Suvadin, Home

१५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै

पन्ध्र जिल्लाका १५६ स्थानीय तहका ७८ लाख ४९ हजार नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
हात्तीपाइले रोग।

काठमाडौं,१५ फागुन-सरकारले आज १५ वटा जिल्लामा हात्तीपाइले रोग निवारणका लागि औषधि खुवाउँदैछ।पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी बुधबार १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागिएको हो।

पन्ध्र जिल्लाका १५६ स्थानीय तहका ७८ लाख ४९ हजार नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

हात्तीपाइले रोगबाट बच्न प्रयोग हुने औषधि पूर्णरूपमा सुरक्षित भएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। तर, हात्तीपाइले रोगको औषधि खाली पेटमा सेवन गर्न हुँदैन।

हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिमा औषधि सेवन गरेपछि सामान्य टाउको दुख्ने, वाकवाकी लाग्नेलगायत समस्या भएपनि त्यसले खासै ठूलो समस्या नगर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन्।

दुई वर्ष उमेर नपुगेका बालालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामी, क्यान्सर, मुटु, कलोजोको, मृगौला र फोक्सोको दीर्घ रोग, छारे रोग भएका विरामीले भने यो औषधि खानु हुँदैन।

नेपाल अझै पनि हात्तीपाइले रोगको जोखिममा छ। नेपालका ४३ अस्पतालमा ४ हजार १७० जना हात्तीपाइलेका बिरामीको ‘हाइड्रोशील सर्जरी’ गरिएको छ।

नेपालमा हाल हात्तीपाइले रोगका ३० हजार बिरामी रहेको महाशाखाले जनाएको छ।सरकारले हरेक वर्ष हात्तीपाइले रोग निवारण गर्न औषधि सेवन अभियानकै रूपमा सञ्चालन गर्दै आएको छ।

सन् २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य छ। तर, हात्ती पाइलेको संक्रमण हेर्दा निर्धारित समयमा लक्ष्यमा पुग्ने अबस्था नदेखिएको महाशाखाको भनाइ छ।


 

More form the Internet

loading...