Suvadin, Home
Nepal life 2.619M

राजनीतिक शास्त्रकी विद्यार्थी रुपालीको उद्यम् अभियान

पछिल्लो समय त होस्टलहरुलाई व्यवस्थित र मर्यादित बनाउनका लागि संगठन निर्माण गरिएको छ। जसका कारण नियमन प्रक्रिया पनि सहज भएको छ। यसरी, होस्टल सञ्चालन गरी टाढाबाट आउने विद्यार्थीको सेवामा जुटिरहेकी एक व्यवसायी हुन् रूपाली पौडेल गुरागाई। होस्टल एशोसिएशनकी काठमाडौं जिल्ला अध्यक्ष रुपाली विद्यार्थीको सेवा र सुरक्षामा कटिबद्ध छिन्।
रूपाली पौडेल गुरागाई।

विनिता कार्की, काठमाडौं, ११ साउन – उच्च शिक्षा हासिल गर्नका लागि धेरै विद्यार्थीहरु राजधानीबाट टाढाका गाउँवस्तीबाट काठमाडौं आउँछन्। ती विद्यार्थीको न गाँसको टुंगो हुन्छ, न त बासकै। काठमाडौं आइपुगेपछि भौतारिने र कहीँ कोठा खोजेर बस्ने परिपाटी गइसकेको छैन।

कोठाको भाडा र मासिक खर्च चर्को हुन्छ। त्यसैले विद्यार्थीहरु तनावमा पर्छन्। तर, पछिल्लो समय काठमाडौंमा होस्टल कल्चर बढेको छ। र, धेरै विद्यार्थीले होस्टलमा आश्रय लिइरहेका छन्। सुरक्षित, सुविधायुक्त र सर्वसुलभ प्रायः होस्टलहरुको मानक यही नै हो। विद्यार्थीहरुलाई सेवा दिने र केही पैसा आम्दानी गर्ने हेतुले होस्टल सञ्चालन गरिन्छ।

पछिल्लो समय त होस्टलहरुलाई व्यवस्थित र मर्यादित बनाउनका लागि संगठन निर्माण गरिएको छ। जसका कारण नियमन प्रक्रिया पनि सहज भएको छ। यसरी, होस्टल सञ्चालन गरी टाढाबाट आउने विद्यार्थीको सेवामा जुटिरहेकी एक व्यवसायी हुन् रूपाली पौडेल गुरागाई।

होस्टल एशोसिएशनकी काठमाडौं जिल्ला अध्यक्ष रुपाली विद्यार्थीको सेवा र सुरक्षामा कटिबद्ध छिन्। वि.सं २०७२ सालमा २ वर्षका उपाध्यक्ष भएकी पदभार सम्हालिसकेकी पौडेल वि.सं. २०७४ मा आइपुग्दा अध्यक्षको जिम्मेवारी निभाउन पुगिन्।

त्यसपछि आफ्नोसँगै काठमाडौंका विभिन्न स्थानमा सञ्चालित होस्टलको नियमन र निरीक्षणमा उनको टिम लागिरहेको छ। अध्यक्ष पौडेलका अनुसार काठमाडौं जिल्लाभरिमा ५ सय ५० वटा होस्टल सञ्चालनमा रहेका छन्। ‘तर, हामीसँग आबद्ध होस्टेल ४ सय ९० छन्,’ उनले भनिन्।

होस्टल व्यवसायीले कुनै किसिमका समस्या भोग्नु परेमा छाता संगठनले मद्दत गर्ने उनले बताइन्। प्रहरी, प्रशासन, वडा र नगरपालिकासँग समन्वय एवं सहकार्य गरेर भइपरिआएका समस्याहरूलाई समाधान गर्ने उनले बताएकी छिन्। ‘र, त्यसबाहेक कति समस्याहरू हामी आफैँले समाधान गर्दै आएका छौं,’ उनले भनिन्।

राजनीतिशास्त्रकी विद्यार्थी, उद्यम् अभियान

रुपाली पौडेल गुरागाईको जन्म वि.सं २०३७ सालमा विराटनगरमा जन्मेको हो। बुवाको टिकाराम गुरागाई र आमा सावित्रा गुरागाई। ‘हामी ३ जना दिदीबहिनी र एक जना दाजु हुनुहुन्छ,’ उनले भनिन्।

वि.सं. २०५४ सालमा एसएलसी उत्रीर्ण गरेकी रुपालीले महेन्द्र मोरङ क्याम्पसबाट मानविकी संकायमा राजनीतिकशास्त्र अध्ययन गर्न थालिन्। प्रविणता प्रमाणपत्र तह पास गरेकी रुपालीको वि.सं. २०५८ सालमा स्नातक तह प्रथम वर्ष अध्ययन गर्दागर्दै इलामको आइतबारेका यादव पौडेलसँग विवाह भयो। ‘अनि पढाईलाई निरन्तरता दिन सकिनँ,’ उनले भनिन्, ‘तर, त्यसपछि नयाँ अध्याय शुरु भयो।’

