Suvadin, Home

डोजर चलाएर काठमाडौंमा घर, गाउँमा नेता-मन्त्रीझैं फूलमाला

काभ्रे पाँच खालका ३५ वर्षीय कुमार तामाङको पनि १७ वर्ष डोजर र  एक्जाभेटरको स्टेरिङ समातेरै बितेको छ। औपचारिक रुपमा तालिम नलिएका उनले साथीको बिग्रिएको डोजर किनेर आफैं सिके। पछि काम गदै जाँदा त सिपमा निखारता आयो। यातायात व्यवस्था कार्यालय बागमतीबाट हेभी उपकरणको लाइसेन्स निकाले। आकर्षक तलबका साथै सम्मान पनि पाइने भएकाले एक्साभेटरको चालक बनेको उनले बताए। दस वर्जति काभ्रे र भोजपुरका गाउँमा मोटर बाटो खनेका उनी विगत सम्झँदै भन्छन्, ‘मन्त्री र नेताहरूलेझैं फूलमाला र दोसल्ला त कति लगाइयो लगाइयो।’ 
आफ्नै एक्जाभेटर चलाउँदै राजीव बस्नेत। सबै तस्बिर: गोविन्द/शुभदिन

काठमाडौं, माघ ३ 


बाल्यकालमा पहाड फोड्दै डोजरले मोटरबाटो खनेको देख्दा कैलालीका गजेन्द्र चौधरी डरले निथ्रुक्क हुन्थे। डोजर चलाउने कुरा उनले सपनामा पनि सोचेकै थिएनन्। तर, अहिले उनको जीवन नै डोजरसँग जोडिएको छ। 

साक्षर मात्र रहेका चौधरी अहिले मासिक ५० हजार रुपैयाँ कमाउँछन्। मध्यम खालको उनको आर्थिक अवस्था डोजर चलाएपछि अाकासिएको छ। उनले डोजर चलाएको दस वर्षमा काठमाडौंमा घर जोडिसकेका छन्। 

तीन महिनाको तालिम लिएलगतै कन्ट्रक्सन कम्पनीमा अपरेटको मौका पाएका चौधरीलाई त्यो तालिम जीवनमा अमूल्य बनेको छ। ‘अब त चाहेर पनि यो काम छोड्न सक्दिनँ। हामीजस्ता कम पढेकाले अरु क्षेत्रमा यति पैसा कमाउने कल्पना समेत गर्न सकिन्न,’ उनले भने।

रौतहटका सन्तोष कार्की मासिक ४५ हजार कमाउँछन्। उनी पनि तीन महिनाको तालिमकै भरमा क्रेन अपरेटरको काम पाएर उनी दंग थिए। तालिमपछि कन्ट्रक्सन कम्पनीले बोलाएर जागिर दिएको उनले सुनाए।

सन्तोष कार्की

काभ्रे पाँच खालका ३५ वर्षीय कुमार तामाङको पनि १७ वर्ष डोजर र  एक्जाभेटरको स्टेरिङ समातेरै बितेको छ। औपचारिक रुपमा तालिम नलिएका उनले साथीको बिग्रिएको डोजर किनेर आफैं सिके। पछि काम गदै जाँदा त सिपमा निखारता आयो। यातायात व्यवस्था कार्यालय बागमतीबाट हेभी उपकरणको लाइसेन्स निकाले। आकर्षक तलबका साथै सम्मान पनि पाइने भएकाले एक्साभेटरको चालक बनेको उनले बताए। दस वर्जति काभ्रे र भोजपुरका गाउँमा मोटर बाटो खनेका उनी विगत सम्झँदै भन्छन्, ‘मन्त्री र नेताहरूलेझैं फूलमाला र दोसल्ला त कति लगाइयो लगाइयो।’ 

***

दस वर्ष गाउँमा काम गरे पछि ८७ लाख खर्च गरेर एक्जाभेटर किनेका कुमार तामाङले १३ घण्टासम्म पनि काम गरेको बताए।

‘विदाको त वास्तै हुन्थेन,’ उनले भने। चिनियाँ सरकारको सहयोगमा बन्दै गरेको काटेश्वर-कंलकी सडकमा एक्साभेटर चलाउने गरेका उनले मासिक तलब र भत्ता गरी ५० हजार कमाउँछन्। यति मात्रै कहाँ र डोजर र एक्जाभेटर पनि बनाउने सिकेका उनको कमार्इ ७० हजारमाथि पुग्छ। उनी भनछन्, ‘बिग्रेको बनाउने काम त कहिलेकाहीँ आउँछ तर चलाउने काम त नियमित हुन्छ।’

उमेर र स्वास्थ्यले साथ दिँदासम्म काम नछाड्ने उनले  प्रण नै गरेका छन्। सिप सिकेको कारण जीवन सहज भएको अनुभव उनले सुनाए। 

