Suvadin, Home

पामे–भुम्दीकोट पदमार्गः पूर्वाधार थपिँदै, स्थानीयबासी अार्थिक रूपमा सक्षम बन्दै

स्थानीयबासी मीनबहादुर विकका अनुसार पछिल्ला दिन दुई दिनसहित एक रातको बिताउन सकिने मार्गका रुपमा यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ। फलतः पामेबाट चापाकोट, घडेरी, पलैंचे हुँदै भुम्दीकोट पुग्ने पदमार्ग आसपासमा व्यावसायिक रुपमा होटेल सञ्चालनको क्रम पनि बढेको छ।
फाइल तस्वीर।

पोखरा, चैत ६ – फेवातालसहितका हिमाली दृश्यहरू र सराङकोटबाट आकाशमा चराजस्तै उडिरहेका प्याग्लाइडिङको अवलोकन गर्दै पदयात्रा गर्न सकिन्छ, पामे–भुम्दीकोट पदमार्गमा। 

स्थानीयबासी मीनबहादुर विकका अनुसार पछिल्ला दिन दुई दिनसहित एक रातको बिताउन सकिने मार्गका रुपमा यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ। फलतः पामेबाट चापाकोट, घडेरी, पलैंचे हुँदै भुम्दीकोट पुग्ने पदमार्ग आसपासमा व्यावसायिक रुपमा होटेल सञ्चालनको क्रम पनि बढेको छ। 

चापाकोट घडेरीमा इको भिलेज रिसोर्ट सञ्चालन गर्दै आएका मीनबहादुरका अनुसार स्वदेशी एवं विदेशी पर्यटकको आगमन बढ्दै जान थाले पछि व्यावसायिक रुपमा होटल व्यवसाय सञ्चालन गर्न यतिबेला स्थानीयबासी लागि परेका छन्। 

जथाभावी बाटो खनिने क्रमसँगै कतिपय पदमार्ग छोटिएको र कतिपय लोप भैसकेको वास्तविकतामा नयाँ पदमार्गको खोजी र विस्तारलाई ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान)ले प्राथमिकता दिएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपक अधिकारीले बताए। 

'विस्तारका नाममा बिना योजना नै जथाभावी बाटो खन्ने क्रमले पदमार्ग छोटिँदै र र हराउँदै गएका छन्,' उनले भने, 'टान पश्चिमाञ्चल क्षेत्रीय संघले यही तथ्यलाई दृष्टिगत गरी नयाँ पदमार्गको खोजी र विस्तारलाई अघि बढाएको छ।' 

संघ स्थापनाको २५ औं वर्ष पुगेका अवसरमा पामे–भुम्दीकोट पदमार्गको प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएको उनले बताए। 

'याे पदमार्गको प्रवर्द्धनको उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको सहकार्यमा पदयात्रा पर्यटनमा लागेका व्यवसायी, सञ्चारकर्मीसमेतको सहभागितामा हामीले यहाँको स्थलगत अवलोकन गरायौं,' उनले भने, 'पर्यटकलाई दुई दिनसहित एक रात बिताउने गरी यस पदमार्गको विकास गर्न सकिने देखिन्छ।' 

फेवातालको सिरान पामेबाट सुरु हुने यो पदमार्ग ठाडोबाटो हुँदै चापाकोट र चापाकोटाबाट घडेरी, पलैंचे हुँदै भुम्दी पुग्न सकिन्छ। 

लगभग पाँच घण्टाको समयमा भुम्दीकोट पुगी त्यो रात भुम्दीकोटमा बिताएर भोलिपल्ट भुम्दीकोटबाट कालाभाङ घडेरी हुँदै विश्व शान्ति स्तुपबाट पोखरा फर्कन सकिन्छ। 

पर्यटकीय सम्भावनायुक्त पदमार्ग र गन्तव्य प्रवर्द्धनका लागि पर्यटनसम्बद्ध संघसंस्थासँग नेपाल पर्यटन बोर्डले सहकार्य गर्ने बोर्डका पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले बताए।


 

More form the Internet

loading...