Suvadin, Home

सहकारी संस्थाकाे लाेककल्याणकारी कार्य
सहारा नेपालद्वारा ३ सय ५८ जनाको निःशुल्क उपचार

सहाराले जुनसुकै रोगका कारण थलिएको भएपनि उपचारार्थ अस्पताल भर्ना भएका, शल्यक्रिया गर्नुपर्ने स्थिति भएका, दुर्घटनामा परेका, प्रसूति सेवा, क्यान्सर, मुटु, मिर्गौलाजस्ता विशेष रोगबाट पीडितको उपचार खर्च व्यहोर्दै आएको कार्यकारी निर्देशक गिरीले बताउनुभयो।
सहाराका कार्यकारी निर्देशक महेन्द्र गिरी बालबालिकाहरुका साथमा।

सुरेन्द्र भण्डारी, झापा, असोज ९ – 'हातको ब्यूटी बोन फ्याक्चर भएर जीवनमरणको दोसाँझमा थिएँ, उपचार गर्ने खर्च थिएन, आर्थिक अवस्था कमजोर भएका कारण म थलिएर बस्नुको विकल्प नभएको अवस्थामा सहारा नेपालले मेरो उपचार गराएर मलाई नयाँ जीवन दियो,' सहाराले बिएण्डसी हस्पिटलमा लगेर उपचार गराइदिएको दिन सम्झँदै झापा बुद्धशान्ति गाउँपालिका–२ बुधबारे निवासी ५२ वर्षीया नरमाया मैनालीले भन्नुभयो।

गत असार २९ गते शल्यक्रियामार्फत जुम्ल्याहा छोरा जन्माउनुभएकी विर्तामोड नगरपालिका–२ निवासी सरस्वती विकलको मनमोहन अस्पतालमा लागेको सबै खर्च सहाराले नै ब्यहोरिदियो।

शिवसताक्षी नगरपालिका– ८ निवासी बुद्धरानी योङ्हाङले आफ्नो पित्तथैलीमा भएको ‘स्टोन’ विराटनगरस्थित नोबेल हस्पिटलमा सहाराकै सहयोगमा शल्यक्रिया गरेर फ्याँक्नुभयो। कनकाई नगरपालिका–३ निवासी राजेन्द्र मैनालीले पनि विर्ता सिटी हस्पिटलमा पित्तथैलीको शल्यक्रिया सहाराकै सहयोगमा गराउनुभयो। 

सोही नगरपालिका–३ कै पार्वता ओलीले आफ्नो भाँचिएको खुट्टाको शल्यक्रिया गराउनुभयो। उहाँको बिएण्डसीमा शल्यक्रिया भएको थियो। उहाँहरु सबैको उपचारमा लाग्ने खर्च सहाराले नै ब्यहोरिदियो।

त्यस्तै विर्तामोड निवासी कमला ओली क्यान्सरबाट पीडित भएर काठमाडौँको हरिसिद्धि क्यान्सर हस्पिटलमा उपचाररत रहनुभएको छ। उहाँको उपचारमा लागेको रकममध्ये रु दुई लाख ३४ हजार सहाराले तिरिसकेको छ। 

सहारा नेपालले उपचार गराएर ज्यान बचाएका यी केही उदाहरण हुन्। उहाँहरु जस्ता धेरैको विर्तामोड नगरपालिका–२ चारपानेमा रहेको सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले औषधोपचारमा सघाएर नयाँ जीवन दिएको छ। 

सहकारीले ‘जीवन वरदान कार्यक्रम’ अन्तर्गत आफ्ना शेयर सदस्यको उपचार तथा शल्यक्रिया खर्च व्यहोर्दै आएको सहाराका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताउनुभयो। 

सहाराले जुनसुकै रोगका कारण थलिएको भएपनि उपचारार्थ अस्पताल भर्ना भएका, शल्यक्रिया गर्नुपर्ने स्थिति भएका, दुर्घटनामा परेका, प्रसूति सेवा, क्यान्सर, मुटु, मिर्गौलाजस्ता विशेष रोगबाट पीडितको उपचार खर्च व्यहोर्दै आएको कार्यकारी निर्देशक गिरीले बताउनुभयो।

'आफ्ना सदस्यको उपचारका लागि नेपालका नाम चलेका ३५ अस्पतालसँग सम्झौता गरी सेवा प्रवाह गर्दै आएका छौँ र यो प्रभावकारी देखिएको छ,' सहाराका कार्यकारी निर्देशक गिरीले भन्नुभयो, 'यसबाट विपन्न सदस्यको जीवन बाँचेको मात्र छैन, ठूला अस्पतालमा जटिल रोगको उपचार गर्ने सहज पहुँच पनि पुगेको छ।' 

