Suvadin, Home
Nepal life 3.22M

युनिभर्सल पावरले आईपिओ निष्काशन गर्दै

आईपिओ आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरिशंकर, कालिञ्चोक, र विगु गाउँपालिकाका स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्।
सांकेतिक तस्वीर

काठमाडाैं, ६ पुस – युनिभर्सल पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि पुस १५ गतेदेखि आईपिओ जारी गर्ने भएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरको २१ करोड ३५ हजार रुपैयाँ बराबरको २१ लाख ३५० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो।

यस आईपिओ आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरिशंकर, कालिञ्चोक, र विगु गाउँपालिकाका स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। कम्पनीले आईपिओ निष्काशनका तथा बिक्री प्रबन्धकको जिम्मा सिद्धार्थ क्यापिटललाई दिएको छ।

स्थानीयहरुले हिमालयन बैंक गौरिशंकर शाखा, सिद्धार्थ बैंक, एनआईसी एशिया, महालक्ष्मी विकास बैंक, र सिन्धु विकास बैंकको चरिकोट शाखा कार्यालय तथा सिन्धु विकास बैंकको मुडे र सिंगटी शाखा कार्यालयबाट पनि आइपिओमा आवेदन गर्न सक्नेछन्।

आईपिओमा आवेदन गर्ने अन्तिम दिन पुस २९ गतेसम्म रहेकाे छ। कम्पनीलाई इक्रा रेटिङले ग्रेड ४ दिएको छ। यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १३ करोड ४१ लाख ८९ हजार रुपैयाँ र जारी पूँजी दुई अर्ब १० करोड तीन लाख ५० हजार रूपैयाँ छ। कम्पनीले जारी पूँजीको ४६ प्रतिशत अर्थात ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको आईपिओ जारी गर्नेछ।

जसमध्ये पहिलो चरणमा १० प्रतिशत आयोजना प्रभावित स्थानीयलाई २१ लाख ३५० कित्ता र दोस्रो चरणमा संस्थाका कर्मचारी, म्युचुअल फण्ड र सर्वसाधारणलाई गरि ७५ लाख ६१ हजार २६० कित्ता आईपिओ निष्काशन गरिने कम्पनीले जनाएको छ।

युनिभर्सल पावर कम्पनीको दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण भइरहेको छ जसमा ८८ प्रतिशत सीईडीबी हाइड्रो फण्ड लिमिटेडको शेयर स्वामित्व छ। आयोजनाको प्रतिमेगावाट १८ करोड ५५ लाख रुपैयाँका दरले २ अर्ब ४ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।


 

More form the Internet

loading...