भौगोलिक रूपमा समेत विविधतापूर्ण, जनजातीय समुदायहरूमा रहेको साँस्कृतिक सौन्दर्यता तथा संस्कारहरूले पर्यटनको माध्यमबाट स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई समृद्ध बनाउन सक्ने आधारहरू भएको देश नेपाल हो। पर्यटनको माध्यमबाट मुट्ठिभर मानिसको हित होइन कि समग्र राष्ट्रको समृद्धिका लागि स्थानीय जनताको प्रत्यक्ष सहभागितामा उनीहरू कै योजना र सक्रियतामा ग्रामिण समुदायको विकासका लागि अपनाइने पर्यटन व्यवसायलाई ग्रामीण पर्यटन भन्दा अयुक्ति हुने छैन।

ग्रामीण पर्यटन विकासमा होमस्टेले ठूलो सहयोग पुर्‍याउछ। ग्रामीण पर्यटनको विशेष आधार होमस्टे हो। स्याङजाको सिरुवारीबाट सुरु भएको होमस्टे (घरवास कार्यक्रम) अहिले मुलुकभर सञ्चालनमा आउन थालेका छन्। होमस्टेमा पर्यटकहरुकलाई पारिवारिक वातावरणमा स्थानीय उत्पादनका परिकारहरु बनाएर खुवाइन्छ। स्थानीय उत्पादनको उपयोग र त्यसको बजारिकरणका साथै अर्गानिक उत्पादनमा होमस्टेले सेवा पुर्‍याउन सहयोग गर्दछ। अर्गानिक खानपानले पर्यटकहरुको मन जित्ने, साँस्कृतिक कार्यक्रमहरुले आफ्नो कला संस्कृतिको प्रचारप्रसार गर्ने र स्थानीय स्तरमा आर्थिक प्रगति गर्नको लागि होमस्टेले नै विशेष सहयोग गर्ने तथ्यहरु छ्न्। होमस्टे बिना ग्रामीण पर्यटनलाई अगाडि बढाउन कठिन हुन्छ। होमस्टे ग्रामीण पर्यटन विकासको मुख्य हतियार हो। प्राकृतिक रुपमा सम्पन्न र स्थानीय मौलिकताले भरिपूर्ण स्थानमा कलाकौशलको आकर्षणका साथमा पर्यटकहरूलाई लोभ्याउन सकिने र आम्दानी गर्न सकिने उद्देश्य रहेको छ। घरमा आएका पाहुनासँग हाँसेर बोल्नु, पाहुनालाई विशेष स्वागत सत्कार गर्नु, आफ्नै परिवारसँगै बसेर ग्रामीण क्षेत्रमा प्राप्त हुने स्थानीय स्तरको खाना खुवाउनु, भलाकुसारी गर्नु, ग्रामीण जनजीवन र मौलिक साँस्कृतिक रुपमा सामुदायिक परिचय गराउँदै मौद्रिक मूल्यमा परिणत गरी ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्ने व्यवसाय नै होमस्टे हो।

होमस्टेको मूल उद्देश्य नै आन्तरिक र बाह्य पर्यटकहरुलाई आफ्नै घरमा बसेको अनुभूति दिई नयाँ ठाउँको जानकारी र मनोरञ्जन गराउनु हो। आजभोली शहर बजार गाउँघर, टोल छिमेक जहाँ भएपनि ग्रामीण बिकासका कुरा उठने बित्तिकै पर्यटनका कुरा उठने गर्दछन्। पर्यटनको बिकासले नै आर्थिक विकास र जीवन स्तरमा सुधारको लागि सहयोग गर्दछ। बिकासको महत्वपूर्ण आधार नै पर्यटन हो। पर्यटनको बहुआयमिक रुपले विकासमा टेवा पुर्‍याउँछ। पर्यटनले प्रत्यक्ष आर्थिक आर्जन गराउँछ, रोजगारी सृजना गराउँछ र गाउँघरमा उत्पादन भएको बस्तुहरुको खपत हुन्छ। यस्ता बिकासका कुराले गाउँघरमा चर्चा पाउन थालेको छ। ग्रामीण क्षेत्रमा उत्पादित बस्तुले सहि मुल्य पाउने आधार पनि ग्रामीण पर्यटन हो। स्थानीयस्तरमा ग्रामीण पर्यटनको प्रमुख हिस्साको रुपमा अहिले अघि सारिएको होमस्टेको अवधारणालाई दीगो रुप दिने क्रममा विपन्न र अशिक्षित समुदायमा निकै सकारात्मक परिवर्तन भइरहेको देखिएको छ। होमस्टेको सञ्चालन सङ्गै विकास भएको ग्रामीण पर्यटनमा स्थानीय जनताको प्रत्यक्ष सहभागीता हुँदा स्थानीय स्तरमा आम्दानी बृद्धि, स्थानीय रोजगारी सिर्जनासँगै सामाजिक-साँस्कृतिक रुपमा फरक समुदाय र अर्कै देशका (बाह्य पर्यटकहरु) मानिसहरूसँग अनुभव आदानप्रदान हुँदा नयाँ नयाँ ज्ञान बृद्धि भइरहेको छ।