एक वर्षमा ३ सय ५८ जनाको उपचार 

सहारा नेपाल साकोसले २०७३ साउनदेखि २०७४ असारसम्म ३५८ जना सदस्यको उपचार तथा शल्यक्रिया खर्च व्यहोरेको छ। उनीहरुको उपचार एवं शल्यक्रिया गर्दा रु ६९ लाख तीन हजार ३०२ सहाराले व्यहोरेको सहकारीका कार्यकारी निर्देशक गिरीले बताउनुभयो। त्यसमध्ये १३३ जनाले प्रसूति सेवा लिएका थिए। 

प्रसूतिमा पनि ५८ जनाको ‘नर्मल’ र अरुको ‘सिजर’ गरिएको थियो । सहाराले रु पाँच हजारदेखि तीन लाखसम्म उपचार तथा शल्यक्रिया खर्च व्यहोरेको जीवन वरदान कार्यक्रम संयोजक भक्त खड्काले बताउनुभयो। यसरी सेवा पाउनेमा २७६ महिला र ८२ पुरुष छन्। 

सेवा लिने महिलाको कुल संख्याको ७७ प्रतिशत रहेका छन्। आफ्ना सदस्यलाई पूर्ण गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रयासस्वरुप सहाराले कार्यक्रम सञ्चालन गरेको बताइएको छ।

फेमिली हेल्थको प्राविधिक सहयोगमा सहाराले आफ्ना सदस्यको स्वास्थ्यसम्बन्धी अभिलेख राख्नाका साथै ‘स्मार्ट हेल्थ कार्ड’ प्रदान गर्दैआएको छ। कोही सदस्य बिरामी परेर अस्पताल जानुपरे कार्ड देखाए पुग्छ। अस्पतालले कार्डलाई धरौटीको रुपमा राख्छ भने सहाराले शुल्क बुझाइदिएपछि सदस्यले कार्ड फिर्ता पाउँछ। 

अर्कोतर्फ बिरामीले पुरानो फाइल बोकेर अस्पताल जानुपर्ने झञ्झट पनि हटेको छ। सहाराले सदस्यको स्वास्थ्यसम्बन्धी अभिलेख ‘एप्स’ मार्फत देखाए पुग्ने व्यवस्था मिलाएको छ।

त्यसका लागि सदस्यको सबै स्वास्थ्य विवरण राख्ने व्यवस्था मिलाइएको छ। सहाराका सदस्यमध्ये ३६ जनाले बिएण्डसी, २६-२६ जनाले बिर्तासिटी र मनमोहनबाट गत वर्ष सेवा लिएका थिए।

९० लाखको दशकर्ममा खर्च 

सहाराले आफ्ना सदस्यको परिवारमा कसैको मृत्यु भएमा सदस्यलाई दशकर्म तथा वार्षिकी खर्चबापत रु ३० हजार उपलब्ध गराउँदै आएको छ। गत वर्ष ३०२ जना शेयर सदस्यलाई रु ९० लाख ६० हजार प्रदान गरिएको थियो जसमा २०२ जना अर्थात ६७ प्रतिशत महिला सदस्य छन्। 

कुनै परिवारमा शेयर सदस्यका पिता÷माता, सासूससुराको मृत्यु भयो भने त्यो परिवारमा शेयर सदस्य रहेका छोराबुहारी तथा छोरीले दशकर्म खर्चबापत रु ३० हजारका दरले रकम प्राप्त गर्छन्। 

शेयर सदस्यको परिवारमा मरिमराउ हुँदा संस्था तथा सबै सदस्यका तर्फबाट ‘खान पुगोस्, दिन पुगोस्’ कार्यक्रमअन्तर्गत एकमुष्ट रु २८ हजार सहाराले ‘सरहे’ उपलब्ध गराउँदै आएको छ।

गत वर्ष १६९ परिवारमा रु ४९ लाख ५१ हजार ७०० बुझाइएको छ । यो कार्यक्रमले सहारामा आबद्ध सबै सदस्यले एक अर्काको सुखदुःखमा साथ दिनु भावनाको विकास गर्ने संस्थाका कार्यकारी निर्देशक गिरीले बताउनुभयो। त्यसमा सबै कर्मचारी तथा शेयर सदस्यले योगदान गर्नाका साथै संस्थाले समेत सोही अनुपातमा रकम थप्ने गरेको बताइएको छ। 

