Suvadin, Home

Cover Image

२४ वर्षपछि साकार भयो पेट्रोलियम पाइपलाइनको सपना, अब ग्यास पाइपलाइनमा जोड

काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन सुरु भएपछि नेपालीहरूको २४ वर्षपछिको सपना पूरा भएको छ । दक्षिण एशियाकै पहिलो सीमापारको रूपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आज विधिवतरूपमा सञ्चालनमा आएसँगै २४ वर्षपछिको सपनाले साकार रूप लिएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्तरूपमा स्वीच थिचेर उक्त पाइपलाइनको मंगलबार उद्घाटन गरेका हुन् । दुवै देशका प्रधानमन्त्रीहरुले आ–आफ्नो ठाउँबाट भिडियो कन्फरेन्समार्फत सो पाइपलाइनको उदघाट्न गरेका थिए ।

भारतीय आयल कर्पोरेशनले (आईओसी) का पदाधिकारीहरुले नेपाल आयल निगम (एनओसी) लाई डिजेल हस्तान्तरण गरेपछि यो परियोजना सञ्चालनमा आएको हो ।  मंगलबार पहिलो खेपमा भारत बिहारको मोतिहारीबाट बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा पहिलोचोटि सात हजार किलोलिटर डिजेल आइपुगेको छ । 

नेपाल आयल निगमको अमलेखगञ्जमा आयोजित एक कार्यक्रममा भारतीय आयल निगम कार्पोरेशन मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाका निर्देशक अभिजित चौधरीले नेपाल भारतको ‘लाइफ लाइन’को रूपमा रहेको यो परियोजनाले नेपाल भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनले मोतिहारी-अमलेखगञ्ज पाइपलाइन परियोजना वातावरणीय र आर्थिक दृष्टिकोणले महत्वपूर्ण रहेकाले यस परियोजनाले दुवै देशको आर्थिक विकासमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । 

सोही अवसरमा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले नेपालको विकासमा भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताए । सहायक निर्देशक सुशील भट्टराईले भारत सरकारले उपहारको रूपमा नेपाललाई दिएको यो परियोजनाका कारण नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने बताए ।
 
कार्यक्रममा भारतीय आयल कर्पोरेशन मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाका सहायक निर्देशक जेपी सिन्हाले आजको दिन नेपाल भारत दुवै देशका लागि महत्वपूर्ण भएकाले यस परियोजनाले नेपाल भारत बीचको सम्बन्धलाई सेतुको रूपमा जोड्ने बताए । तोकिएको समयभन्दा चार महिना अगावै निमार्ण काम सम्पन्न भई परियोजना सञ्चालनमा आएपछि नेपालको लागि मात्र नभएर दक्षिण एशिया कै लागि महत्वपूर्ण भएको उद्योगी व्यवसायीहरुको भनाइ छ । 

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशनको संयुक्त लागतमा बनेको उक्त परियोजनामा नेपालको रु ७५ करोड लगानी रहेको छ । परियोजनामा भारत सरकारको भारतीय रु चार अर्ब ४० करोड आर्थिक सहयोग रहेको छ । सो पाइपलाइनको कूल लम्बाइ ७० किलो मिटर रहेको सो पाइपलाइनको लम्बाइ भारततर्फ ३२.५ किलोमिटर र नेपालतर्फ ३७.५ किलोमिटर रहेको छ ।

पाइपलाइनबाट प्रतिघण्टा दुई सय किलोलिटर पेट्रोलियम पदार्थ आउनेछ । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्की निर्माण गरिएको छ । पाइपलाइन सञ्चालनमा आएपछि ढुवानीवापत अब वार्षिक रु दुई अर्ब बचत हुने विश्वास लिइएको छ । यसबाट पर्यावरण विनाश, राजमार्गमा हुने ट्राफिक जाम, दुर्घटना, ढुवानी गर्दा पेट्रोल पर्दाथमा हुने चुहावटलगायतका समस्या समाधान हुने विश्वास लिइएको छ । 

ग्यास पनि पाइपलाइनमा जोड

३० महिनामा काम सक्ने लक्ष्य लिएको पेट्रोलियम पाइपलाइनको काम १७ महिनामै सम्पन्‍न भएको छ । निर्धारित समयभन्दा करिब १३ महिना अगावै काम सम्पन्‍न भएको यो पहिलो राष्ट्रिय दुर्गामी महत्वको परियोजना हो । 

पेट्रोलियम पाइपलाइनको योजना सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अब भारतदेखि नेपालसम्म एलपीजी ग्यास पाइपलाइनको पनि काम सुरु गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

पेट्रोलियम पाइपलाइनको सफलताले ग्यास पाइपलाइनको संभावना उच्च देखाएको उनले बताए । अत्यन्तै सुरक्षित, भरपर्दो र वातावरणमैत्री भएकाले पनि पाइपलाइनबाटै इन्धनको कारोबार गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै आईओसीका अर्का कार्यकारी निर्देशक अविजित चौधरीले एक वर्षसम्म पाइपलाइनको सञ्चालन र मर्मत सम्भारमा सहयोग र सहकार्य हुने बताए । 


 

More form the Internet

loading...