यस्तै विकास निर्माणमा सरकारले गर्न नसकेको काम स्थानीय जनताको प्रत्यक्ष सहभागितामा विकास भइरहेको पनि पाईएको छ। जस्तै कतिपय ठाउँमा सामान्य बाटोघाटो बनाउन सके आम्दानी हुने सुनिश्चतता भए उनीहरूले आफ्नै स्वपहलमा बाटोघाटो निर्माण गर्ने तथा सरकारलाई निर्माणका लागि घच्घच्याउने कामहरू भइरहेका छन्। यसैगरी गाउँमा पर्यटनबारे थाहा भएपछि आफ्नै गाउँघरमा बसेर आफूले उत्पादन गरेको बस्तुहरू बजारीकरण हुँदा उत्साहित भएर ग्रामीण बस्तु प्रदर्शन (कृषि, पशुपालन, माछापालन, ताल पोखरी, खेल, हस्तकला, मठ, मन्दिर बनाउनेतर्फ लाग्दा मानिसमा सृजनसिलता बढेको छ। यस्तै मासिन लागेको प्रकृति र संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा पनि स्थानीयहरू देखिन्छन्। स्थानीय स्तरमा विभिन्न समुदायको सम्बन्ध बढेपछि गाउँघर चुलाचौकामा रहेका महिलाहरूले पनि फरक समुदायसँग नजिक हुन पाउँदा क्षमता अभिबृद्धि समेत भएको छ। समानताको मुद्दामा पनि सहयोग पुर्‍याउने देखिन्छ। तसर्थ ग्रामीण पर्यटन तथा होमस्टेको विकासले पर्यापर्यटन विस्तार, सीप विकास र व्यवसायिकरण, कृषिमा विविधिकरण र व्यवसायिकरण, जीविकापार्जनका वैकलल्पीक श्रोतहरुको पहिचान र कार्यान्वयन, रोजगारी तथा प्राकृतिक स्रोतसाधनको संरक्षणमा ठूलो टेवा पुग्ने देखिन्छ। यसैगरी गाउँघरमै लगानी र पूँजीबृद्धिको वातावरण बढ्ने हुँदा बढ्दो शहरीकरणको चाप पनि घट्ने देखिन्छ। शहरीकरणको चापमा आउने कमिले सिङ्गो देशको विकास प्रक्रियालाई समेत सकारात्मक योगदान पुर्‍याउदछ।

नेपालीहरू अहिले पनि गरिबीको रेखामुनि बाँचिरहेका छन्। गरिबी निवारणका लागि नेपाल सरकारले चाल्ने कदमहरूले पनि नेपालको गरिबीलाई हटाउन सकेको छैन्। अर्कातर्फ, सामाजिक राजनीतिक चेतनाको अभावमा हाम्रा देशका युवाहरू अरबको खाडीमा न्यून ज्यालामा मजदुरी गर्न बाध्य छन्। सरकारको उदासीनता तथा राष्ट्रिय उद्योगधन्दाको निर्माण नभएको, राजनीतिक अस्थिरताले लामो समयदेखि आक्रान्त हाम्रो देशमा स्थानीय जनताको स्वपहलमा त्यस्ता उल्लेखनीय कामहरू भने कमै मात्रामा पाइन्छन्। एकातिर, चेतनाको अभाव त अर्कोतर्फ राज्यको नीतिको अभावमा युवाहरूको विदेश पलायन रोक्न र देशमा नै रोजगारीको सृजना गर्नका लागि ग्रामीण पर्यटनको महत्वपूर्ण भूमिका रहने सम्भावनालाई अस्वीकार गर्न सकिन्न।

जसरी घलेगाउँले मेटिन लागेको आफ्नो संस्कृति र परम्परालाई जोगाएर, त्यसको प्रचारप्रसार गरेर त्यहाँबाट हुने बसाइँसराईलाई रोक्न सफल भएको छ, त्यसरी नै अभावका कारण बसाइँसराईलाई रोक्नका लागि नेपालका अन्य ग्रामीण बस्तीहरूले पनि काम गर्न सक्ने प्रशस्त आधारहरू छन्। बहुजातीय, बहुसाँस्कृतिक तथा बहुभाषिक देशमा ग्रामीण पर्यटनसम्बन्धी जनचेतना जगाउन सक्ने हो भने स्थानीय जनतालाई आफ्नै ठाउँमा आफ्नो संस्कृतिको प्रचार प्रसार गरेर नै हामी आत्मनिर्भर बन्न सक्छौँ।