रुपाली विवाह अगावै थुप्रै संघ–संस्थामा सक्रिय थिइन्। महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थी राजनीतिमा सचिवसम्मको जिम्मेवारी उनले निभाएकी थिइन्। तर, विवाह पश्चात लामो समय पारिवारिक दायित्व पूरा गर्नमै उनी व्यस्त भइन्। ‘विवाहपछि ४ वर्ष इलाममै बसे, त्यसपछि श्रीमान्को सरूवा बिर्तामोडमा भयो,’ उनले भनिन्, ‘र, म पनि उहाँको जागिरको शिलशिलामा बिर्तामोड आएँ।’ रुपालीका श्रीमान् यादव पौडेल अहिले ग्रामीण विकास बैंकमा मेनेजरको जिम्मेवारीमा रहेका छन्। 

झापा आएपछि संघर्षसँगै सफलता पनि हात लाग्दैगयो। सोही साल धुलाबारीमा घर बनाएका पौडेल दम्पत्तिलाई पुत्रलाभ भयो। ‘छोरा ४ वर्ष भएपछि मैले आफ्नो इच्छाएको व्यवसाय ब्यूटी पार्लर सञ्चालन गरेँ,’ उनले भनिन्, ‘झापाको धाइजनमै वि.सं. २०६४ सालदेखि करिब ८ वर्ष मैले न्यू लुक ब्यूटी पार्लर सञ्चालन गरेपछि वि.सं. २०७१ सालमा काठमाडौं आएकी हुँ।’ 

यस कारण ब्यूटी पार्लर

माओवादी जनयुद्ध र जनआन्दोलनपछि नेपाली समाजले एकै पटक छलाङ मार्यो। राजनीतिक र सामाजिक परिवर्तन सौन्दर्यप्रतिको चेतसँगै नेपाली समाज ब्यूटी पार्लर व्यवसाय फस्टायो।

रोपाली पनि त्यही व्यवसायमा जोडिन पुगिन्। ‘सबैको रोजाईको विषय पनि भयो, राजनीतितर्फ पहिलैदेखि रूची रहेपनि कारणवश सम्भव भएन,’ उनले भनिन्, ‘मैले एसएलसी दिएपछि विराटनगरमा पार्लर सिकेँ, ६ महिना काठमाडौंमा सिकेर फर्किएपछि व्यावसायिक यात्रा प्रारम्भ भएको थियो।’

र, गन्तव्य काठमाडौं!

रुपालीलाई काठमाडौं आउने रुची थिएन। ‘तर, मेरो जेठानी दिदी राधा पौडेलले नै होस्टलको शिलशिलामा काठमाडौं बोलाउनु भयो,’ उनले भनिन्, ‘अनि दुई जना मिलेर काम शुरु भयो, अहिले पनि उहाँले काम गर्न प्रोत्साहन गर्नु हुन्छ।’

रुपालीको विचारमा लामो समयसम्म एउटै काम गरिराख्दा नयाँ काम गर्न मन लाग्दो रहेछ। त्यसैले काठमाडौं आएपछि महिलाहरुले आफैँ व्यवस्थापन गर्नसक्ने होस्टल व्यवसायतर्फ उनी आकर्षित भइन्। ‘२ वर्ष संयुक्त रुपमा काम गर्यौं,’ उनले भनिन्, ‘त्यसपछि एकल लगानीमा काम गरिरहेका छौं।’

काठमाडौं आएपछि के गरिन् रुपालीले? र, अहिले उनको व्यवसाय तथा अन्य विषयमा शुभदिनले गरेको प्रश्न र रुपालीको जवाफः

होस्टल कहाँ सञ्चालन गर्नु भएको छ? कति जना विद्यार्थीलाई सेवा दिइरहनु भएको छ?

–काठमाडौं आएपछि कोठा खोजेर बसेर पढ्नलाई निकै गाह्रो छ। त्यसैले होस्टल रोज्ने विद्यार्थीको संख्या धेरै हुन्छ। यो व्यावसायिक रुपमा पनि एकदमै राम्रो छ। कतिपय ठाउँमा नराम्रो घटनाहरू पनि छन्। तर, मेरो होस्टलमा बसेर जाने २ सय विद्यार्थीले विदेश जाने र अन्य काम गर्नका लागि सेवा लिएर जानु भयो। र, हामीले सेवा प्रदान गर्ने अवसर पायौँ। पहिला बानेश्वरमा थियो, मेरो होस्टल। तर, अहिले सेतोपुलमा माता पाथिभरा गर्ल्स होस्टल सञ्चालनमा छ। र, अर्को मदरल्याण्ड गर्ल्स होस्टल मैतिदेवीमा छ। अहिले म आफैँ बसेर चलाएको माता पाथिभरा गर्ल्स होस्टलमा ४२ जना विद्यार्थीहरू अटाउनु हुन्छ। अहिले त्यहाँ ४० जना विद्यार्थीले सहज रूपले सेवा लिइरहनु भएको छ।

होस्टलका अलवा अरू केहीमा संलग्न हुनुहुन्छ?

