Suvadin, Home

Cover Image

‘हिँडौँ काठमाडौं, चिनौँ काठमाडौं’ अभियान सुरु गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘हिँडौँ काठमाडौं, चिनौँ काठमाडौं’ अभियान सुरु गर्ने भएको छ । महानगरको सहरी योजना आयोगले अभियान सञ्चालनका लागि आवश्यक रणनीति बनाइरहेको छ । काठमाडौंको सम्पदा, संस्कृति, पुराना बाटा र ऐतिहासिक महत्वलाई चिनाउन अभियान सुरु गर्न लागेको हो । 

आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार विभिन्न रुट पहिचान गरी चालू आर्थिक वर्षभित्रै अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ ।

‘अभियानका माध्यमबाट सम्पदा, टोल, साना गल्ली, संस्कृति चिनाउने हाम्रो योजना हो । काठमाडौंमा दशकौँदेखि बसेकाहरूलाई पनि काठमाडौंको बारेमा थाहा नहुन सक्छ । त्यसैले नेपालीसँगै विदेशी पर्यटकहरूलाई अवलोकन गराउने उद्देश्य छ,’ बस्नेतले भने, ‘अहिले हामी अभियानका लागि आवश्यक तयारी गरिरहेका छौँ ।’ 

कुन–कुन रुटमा अभियान सञ्चालन गर्ने, भौतिक संरचना बनाउन के–के गर्ने भन्ने विषयमा आयोगले अध्ययन गरिरहेको छ । सफा र हिँड्न योग्य बाटो निर्माण गरिने आयोगले जनाएको छ ।

‘रुट पहिचान भइसकेपछि पूर्वाधार निर्माण र सुधारका काम गर्नेछौँ । त्यसका लागि अहिले सरोकारवालाहरूसँग छलफल गरिरहेका छौँ,’ बस्नेतले भने, ‘इन्द्रजात्राको रुट, सेतो मच्छिन्द्रनाथको रुट, उपाकु रुट (दिवंगत आत्माको शान्तिका लागि बालिने दीपको रुट)लगायतका रुटबारे अध्ययन भइरहेको छ । तर, कुन रुटमा अभियान सुरु गर्ने भन्नेचाहिँ टुंगो लाग्न बाँकी छ ।’ 

‘हिँडौँ काठमाडौं, चिनौँ काठमाडौं अभियानमा एउटा निश्चित रुट हुनेछ । साप्ताहिक रूपमा इभेन्ट राखिनेछ । त्यसका लागि गाइड तयार गरिन्छ । अभियानको वेबसाइट तयार हुनेछ । इभेन्टमा सहभागी हुन सोही वेबसाइटमार्फत बुक गर्न सकिन्छ । निश्चित रकम तिर्नुपर्ने हुन्छ ।

गाइडहरूले प्रत्येक ठाउँ अवलोकन गराएर, सम्पदा र संस्कृतिका पक्षमा जानकारी दिनेछन् । महानगरले सुरुवाती चरणमा केही इभेन्टमा स्पोन्सर गर्न सक्ने बस्नेतको भनाइ छ । ‘हामी अभियान सुरुवात गरिदिन्छौँ । केही इभेन्टमा महानगरले स्पोन्सर गरिदिन सक्छ,’ उनले भने, ‘त्यसपछि नियमित रूपमा इभेन्ट सञ्चालनका लागि कुनै संस्थालाई जिम्मेवारी दिने योजना छ ।’


 

More form the Internet

loading...