अरबका खाडीहरूमा बेल्चा र गैती खेलाउने हाम्रा हातहरूलाई आफ्नै जन्मभूमिको प्रचारप्रसार र समृद्धिमा लगाउने हो भने त्यसबाट स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुग्न सक्छ। यहाँ यो स्पष्ट होस् कि नेपालका सबै गाउँहरूमा ग्रामीण पर्यटनको सम्भावना नभए पनि धेरै ठाँउमा त्यस प्रकारका सम्भावनाहरू छन्। जसरी घलेगाउँले आफ्नो पहिचान बनाएको छ, त्यस्तै नेपालका अन्य गाउँहरूले आफ्नै मौलिकताको आधारमा आन्तरिक तथा बाह्य पर्यटनहरूलाई आकर्षित गरेर आफ्नो आम्दानीको स्रोत बढाउन सक्ने सम्भाव्ना भने रहेका छन्। तर त्यस प्रकारको ग्रामीण पर्यटनको अवधारण समुदायमा रहेका सबै जनसमुदायको प्रत्यक्ष सहभागितामा हुनुपर्दछ, जसबाट सम्पूर्ण जनताले आयआर्जनका लागि अवसर पाउछन्। पर्यटनमा कुनै व्यक्तिले एक्लै प्राकृतिक स्रोत र साधनको फाइदा लुट्न नपाओस् भनेर नै ग्रामीण पर्यटनको अवधारण अगाडि सारिएको हो। हाम्रो भनाइ यो हो कि घलेगाउँ सबै जस्ताको तस्तै नक्कल गर्ने होइन, तर त्यहाँको सिकाइबाट अन्य ग्रामीण बस्तीहरूमा परिस्थितिसँग मेल खाने ग्रामीण पर्यटन व्यवसायलाई अपनाउन सक्छौँ, जसले स्थानीय स्तरमा आत्मनिर्भर बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्दछ।

ग्रामीण पर्यटन गाउँको विकासको लागि केन्द्रीत गरेर त्यसको व्यवस्थापन गर्ने हो भने ग्रामीण पर्यटनले ग्रामीण विकासमा नपत्याउदो तरिकाले फड्को मार्नेछ। विशेषत: नेपालमा अहिले ३ क्षेत्रहरु छ्न, जसको माध्यमबाट देशको ओरालो लागेको अर्थ व्यवस्थालाई माथी उठाउन सकिन्छ। ती हुन, कृषि, जलविद्युत र पर्यटन। त्यसका अलवा पनि नेपालमा अर्थतन्त्रलाई सहयोग पुग्ने धेरै अन्य स्रोत रहेका छन। यहाँ विशेष गरेर ग्रामीण पर्यटनलाई नै केन्द्रीत गरिनु कारण आधुनिक कृषि प्रणालीसहित कृषि पर्यटन (एग्रो-टुरिज्म), आधुनिक जलविद्युत (हाइड्रोपावर )सहित हाइड्रो-पर्यटन र स्थानीय कला, सस्कृती, भाषा, धर्म, भेषभुषा, सस्कृती, प्राकृतिक छट्टासहित ग्रामीण पर्यटनको आधारमा आधुनिक नेपाल निर्माण गर्ने आधारहरु तयार पार्न सकिन्छ।

अहिले चर्चामा रहेको समृद्धि कुरा आधारभूत तहको समृद्वी होइन। त्यो पपुलिस्ट बन्ने अवधारणाबाट उदारवादी अर्थ व्यवस्थाको पक्षपोषण गर्नको लागि आएको अवधारणा हो। तर माथी उल्लेखित पर्यटनको आधारमा आउने आधुनिकिकरण आधारभुत जनताको जीवनस्तरमा आउने परिवर्तनसहितको समृद्धि हो। वास्तवमा, ग्रामीण पर्यटनको विस्तार, व्यवस्थापन र प्रचारप्रसारबाट ग्रामीण जनसमुदायको आर्थिक अवस्थामा सुधार लिन सकिन्छ र ग्रामीण विकासको लागि ग्रामीण पर्यटनले महत्वपुर्ण आधार प्रस्तुत गर्दछ।

केही उदाहरणलाई नै हेरौं, लमजुङको घलेगाउँ, जहाँ गरिबी निवारणको लागि ग्रामीण पर्यटनको अवधारणासहित शुरु गरिएको ग्रामीण पर्यटन व्यवसायले घलेगाउँको मुहार मात्र फेरेन, सार्क राष्ट्र कै नमुना गाउँमा परिचित र विकसित गरादियो। ग्रामीण पर्यटनको अवधारणा अनुसार त्यहाँ जव पर्यटन व्यवसाय शुरु गरियो, त्यहाँको विकास र जनताको जीवनस्तरमा समेत पर्यटनले अभुतपुर्व परिवर्तन ल्याइ दियो। त्यसको लागि व्यवस्थित ग्रामीण पर्यटन व्यवसाय अनिवार्य छ। यस्ता सयौं उदाहरण हाम्रो अगाडि छन्, जुन प्रेरणाका स्रोतहरु हुन्। ग्रामिण पर्यटनको विकासले नेपाल भ्रमण वर्षलाई माात्र नभएर अन्य वर्षहरुमा पर्यटकहरु भित्र्याउन ठूलो टेवा पुग्‍ने देखिन्छ । त्यसकारण सरकार र सरोकारवाल निकायले पनि ग्रामिण पर्यटनमा जोड दिन आवश्‍यक छ । जसले मुलुकको समृद्धिमा नै योगदान गर्छ ।


 

More form the Internet

loading...