शेयर सदस्यको परिवारमा कसैको मृत्यु भएको जानकारी कार्यालयमा काजकिरिया भइरहेकै अवधिमा गराउनुपर्ने र संस्थाले पनि सोही बेला घरमै गई श्रद्धाञ्जलि तथा समवेदना पत्रसहित सरहे रकम बुझाउने चलन छ। 

परिवार राहतमा रु २१ लाख 

सहाराले परिवार राहत कार्यक्रमअन्तर्गत छ महिलासहित ११ जनालाई रु २१ लाख उपलब्ध गराएको छ। संस्थाको शेयर सदस्यको मृत्यु वा अशक्त भएको अवस्थामा परिवारका सदस्यको जीवनयापनका लागि यो रकम उपलब्ध गराइँदै आएको छ। 

शेयर सदस्यको अवधि, सक्रियता र शेयर पूँजीको आधारमा रु एकदेखि पाँच लाखसम्म परिवार राहत उपलब्ध गराइँदै आइएको छ। यस वर्षदेखि भने ७५ वर्षभन्दामाथि तथा स्थायी अशक्त भएको अवस्थामा उक्त रकम क्रमिकरुपमा सदस्यलाई नै उपलब्ध गराउन थालिएको संस्थाका कार्यकारी निर्देशक गिरीले बताउनुभयो। 

सहाराले आफ्ना सदस्य बिरामी भई नियमित औषधि सेवन गर्दा हुने आर्थिक बोझलाई घटाउन सञ्जीवनी कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमअन्तर्गत २५ जनालाई बितेको वर्ष तीन लाख ६९ हजार औषधि सेवन खर्च उपलब्ध गराएको थियो।

नियमित औषधि सेवन गर्ने थाइराइड, उच्च रक्तचाप, सुगरजस्ता रोगको औषधि सेवनमा सहयोग पुर्याउन ६५ वर्ष उमेर पुगेका सदस्यलाई मासिक रु एक हजार ५०० का दरले यो रकम उपलब्ध गराइएको सहाराले जनाएको छ। 

यसैगरी, ७० वर्ष उमेर पुगेका ज्येष्ठ शेयर सदस्यलाई मासिक भत्ताबापत रकम उपलब्ध गराउँदै आएको सहाराले यस वर्षदेखि वार्षिक एकमुष्ट रु सात हजार उपलब्ध गराउन थालेको छ। 

पूर्णरुपमा अपाङ्ग एवं स्थायी अशक्त भएकालाई सम्मान र जीवन निर्वाहमा सहयोगस्वरुप वार्षिक रु पाँच हजार उपलब्ध गराइँदै आएको छ। यस वर्ष ११ जना त्यस्ता सदस्यलाई रु ७१ हजार ७५० उपलब्ध गराएको छ। 

एकल महिलालाई वार्षिक छ हजार 

एकल महिला प्रोत्साहन कार्यक्रमअन्तर्गत सहाराले बितेको वर्ष ९९ जनालाई रु चार लाख ९५ हजार उपलब्ध गराएको छ। विगतमा प्रोत्साहन भत्ता दिँदै आएकामा चालु वर्षदेखि वार्षिक रु छ हजार दिन थालिएको छ।

एकल महिलालाई समाजमा अर्थपूर्ण जीवन बिताउन दिन उनीहरुको सीप र दक्षतामा वृद्धि गराउन, स्वरोजगार बन्न उत्प्रेरित गर्ने कार्यक्रमसमेत सहाराले सञ्चालन गर्दै आएको छ। 

सहारा नेपाल साकोसले सञ्चालन गरेको जीवन वरदान कार्यक्रम बिरामी र उसको परिवारका लागि वास्तविक वरदान बनेको विर्ता सिटी हस्पिटलका कार्यकारी निर्देशक आनन्दकुमार बस्नेतले बताउनुभयो। सदस्यको सम्पूर्ण उपचार खर्च सहाराले नै व्यहोर्ने योजना चाँडो कार्यान्वयन गर्न सके अझ राम्रो हुने उहाँको सुझाव छ। 

सहाराले आफ्ना सदस्यको सम्पूर्ण उपचार आगामी २०८० सालदेखि निःशुल्क रुपमा गर्ने योजना बनाएको छ। सहाराले सदस्यको स्वास्थ्य र सामाजिक सुरक्षालाई ‘मिसन’ नै बनाएर अघि बढेको संस्थाका प्रमुख कार्यकारी निर्देशक गिरीले बताउनुभयो। 

विसं २०५२ सालमा ३३ जना शेयर सदस्यबाट रु ३४ लाख जम्मा गरी शुरु गरिएको सहारामा अहिले एक लाख १९ हजार २९७ जना शेयर सदस्य छन्।


 

More form the Internet

loading...