Suvadin, Home

Cover Image

न त डाक्टर न औषधी, २०० भन्दा बढी अझै बिरामी
पहिचान हुन नसकेको रोगले हुम्लामा नौ जनाको मृत्‍यु 

सुर्खेत । ताँजाकोट गाउँपालिका–१ का लालसरा रिठालाई ज्वरो आउने, टाउँको दुख्ने, हातखुट्टा झमझमाउने समस्या देखियो। स्वास्थ्य समस्या देखिए पनि उनी अस्पताल पुगिनन् । ७० वर्षिय उनको केही दिनमा गत चैत २६ गते घरमै मृत्यु भयो। वैशाख १ गते ताँजाकोट–३ चौतारी बाडाका ५५ वर्षिय लक्ष्य सुनार र ताँजाकोट–१ काडागाउँका सुरजित खड्काको मृत्यु भयो।

लालसरा जस्तै समस्याले थला परेका ताँजाकोट–३ का बजेरी सुनारको वैशाख ३ गते मृत्यु भयो । उनी ७५ वर्षिय थिए। वैशाख ४ गते ताँजाकोट–३ कै अमकलि मल्लको पनि ६७ वर्षको उमेरमा मृत्यु भयो।

थला परेको पाँचौ दिनमा उनको मृत्यु भएको थियो। वैशाख ४ गतेदेखि सामान्य समस्या देखिएका ताँजाकोट–२ कोलीवाडाका रंगे वलीको पनि वैशाख ८ गते मृत्यु भयो। सोही ठाउँका १० महिनाका सञ्जिव थापाले पनि सोही समस्याका कारण ज्यान गुमाए।

शनिबार (बैशाख–१४ गते) ताँजाकोट–१ का बीरवल रिठालको ५५ वर्षको उमेरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। चैत्र २६ गते यता ताँजाकोट गाउँपालिकामा ९ जनाको मृत्यु भएको छ। उनीहरुमा ज्वरो आउने, टाउँको दुख्ने, हातखुट्टा झमझमाउने समस्या देखिने गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख राजेन्द्र स्यांखुले जानकारी दिए। 

२०० भन्दा बढी अझै बिरामी रहेको जनाइएको छ । बिरामी हुन थालेको १९  दिन बितिसक्दा पनि न त डाक्टर नै पुगेका छन् न त उनीहरुले औषधी नै पाएका छन् । 

ताजाकोट गाउँपालिका हुम्ला जिल्ला सदरमुकामदेखि झण्डै ४६ कोष टाढा पर्छ । सडक सञ्जालले नजोडिएको उक्त गाउँपालिका सदरमुकामदेखि चार दिन पैदल हिडेर पुगिन्छ। बाजुरा र हुम्लाको सिमानामा रहेको उक्त गाउँपालिकाबासी बाजुरको विमानस्थल कोल्टीबाट ओहोर–दोहोर गर्छन् । कोल्टी विमानस्थलबाट बाजुराको धुलाचौरसम्म गाडी सञ्चालनमा छ । धुलाचौरदेखि करिव ५ घण्टा पैदल हिडेपछि गाउँपालिकाको केन्द्र छप्रेला पुगिन्छ ।

भौगोलिक रुपमा निकै विकट भएकाले पनि अज्ञात रोगले संक्रमित सबैले उपचार पाउन सकेका छैनन् । गाउँपालिकाले औषधीसहित घरदैलोमा डाक्टर पठाउँदा पनि नियन्त्रणमा नभएपछि गाउँपालिका अध्यक्ष बाग्देल मल्लले औषधी र डाक्टर पठाइदिन प्रदेश र संघ सरकार गुहार मागेका छन् ।


 

More form the Internet

loading...