Suvadin, Home

Cover Image

पोषण नपुगेर होचा काठमाडौंका बालबालिका

काठमाडाै‌, साउन २ - नेपालका दुई वर्षभन्दा कम उमेरका केटाकेटीले ग्रहण गर्ने कुल क्यालोरीमध्ये एकचौथाइ हिस्सा पत्रु खानेकुरा (जंक फुड) बाट प्राप्त गरिरहेको अध्ययनले देखाएको छ।

एउटा जर्नलमा प्रकाशित रिपोर्टलाई आधार बनाएर बेलायती अखबार ‘गार्डियन’ ले बिहीबार यो समाचार प्रकाशित गरेको छ। यसले प्याकेटका 'जंक' खानेकुराको प्रभाव हाम्रो समाजमा कसरी व्यापक हुँदै गएको छ भन्ने चेतावनी पनि दिएको छ। यो अध्ययनले हाम्रा शिशु उमेरका केटाकेटीले खाने खानेकुरा कम पोषणयुक्त र बढी प्रचारमुखी हुँदै गएको देखाउँछ।

हाम्रा भान्छामै उपलब्ध भिटामिन, खनिज र अन्य पौष्टिक तत्वले भरिएका खानेकुरा छाडेर बिस्कुट, कुरकुरे, तयारी चाउचाउ र गुलियो मिसाइएका पेयहरू बढी मात्रामा खुवाउँदा केटाकेटीको हुर्काइमै असर पर्ने अध्ययनकर्ताहरूको ठहर छ।

पौष्टिकतासम्बन्धी जानकारी दिने जर्नल ‘न्यूट्रिसन’ मा यो अध्ययन प्रकाशित भएको थियो। पत्रु खानेकुराहरूले कसरी संसारभरि बालबालिकामा अस्वाभाविक मोटोपन बढाउनुका साथै शारीरिक विकासमा असर पारिरहेको विस्तृत विवरण उक्त रिपोर्टमा छापिएको थियो।

काठमाडौं उपत्यकाभित्र १२ देखि २३ महिनाका ७ सय ४५ केटाकेटीको परिवारमा गरिएको अध्ययनले यो तथ्यांक देखाएको हो। कम आय भएका मुलुकमा यस्ता खानेकुरा केटाकेटीलाई खुवाउँदा उनीहरूको पौष्टिकतामा के कस्तो प्रभाव पर्छ भन्ने जाँच्न काठमाडौंमा यो अध्ययन गरिएको थियो। यसका अनुसन्धाता विश्वभर फैलिएको स्वास्थ्य संगठन ‘हेलन केलर इन्टरनेसनल’सँग आबद्ध छन्। उनीहरूले अध्ययन गरेका सम्पूर्ण बालबालिकाले यस्ता पत्रु खाना खाने गरेको पाइएको थियो।

 

 


 

More form the Internet

loading...