‘वैदेशिक रोजगारी वा व्यापार व्यवसायमा आँखा गएन,’ डोजरको स्टेरिङमा हात राखेर मुसुक्क हाँस्दै कुमारले भने। 

उनको भन्दा अझ फरक रोचक कथा छ दाङका २६ वर्षीय राजीव बस्नेतको। भारतको लखनउमा गएर चार वर्ष एक्साभेटरको हेल्पर बनेरै सीप सिकेका उनी सिपालु भएपछि अर्काेको देशमा बस्न मन नलागेर घर फर्किए। काम खोज्दै काठमाडौं छिरेका उनलाई सजिलै उहि काम हात पर्यो । एक्साभेटरको अपरेटर बस्नेतको मासिक कमार्इ ५० हजार छ। अरुको एक्साभेटर चलाउँदै आएका उनले छ महिना अगाडि मात्रै ४० लाख खर्च आफैंले जम्मा पारेर एक्साभेटर किनेका छन्। ‘आफ्नो साधन भएपछि त बाह्रै महिना काम आइरहेको छ,’ उनले भने।

पैसा मात्रै होइन सम्मान पनि पाइरहेका छन् उनले। ‘गाउँमा ड्राइभर त कति छन् छन् तर डोजर अपरेटर भनेपछि बेग्लै सम्मान पाइँदो रहेछ, त्यसैले पनि काम छाड्न मनले दिँदैन,’ उनले भने। एसएलसी पास उनले सिपकै कारण आर्थिक र सामाजिक हैसियत उकासेका छन्।

कुमार तामाङ

 काभ्रेका सुमन भुजेल पनि काठमाडौंमा दुर्इ वर्षयता एक्साभेटर चलाउँदै आएका छन्। चिनजानको दाइसँग हेल्पर बनेर सिकेका उनले यातायात कार्यालयबाट एक्साभेटर चलाउने लाइसेन्स पनि निकालेका छन् । मासिक ३५ हजार कमाउने उनी पेशाप्रति सन्तुष्ट देखिए। ‘साथीहरू कमाउन भन्दै विदेशतिर लाग्दा मैले एक्साभेटरको स्टेरिङ समाएँ।’ साथीहरूले विदेशमा पाएको पीडा र सास्ती सुन्दा उनलार्इ यो पेशामा लागेकोमा गर्व लागेको छ। ‘सिप नसिकेको भए मेरो हालत पनि उस्तै हुन्थ्यो होला,’ पाँच जनाको परिवार धान्दै आएका उनले भने। 

***

घाम-पानी, धुलो-धुवाँ खेप्नु परे पनि ती कुरा उनीहरूको कमार्इ र सम्मानले बिर्साइदिएको छ। डोजरको स्टेरिङ समाउनेहरू जीवनप्रति धेरै नै खुसी छन्। पैसा कमाउन विदेश नै ताक्ने ठूलै जमातमाझ मेहनतले काम गरेमा स्वदेशमै बसेर पनि आर्थिक प्रगति हासिल गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण एक्जाभेटर, लोडर चालकहरू बनेका छन्। स्वदेशकै रोजगारबाट आर्थिक हैसियत बनाएका उनीहरू समाज, साथीभाइको सम्मान र मान मनितोले पाउँदा मख्ख छन्। नेपालमा विकास निर्माण अन्तर्गत पुल, पुलेसा, अपार्टमेन्ट, जलविद्युत आयोजनाका काम भइरहेको छ। गाउँदेखि सहरसम्म डोजर र एक्साभेटर अत्यावश्यक निर्माणको उपकरण बनिसकेको छ। हिजो मान्छेले हातले गर्ने निर्माणका काम आजभोलि हेभी उपकरले गरिन्छ। हेभी उपकरणमार्फत् छिटो र व्यवस्थित रुपले निर्माणका काम गर्ने थालिएपछि लोडर र एक्साभेटर अपरेटरको माग बढेको पनि छ। 

नेपालमा जेसिबी कम्पनीका ब्याक हो लोडर र एक्साभेटर बिक्री गर्दै आएको माव अर्थ मुभर कम्पनी नेपालका चिफ म्यानेजर सञ्चीव देउजाका अनुसार आर्थिक वर्ष ०७१/०७२ मा ब्याक हो लोडर र एक्साभेटर गरी एक हजार एक सय वटा बिक्री भएकोमा ०७२/०७३ मा यो संख्या बढेर एक हजार ९ सय ८९ वटा पुगेको छ। गाउँ-गाउँमा मोटरबाटो, ठूला विकासका आयोजना र सहरमा अग्ला संरचना बन्न थालेपछि यस्ता उपकरणको बिक्री बढेको उनले बताए। 

तालिममा पनि उस्तै आकर्षण 

दक्ष हेभी उपकरण अपरेटरको माग दिनप्रतिदिन बढ्दै जाँदा यस्तो सिप सिक्न युवाहरूमा आकर्षण पाइएको छ। सामान्य लेखपढ गरकाले तालिम लिन पाउनु र तालिम लिएपछि लोभलाग्दो तलबसहितको रोजगारी पाइने हुँदा तालिम लिन युवाहरू आकर्षित बनिरहेका हुन्।