–होस्टल बाहेक अरू केहीमा संलग्न छैन। आफू पदीय जिम्मेवारीमा रहेको हुनाले यसैलाई निरन्तरता दिनुपर्ने हुन्छ। मेचीनगर लेडी जेसीजको पनि भाइस प्रेसिडेण्ट भइसकेकी थिएँ। तर, यो व्यवसायले गर्दा निरन्तरता दिन कठिन भयो। यद्यपि, सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहेकै छु।

होस्टेलका समस्या के–के छन्? राज्य र अन्य क्षेत्रबाट व्यहोर्नुपर्ने समस्याहरू के–के हुन्?

–होस्टल व्यवसायीहरूका समस्या धेरै छन्। हाम्रो नियम र विधिविधानमा नबसेका र एशोसिएशनमा आवद्ध नभई सञ्चालन गरिएका होस्टल सञ्चालकहरूले गर्दा कानूनी दायरामा बसेर होस्टल सञ्चालन गर्नेहरु मर्कामा परेका छन्। राज्यलाई बुझाउने कर, वडामा बुझाइने शुल्कहरूबाट राज्य र स्थानीय तह बञ्चित भएका छन्। प्रशासनले पनि होस्टल सञ्चालन गर्नका लागि कानूनी प्रक्रिया र त्यसको कार्यान्वयनका लागि सहयोग गरिहेको छ। साथै गैरकानूनी  रुपमा सञ्चालन गरिएका होस्टलमा हुन सक्ने गलत कार्यलाई नियन्त्रण गर्नुपर्छ।

एशोसिएशनले दिएको तालिमबाट कत्ति व्यवसायी लाभान्वित भएका छन्?

–होस्टल व्यवसायी औपचारिक–अनौपचारिक तालिम दिइन्छ। हाम्रो एशोसिएशनका विषयमा बुझ्न आउने, आबद्ध हुने व्यवसायीलाई होस्टल सञ्चालन गर्न अपनाउनु पर्ने नियम, कानूनी प्रावधान, सीमा, मर्यादा आदि विषयमा जानकारी गराउँछौं। र, उहाँहरु पनि ती दायराका आधारमा होस्टल सञ्चालन गर्नु हुन्छ। हाम्रो छोटो जानकारीले पनि उहाँहरु धेरै कुराबाट लाभान्वित हुनु भएको छ।

अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ, चुनौति के–के रहेछन् त?

उपाध्यक्ष हुँदा खासै केही समस्या भोग्नु परेन। अध्यक्ष डण्डीप्रसाद गौतमले सबै काम सम्हाल्नु भएकाले मलाई समस्या आएन। अहिले केही हदसम्म लैंगिक विभेदको अनुभूमि पनि मलाई भएको छ। तर, मैले सबै समस्याको रचनात्मक समाधान गर्दै एशोसिएशनलाई अघि बढाइरहेकी छु। मलाई श्रीमानको साथ र संगठनका पदाधिकारी र सदस्यहरुको साथ छ। त्यसैले मलाई उत्साहका साथ अघि बढ्न गाह्रो छैन।

अबको योजना के छ?

–होस्टल सञ्चालन गर्न सबैले पाउनुपर्छ। तर, सञ्चालन गर्न केही सीमाहरू छन्। हामीले ३० जनाभन्दा कम्ति भएमा दर्ता दिदैँनौं। गर्ल्सको अगाडि ब्वोइज, ब्वोइजको अगाडि गर्ल्स र गर्ल्स र ब्वोइज होस्टलसँगै खोल्न मिल्दैन। कतिपय स्थानमा यो कार्यान्वयन भई नसकेकाले पहिलो प्राथमिकतामा यही नै हो। हामीले उप–समिति गठन गरेका छौं। आ–आफ्नो क्षेत्रमा उपसमिति गठन भएपछि त्यहाँको समस्याहरू के–के छन् सहजै थाहा हुन्छ। र, समाधान पनि गर्छौं।

विद्यार्थी र अभिभावकहरूलाई के सन्देश दिन चाहनु हुन्छ?

–अहिले पनि होस्टलहरूप्रति अभिभावकको गलत धारणा पाइन्छ। तर, हामीले त्यस्तो धारणालाई हटाएर सबै बालबालिकालाई पारिवारीक वातावरण दिनुपर्छ। होस्टलमा राख्नुअघि आफैँले एक पटक हेर्न अनुरोध छ। मर्यादित र व्यवस्थित होस्टलमा आफ्ना छोराछोरी राखौं। होस्टल परिवारजस्तै हुनुपर्छ।


 

More form the Internet

loading...