तालिम लिएकाहरूले विदेशमा समेत आकर्षक तलबसहित काम पाउने भएकाले विदेश जानेहरूका लागि समेत यस्तो तालिम निकै उपयोगी बनिरहेको छ। सडक विभाग अन्तर्गतको ललितपुरमा रहेको यान्त्रिक तालिम केन्द्र पाटनले विगत दस वर्षयता शुल्क लिएर हेभी उपकरण तालिम दिँदै आएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीद्वारा सम्बन्धन प्राप्त यस्तो तालिम लिनेको चाप निकै बढिरहेको छ।

मेकानिकल र अपरेटर गरी दुई खालका तालिम दिँदै आएको यो संस्थाले मोटर ग्रेडर अपरेटर, बुलडोजर अपरेटर, लोडर अपरेटर, एक्साभेटर अपरेटर, मोबाइल क्रेन अपरेटर र ब्याक हो लोडर अपरेटर तालिम सञ्चालन गर्दै आएको छ। हालसम्म मेकानिकल र अपरेटर गरी छ सय जनाले तालिम लिइसकेको उक्त केन्द्रले जनाएको छ।

तालिम केन्द्रका मेकानिकल इन्जिनियर नरबहादुर महर्जनका अनुसार अपरेटरको तालिमको शुल्क मात्रै ६० हजार छ। तर, पनि तालिम लिन आउनेको चाप बढेको छ।  प्रत्येक वर्ष ७० जना युवाहरूले तालिम लिने गरेको महर्जन बताउँछन्। 

स्वदेशी निर्माण उधोगका लागि हेवीभी इक्युपमेन्ट सञ्चालन तथा मर्मत सम्भार गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने, वैदेशिक रोजगारीका लागि उपयुक्त हेभी इक्युमेन्ट सञ्चालन तथा मर्मत सम्भार सम्बन्धी तालिम प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिँदै अाएको छ। 

यता निजी क्षेत्रबाट भक्तपुर र काठमाडौंमै यस्ता उपकरण चलाउने तालिम सञ्चालन गरिएको छ। जेसिबीले युसेफ नेपालमार्फत् सात वर्षयता यस्तो तालिम दिँदै आएको छ। वर्षमा दुर्इ सयजतिले यस्तो तालिम दिने गरेको उक्त कम्पनीले जनाएको छ। 

***

सुमन भुजेल

गाउँ-गाउँमा सडक संरचना विस्तार गर्न हरेक गाविसमा एउटा डोजर राख्न थालिएको छ। सहरका अपार्टमेन्ट तथा आवास योजनाका साथै निर्माण क्षेत्रका लागि हेभी उपकरण अनिवार्य बन्दै गएकाले पनि यस्ता उपकरण चलाउन जान्ने दक्ष जनशक्तिको माग बढिरहेको हो। माग धेरै बढेकाले तालिम लिएपछि तुरुन्तै जागिर पाइने लोभले महँगो शुल्क तिरेरै भए पनि तालिम लिने गरेको यान्त्रिक तालिम केन्द्रका मेकानिकल इन्जिनियर नरबहादुर महर्जन बताउँछन्। 

 

महर्जनका अनुसार तालिम लिनेहरूमध्ये धेरैजसो विदेश जाने गरेका छन्। तालिमको उपयोगिता थाहा पाएपछि हङकङमा काम गरिरहेका ४० जना बढी नेपाली कामदार दुई वर्ष अगाडि तालिम केन्द्रमा आएर तालिम लिएर हङकङमै त्यही काम गरिरहेका छन्।

‘विदेशमा दस जना अदक्ष कामदारको आम्दानी बराबर एउटा हेभी उपकरण चालकले कमाउँछ, त्यसैले पनि तालिम लिएकालाई विदेशमा सुनौलो अवसर छ,’ महर्जनले भने। 
अन्य क्षेत्रमा बेरोजगारी बढिरहेका बेला रोजगारी साथै राम्रो आम्दानी गर्ने माध्यमका रुपमा नै हेभी उपकरण चालकलाई लिइन थालेको छ। सडक विभागमा २८ वर्ष डोजर अपरेटर भर्इ हाल रिटायर्ड बनेका ५९ वर्षीय राम खड्का पनि प्राइभेट क्षेत्रमा कन्टक्सन कम्पनी छयापछ्यापती बढिरहेकोले तालिम लिएपछि खाली बस्नै नपर्ने बताउँछन्। सरकारी जागिरबाट रिटायर्ड भएपछि पनि उनी डोजर सिकाउने काम गरिरहेका छन्। ‘सिप भएको व्यक्ति खाली बस्नै पाइँदैन,’ उनले अनुभव सुनाए। 

 

 

 


 

More form the Internet

loading...